अचम्म अचम्मका गोला

अचम्म अचम्मका गोला

डाक्टरले बिरामी जाँचेन, पाइलटले जहाज उडाएन भनेजस्तै न्यायाधीश मुद्दा छाडेर हिँड्यो भने के हुन्छ ? शासकीय स्वेच्छाचारिता र न्याय सम्पादनसँग गहिरो सम्बन्ध राख्ने त्यस्ता थुप्रै मुद्दा अहिलेसम्म ‘कुहिराको काग’ बनिरहेका छन् । 

अहिले उपेन्द्र यादव पक्षले दायर गरेको जसपा विभाजनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको ३ हप्ताभन्दा बढी भइसक्यो । मुद्दा मुखमा आयो कि, कि न्यायाधीशहरू हिँड्ने कि त हेर्न नभ्याइने । त्यसरी नै, जसरी अनेक बहानामा केपी ओली प्रधानमन्त्री हुँदा संवैधानिक परिषद्को विद्यमान संरचनालाई अध्यादेशबाट यताउता पार्दै विभिन्न संवैधानिक अंगमा बिनासंसदीय सुनुवाइ नियुक्त भएका ५२ पदाधिकारीको मुद्दा चार वर्षदेखि लन्ठिरहेको छ । जब उक्त मुद्दाको पेशी चढ्छ, तब प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको एकाएक ‘कार्यक्रम’ पर्छ र बबरमहलस्थित बसेरा बुटिक होटल वा जिल्लातिर निरीक्षण भन्दै सुस्केरा हाल्न पुग्छन् । किनभने, प्रधानन्यायाधीश नभई संवैधानिक इजलास बस्दैन । पछिल्लो पेशी फागुन २३ मा चढ्दा उनी जनकपुर पुगेका थिए । 

भनिन्छ, सीधा कुरा अनलाइनका कर्मचारीले बनाएको अडियोमा न्यायाधीशलाई घोचपेच गरेकोबारे सुनुवाइ गर्न न्यायाधीशहरू नै डराइरहेका छन् । कतिपय श्रीमान् प्रधानन्यायाधीश हुने बाटो छेकिन्छ कि भनेर तर्केको देखिन्छ । नत्र, अदालतमाथि त्यति ठूलो आरोप लगाउँदा पनि किन उनीहरू भागिरहन्छन् भन्ने जिज्ञाशा छ । 

गण्डकी प्रदेशको मुद्दा पेशीमा चढ्ने दिन सर्वोच्चका रजिष्ट्रार विमल पौडेलले गोला मिलाएरै एकल इजलाश पर्दा अब्दुल अजिज मुसलमान र संयुक्त पर्ने दिन कुमार रेग्मीसहित सुनिल पोखरेलको इजलाशमा पारिदिए । यी तीन जना नै प्रजातान्त्रिक पृष्ठभूमिका हुन् । मुसलमान त कांग्रेसको तर्फबाट बारको उपाध्यक्षमा उम्मेदवार थिए । कोशीमा हिक्मत कार्कीको मुद्दा रुममेट हरि फुयाँलको बेञ्चमा परेजस्तै हो त्यो । 

पहिला एमालेनिकट सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले गण्डकी प्रदेशसभाको ६० सदस्यीय संसदमा ३० लाई बहुमत मान्ने भनिदियो । जबकी, जहिल्यै संसदको संख्या बिजोर हुन्छ । उक्त व्याख्याका आधारमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भए । त्यसपछि रिट निवेदन लिएर कांग्रेसका सुरेन्द्र पाण्डे सर्वोच्च पुगे । गोला तान्दा कांग्रेसको मुद्दा पूर्व कांग्रेसकै बेञ्चमा गयो ! शुरुमै अब्दुल अजिज र पछि कुमार तथा सुनीलको बेञ्चले परमादेश नै जारी गरिदियो । जबकि, एउटा संयुक्त बेञ्चले गरेको आदेशलाई अर्को संयुक्त बेञ्चले फरक व्याख्या गर्नुपर्ने भयो भने संवैधानिक वा पूर्ण इजलाशमा पठाउने अभ्यास छ । 

यसैबीच, गत साताको एउटा घटनाका कारण अझै पनि राजनीतिले कुन बाटो लिने हो भन्ने निश्चित छैन । विशेषतः एमाले र माओवादी केन्द्रले मिलेजस्तो गर्ने, मिलेको देखाउनुपर्ने ठाउँमा पुगेपछि मिल्न नखोजेजस्तो गरिदिने भएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हैरान हुनुभयो । त्यसपछि उहाँसहित उपेन्द्र यादव र महन्थ ठाकुर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुग्नुभयो । यो घटनाले भित्रभित्रै ‘नयाँ चिज’ बन्न लाग्यो भनेर प्रधानमन्त्री प्रचण्ड झस्किने नै हुनुभयो । माधवले त्यसअघि नै प्रचण्डसामु असन्तुष्टि पोखिसक्नु भएको थियो । सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने, तर सरकार गठन गर्नका निम्ति आफ्ना मन्त्री नपठाउने हुँदा माधव असन्तुष्ट हुनुहुन्छ । त्यसपछि मधेसमा जसपाको सरकार नै राख्ने कि सिके राउत नेतृत्वको जनमत पार्टीलाई मुख्यमन्त्री दिने भन्ने सल्लाह थियो । सुदूरपश्चिममा त एमाले र माओवादीले असहयोग नै गर्न खोजेको भनेर माधवले बुझ्नुभयो । दुबै कुरामा ओली र प्रचण्डको मुख खुलेन । त्यसपछि माधव उपेन्द्र र महन्थसहित देउवाकहाँ पुग्नुभएको हो । उहाँले ‘म आफ्नै सुर गरौं त’ भनेर पहिल्यै प्रचण्डलाई भन्नु पनि भयो । देउवासँग के–के कुरा भए भन्नेबारे माधवले अहिलेसम्म कसैलाई केही बताउनुभएको छैन ।

उता, उपेन्द्र यादवलाई पेल्दा पेल्दा भुत्ते बनाइने भएको छ । अमेरिका गएको मौका छोपेर ओलीले पार्टी फुटाइदिनुभयो । यसमा ओली गैंडाजस्तो हुनुभयो । गैंडाको छेउमा पुगेपछि त्यसले चाटिदिन्छ । गैंडाको चटाई नै कस्तो हुन्छ भने, छालासमेत ताछिने । पार्टी फुटाएर अहिले उपेन्द्रको छाला ताछ्ने काम भइसकेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू