कसले गर्ने पशुपतिको कल्याण ?

कसले गर्ने पशुपतिको कल्याण ?

अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पहिचान दिलाउने पशुपतिनाथ मन्दिर आफैं पहिचानको खोजीमा छ । 

जन्मदेखि मृत्युसम्मका संस्कार हुने भएकाले यसलाई जीवन्त सम्पदा भनिएको हो । मानिसको मन बहलाउने ठाउँका रूपमा पनि पशुपति परिचित छ । तर, करोडौंको मनमा बसेको पशुपति पछिल्लो समय लथालिंग छ । मन्दिरको सरसफाइ, सवारी व्यवस्थापन, मगन्तेको व्यवस्थापन, भत्किएका संरचनाको पुनर्निर्माणमा कोषले चासो देखाएको छैन । जसले गर्दा पशुपतिलाई नै कल्याणको खाँचो परेको छ । 

जलहरी निर्माणमा भ्रष्टाचार, दानपेटिका गायव, भक्तजनले श्रद्धापूर्वक चढाएको भेटी चोरीलगायत घटना पशुपतिमा बारम्बार दोहोरिँदै छ । भेटी चोरेको आरोपमा प्रहरीले कोषका सात जना र इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका एक कर्मचारीलाई पक्राउ गरेको थियो । 

तीमध्ये तीन जना छुटेका छन् । हिरासतमा रहेकाहरूले उठेको भेटीबाट दैनिक १० देखि १५ हजार रूपैयाँ निकाल्ने गरेको प्रहरीसमक्ष बताएका छन् । साथै, उनीहरूले कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नाम पनि लिएका छन् । पशुपतिमा दैनिक तीनदेखि साढे तीन लाख भेटी उठ्ने गर्छ । 

मन्दिर अस्तव्यस्त बसपार्कजस्तै देखिन्छ । मन्दिर परिसरको अधिकांश सडक भत्किएका छन् । दर्शनार्थी नाक छोपेर हिँड्नुपर्ने बाध्यता छ । कुकुरले जताततै दिसा गरेको छ । भगवान् शिवलाई चढाउने खाना पकाउने ठाउँ पनि निकै दुर्गन्धित छ । संरचना यत्रतत्र ढलेको अवस्थामा देखिन्छ । पशुपति दर्शन गर्न पुगेकी रिता थापाले भनिन्, ‘मुलुकलाई विश्वमै परिचय दिलाउने पशुपतिनाथ मन्दिरको अवस्था दयालाग्दो छ । भवन जीर्ण छन् । रंगरोगन गरिएको छैन । हिन्दू धर्मावलम्बीले पूजा गर्ने ढुंगाका संरचना ढलिरहेका छन् । जताततै फोहोर छ ।’ 

अर्का दर्शनार्थी दिपेश अधिकारीले पनि त्यस्तै गुनासो पोखे । ‘उठेको भेटी कहाँ जान्छ ? म आश्चर्यचकित छु । मन्दिर सुधारका लागि कतै काम भएजस्तो पनि देखिँदैन,’ उनले भने । अधिकांश दर्शनार्थीले मन्दिरभित्र नेपाली र भारतीयबीच विभेद हुने गरेको आरोप लगाएका छन् । 

भारतीयको गाडी भित्रसम्म लैजान दिने र नेपालीको गाडी गेटमा रोक्न लगाउने ? उनीहरूको आक्रोश छ । ज्येष्ठ नागरिक भए पनि सुरक्षाकर्मीले नेपाली दर्शनार्थीको गाडी भित्र लैजान नदिने जनगुनासो आएको छ । 

व्यापारी पोस्दै कोष 

पशुपतिनाथ मन्दिरको दक्षिण भागमा (विद्युतीय शवदाह गृहसँगै) एउटा भवन छ । उक्त भवनको नाम ‘माधवराज सुमार्गी स्मृति भवन’ भए पनि बोलीचालीको भाषामा ‘सुमार्गी भवन’ भन्ने गरिएको छ । थाहा मिडियाका सञ्चालक एवं व्यवसायी अजेयराज सुमार्गीले उक्त भवन निर्माण गरिदिएका हुन् । 

व्यावसायिक प्रयोजनका लागि सञ्चालनमा ल्याइएको सो भवनमा काजकर्म गर्न हलको खोजीमा रहेकाहरूबाट मनोमानी शुल्क माग्ने गरिएको छ । केही दिनअघि स्वर्गीय आमाको काजकर्म गर्न पशुपति पुगेकी निता घिमिरेले हलबारे कोषसँग सोधिन् । कोषले उनलाई सुमार्गी भवनमा गएर बुझ्नु भनेपछि त्यता गइन् । त्यहाँ एक प्लेट खानाकै आठ सय रूपैयाँ भनेपछि आश्चर्यमा परिन् । 

‘यत्रो मन्दिरमा कोष आफैंले एउटा हलको व्यवस्थापन गर्नसमेत नसक्नु विडम्बना हो । म आमाको काजकर्म गर्न गएकी थिएँ । केही पाहुना पनि बोलाउनुप¥यो भनेर हलबारे सोधें । कोषले सुमार्गी भवन जानु भनेपछि त्यता गएर सोध्दा त प्लेटकै आठ सय भन्छ । अलिकति खिर, दुईटा पुरी र तरकारी खाएको कसले आठ सय तिर्न सक्छ ? यो त सीधै ब्रह्मलुट भयो । कोषले पैसा लिएर हलको व्यवस्थापन गर्नुपर्ने हो । आवश्यक पर्नेले बुक गरेर आफैं पकाएर खान्थे’, उनले भनिन् । 

खुला आकाशमुनि विपन्नलाई खाना 

पशुपतिको उत्तरी गेटबाट एक सय मीटर भित्र छिर्नेबित्तिकै विपन्न, असहाय, मजदुरलाई खाना खुवाइरहेको देखिन्छ । जय महाकांल युवा समूहले अघिल्लो वर्षको जेठदेखि पशुपतिमा ‘भोकालाई भोजन र प्यासीलाई पानी’ अभियानमार्फत निःशुल्क खाना खुवाउँदै आएको छ । समूहले बिहान र बेलुका निःशुल्क खाना खुवाउँछ । 

समूहका महासचिव मनीष बिकका अनुसार पशुपति र नयाँ बसपार्कमा खाना खुवाउने गरिएको छ । दैनिक सयदेखि १ सय २० जना खाना खान आउने गर्छन् । समूहमा ६०–७० जना सक्रिय रूपमा लागेको उनको भनाइ छ । कोषले खाना खुवाउनका लागि ठाउँको व्यवस्थापन मात्र गरिदिएको बिकले बताए । 

उनी भन्छन्, ‘कोषले हामीलाई ठाउँ मात्र दिएको छ । यहाँ आउने कतिपय भक्तजनले ५० रूपैयाँ दिनुहुन्छ, कतिपयले सय । दातृहरूको सहयोग र सदस्यहरूबाट उठाएको रकमले खाना खुवाइरहेका छौँ । बिहान एक घण्टा र बेलुका एक घण्टा खुवाउँछौ । सो समयभित्र आउनेले खान पाउनुहुन्छ ।’ समूहले खुला आकाशमुनि खाना खुवाउँदै आएको छ । आर्थिक अभावमा कोषले छत हाल्न नसकेको हो । ‘कोषले छत हाल्दा हुन्छ भनेको छ । तर, हामीसँग पैसा छैन । पानी प¥यो भने यहाँ एउटा हल छ, त्यहीँ लगेर खुवाउँछौ’, उनले भने ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू