यस्तो देख्ने को बस्छ देशमा ?

यस्तो देख्ने को बस्छ देशमा ?

आफ्नो अधिकार उपभोग गर्दा अर्काको हक मिच्नु हुँदैन भन्ने तथ्यलाई काठमाडौंका मेयर बालेन साहले भुलेका छन् । उनी सबै शक्ति र काम कुरा आफैंमा केन्द्रित गर्दै समानान्तर सत्ताको अभ्यासमा उत्रिएका छन् । विश्लेषण गर्ने हो भने बालेन साह एक्ला जर्नेल हुन् । काठमाडौं महानगरभित्र उपमेयर र ३२ वडामा कतै उनका एक जना सदस्य र वडाध्यक्ष छैनन् ।

तर, सबैसँग सल्लाह नगरी समस्या पन्छाउने नाममा होस् वा आफ्नो गलत कामलाई ढाकछोप गर्ने काममा गल्तीमाथि गल्तीको चाङ थप्न लागेका छन् । उदाहरणको लागि सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा सर्वसाधारणलाई प्रवेश गर्नका लागि पास वा अनुमतिको अनिवार्यता हुन्छ । नाम टिपाएपछि मात्रै भित्र प्रवेश पाइन्छ । तर, महानगरको फोहोर बोकेको टिपरले कसरी सहजै सिंहदरबारवरपर प्रवेश पाउँछ र सरकारी कार्यालयको ढोकैमा धुलो खसालेर वातावरण दुर्गन्धित बनाउँदै फर्किन्छ ? त्यहाँ फोहोर खसाल्न खर्च लाग्यो र महानगरले थुपारेको त्यो फोहोर उठाएर अन्त फाल्न पनि फेरि राज्यको खर्च लाग्यो ।

महँगाई बढेको यो बेला यस्तो क्रियाकलापले पैसा,  इन्धन र जनशक्तिको दुरूपयोग गर्छ । यस्तो अराजकतामाथि अराजकता थप्ने काम महानगरका मेयरले किन गरिरहेका छन् ? यस्तो क्रियाकलापलाई प्रोत्साहित गर्ने काम किन हुँदै छ ? कोबाट,  के कुराबाट प्रेरित भई नकारात्मक सोचको विकासलाई प्रश्रय दिनुका साथै व्यवहारमा लागू गर्न थालिएको छ ? यो त जुन आँखाले देख्यो,  जुन हातले चोर्‍यो, त्यही आँखा र त्यही हात काट्ने जंगली व्यवहार वा कानुन भएन र ? उपप्रमुख, वडाध्यक्ष र परिषद्का सदस्य किन केही बोल्न सकिरहेका छैनन् ? अहिले सडक भत्काएर पेटी बनाउने,  सडक खनेर आँगन पुर्ने जस्तो काम हुँदै छ ।

विध्वंश र विनास नै विकास हो भन्ने मान्यतालाई हुर्काउने प्रयास किन भइरहेको छ ? फेसबुकमा स्टाटस लेखेर,  सामाजिक सञ्जाल रंग्याएर अभिलेख बन्दैन, कामहरू लिपिबद्ध हुँदैनन् । यस्तो अराजकतालाई असल नागरिकले कहिलेसम्म क्षमा दिन्छन् ? भीडतन्त्रको आडमा यस्तो अराजकता कतिञ्जेल मच्चिन्छ ? भीडतन्त्रको अघि राज्य कुन दिनसम्म लम्पसार पर्छ ? गत साल काठमाडौं लैनचौरस्थित भारतीय दूतावासको छेउ बेवारिसेजस्तै फालिएको एउटा थोत्रो, पुरानो झोलाले गर्दा जनजीवन पूरै त्रसित हुन पुगेको थियो ।

सडक पूरै जाम भयो । त्यस्तै रमिता अहिले काठमाडौं शहरमा जताततै देख्न सकिन्छ । युट्युबरहरूले काम पाएका छन् । अनि अवज्ञा, अपहेलना, तिस्कार र घृणाले बजार गर्माएको छ । परिवर्तनका लागि सकारात्मक सोचलाई थाङ्ने सोचमा बदल्दै प्रतिशोध र आत्मतुष्टिलाई वाहवाही बनाउने प्रयास जारी छ । कसैलाई कुनै कुरामा चित्त बुझेन भने अनशन बस्ने, धर्ना कस्ने, बाटो छेक्ने, मुखमा जे आयो त्यही गाली बक्दै हिँड्ने काम सामान्य बन्दै गएका छन् भने यस्ता गतिविधिले फेसनकै रूप लिएको छ । यस्ता गतिविधि गरेपछि राज्यले क्षतिपूर्ति दिन्छ, राहत पाइन्छ,  आपूmले चाहेको माग पूरा हुन्छन् भन्ने भाष्य खडा गर्न खोजिएको छ ।

कानुन कमजोर भएर हो कि ? नेतृत्वमा इच्छाशक्तिको कमी भएर हो ? दण्डहीनताविरुद्धको ज्ञान कमजोर भएर हो कि वा दण्डहीनतालाई प्रश्रय दिने भीडतन्त्र प्यारो लागेर हो ? अथवा दलीय व्यवस्थामा दलभन्दा संख्या मजबुत हुने भएकाले हो ? यसलाई कसरी मापन गर्ने, रोकथाम गर्ने उपाय के हो ? यहाँ सक्नेले सिंहदरबार जलाइदिन्छु भन्दा भएको छ, फोहोर जथाभावी थुपार्दा पनि भएको छ,  मनपरी सडक भत्काउँदा पनि भएकै छ ।

जस्तो न्युरोडको हकमा रोड भत्काउने काम भयो, सडक विभागले गएर पुरपार गर्दा भिडन्तको अवस्था जन्मन पुग्यो र जगहँसाइको काम भयो । यो प्रकरणमा पनि समानान्तर सत्ताको अभ्यास गर्न खोजियो । यो घटना धमिलो पानीमा माछा मार्ने र अराजकता अनि नकारात्मक पक्षलाई बढावा दिई भ्युज बटुल्नेहरूका लागि सुनौलो अवसर बन्यो । कसैले दैलोमा फोहोर ग¥यो भने उसको घरमा पनि फोहोर गरिदिएपछि टण्टै साफ हुने, हिसाबकिताब बराबर भएको ठान्ने र मान्नेहरूको जमात प्रोत्साहित भएको देखिन्छ । यस्तो प्रवृत्ति बढ्दै जाने हो भने अराजकताले सीमा नाघ्न सक्छ । यसले मुलुक र नागरिक हितमा के–कस्तो प्रभाव पार्छ ? सबैले गम्भीर हुन आवश्यक छ । यस्तो देख्ने युवा किन देशमा बस्छ ? सोच्ने कसले, सम्झाउने कसले ?

– रुक्मिना कुँवर

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू