कर्णेललाई अमेरिकाबाट झिकाएर कारबाही

सेनापति चयनमा झन् ठूलो समस्या

कर्णेललाई अमेरिकाबाट झिकाएर कारबाही

मुखैमा आएको प्रधानसेनापति पद फुत्किएर गयो, जाली जन्ममितिको कारणले । यसअघि ताराध्वज पाँडेको हकमा भएको उक्त घटना अब अशोक सिग्देलको हकमा पनि त्यसैगरी बल्झिँदै छ ।

अनि, ३१ बेसिकका फुल कर्णेल दिरेन्द्रकुमार मल्ललाई युएन हेडक्वार्टर अमेरिकाबाट बीचैमा फर्काइएको छ । उनीसँगै अर्का प्रमुख सेनानी विशेष पौडेल पनि सैनिक प्रहरीको हिरासतमा छन् । मामिला फरक छ । दिरेन्द्रको कैफियत हो नागरिकता † विशेषको दोष महिला काण्ड ! ब्रिगेडियर जर्नेलमा बढुवाका निम्ति वैशाख ७ गते बालकृष्ण कार्कीसँगै सात दिने सूचना जारी गरिएका दिरेन्द्रको कागजात जाँच गर्दा कैफियत देखिएपछि उनी समातिएका हुन् । गोरखबहादुर र सिद्धिबक्स गण सम्बद्ध तथा वैदेशिक जासुसी मामिला हेर्ने जिम्मेवारीका कर्णेल हुन् दिरेन्द्र । संयुक्त राष्ट्रसंघमा खटिएका उनी रक्षा मन्त्रालयबाट कैफियत जाँच्नु भनी निर्देशन आएपछि फन्दामा परेका हुन् ।

यी दुवै जनामाथि छानबिन भइरहेको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले बताए । ‘दुवै जना अहिले सैनिक प्रहरी गणमा हुनुहुन्छ । छानबिन भइरहेको छ । दिरेन्द्र कर्सा“ब मिसन सकाएर नभई छोडेर आउनुभएको हो । उहाँमाथि आरोप लागेपछि हामीले छानबिनका लागि बोलाएका हौं’, उनले भने ।

यसबीच, ताराध्वज पाण्डेको नियतिले अबको प्रधानसेनापति भनी चर्चामा आइरहेका अशोक सिग्देललाई पनि छोएको छ । अशोकले संस्थाको मुली हुने मुखैमा यही जेठ ३ गते रूपन्देही, सिद्धार्थनगर नपा–७ ठेगाना लेखाएर कपिलवस्तु जिल्ला प्रशासनबाट नागरिकताको प्रतिलिपि अभिलेख प्रमाणित गराएबाट पनि थप समस्या निम्तिएको छ । 

शाहीकालमा गृहमन्त्रीसम्म भएका पूर्वसचिव दानबहादुर शाही २०४० सालमा रूपन्देहीको प्रजिअ हुँदा अशोकले पाएको नागरिकतामा उनको उमेर सत्र वर्ष उल्लेख छ । त्यसअनुसार, जन्ममिति २०२१ साल हुनुपर्छ । विद्यालय र उच्च शिक्षा अध्ययनका क्रममा जारी भएका शैक्षिक प्रमाणपत्रमा पनि जन्म मिति २०२१ नै उल्लेख छ । पछि त्यसलाई काटेर २०२३ बनाइएको छ । कुनै कारणले नागरिकतामा जन्म मिति फरक पर्न गएमा संशोधनको विधि छ । त्यसनिम्ति ६ महिनाभित्रको मिति फरक भए सर्जमिन मुचुल्का र चिकित्सकको रिपोर्ट चाहिन्छ । तर, उनले जन्ममिति मिलाउने क्रममा त्यो प्रक्रिया पूरा गरेका छैनन् । त्रिविको अभिलेखमा पनि ०२१ साल नै देखिन्छ । ०४० सालमा रूपन्देहीबाट नागरिकता लिँदाको अभिलेख अहिले भेटिँदैन, त्यो ढड्डा नै गायव छ । उनी सशस्त्र द्वन्द्वकालीन समय, अर्थात् ०५८ सालताका जाजरकोटमा थिए । त्यहीँ हुँदा नागरिकताको प्रतिलिपी बनाए । जाजरकोटमा प्रतिलिपी बनाउँदा स्थायी वतन कपिलवस्तु लेखिएको छ, पहिला रूपन्देही थियो । 

एउटा व्यक्तिको कति वटा जन्ममिति हुन्छ ? स्कुलमा २०२१/१२/१९, क्याम्पसमा ०२१/१२/१९ फेरि ढड्डा सच्याएर ०३३/१०/१९यदि अशोकको जन्ममिति २०२१ साल नै हो भने उनले सम्हालिरहेको अहिलेको तीन तारे जर्नेलको पदवी नै अवैध हुन्छ । ०२३ साउन २९ को जन्म मितिका आधारमा उनी गत वर्ष २०८० कै साउन २९ मा ५७ वर्ष पुगेका हुन् । गत वर्ष ५७ वर्षे लागेर भदौमा सरोजप्रताप राणा र पुसमा सीताराम खड्का घर गैसके । यी दुबै अशोक सिग्देलका व्याची हुन् । यसबीच नागरिकता केरमेट गर्ने कतिपय घर जाँदा सोही प्रकृतिका अशोक प्रधानसेनापति हुने सपना बोकेर जागिरमै रहे । यो त्यस्तै घटना हो, जसरी ताराध्वज पाँडेले २०२१ लाई केरमेट गरेर २०२३ साल बनाएका थिए ।

ताराध्वजकै शैलीमा अशोकले ०७६ साउन ३० मा त्रिविको रजिष्ट्रेशनमा केरमेट गरेका छन् । सँगै एसएलसी र आइएमा पनि जन्ममिति केरमेट भएको छ । अहिले उनको बसाइ काठमाडौं, बूढानीलकण्ठ– ३ मा छ । तर, मतदाता नामावलीमा नाम छैन । सवारी चालक अनुमति पत्रमा अर्कै विवरण छ । उनको शैक्षिक प्रमाणपत्रको छानबिन गर्न पूर्णचन्द्र थापाको पालामा अहिलेका प्रधानसेनापति प्रभुराम शर्मा र निर्मल थापालाई खटाएका थिए । उनीहरूले एसएलसीमा ठीक, आइएमा फरक भएको रिपोर्ट दिए । अहिले घर जाने बेला हुन लाग्दा प्रभुराम आफूपछिको वरियताका जर्नेलबारे चुप लागेर बस्नुमा यही कारण हुनुपर्ने चर्चा जंगी अड्डामा छ । 

यत्रो काण्ड हुँदा पनि अशोकचाहिँ रक्षा मन्त्रालयसँग समन्वय गर्ने मेजर सुदिप अर्यालको भर परेका छन् । उनी जंगी अड्डामा समय समयमा झुल्किरहन्छन् । यहीबेला उता अशोकलाई काण्ड लगाएर निर्मल थापालाई माथि ल्याउने खेल पनि चलिरहेको बताइन्छ । अशोकको यो अवस्थाबारे राष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि रक्षा मन्त्रीसम्म कुरा पुगिसकेको छ । 

अर्कातिर, आफ्नो गणभित्र महिला सैनिकसँग अनैतिक शारीरिक व्यवहार गरेको आरोपमा लेफ्टिनेन्ट कर्णेल विशेष पौडेलमाथि छानवीन भइरहेको छ । उनले सरसफाईतर्फकी महिलासँग त्यस्तो व्यवहार गरेको चर्चा छ । यससँगै ०५२ बेसिकका क्याप्टेन कोइराला भर्ना छनौटमा आर्थिक चलखेल गरेका कारण सैनिक प्रहरीको हिरासतमा छन् ।

अर्कातिर, सेवा, सुविधा खाने, पाउने ठाउँमा स्टाफ कलेज उत्तीर्ण भएकालाई खटाइने, तर पल्टन धान्ने र सेनाका खासखास काम धान्ने ठाउँमा स्टाफ कलेज उत्तीर्ण नगरेकालाई जिम्मा दिने विभेदपूर्ण व्यवहारको विरोध भइरहेको छ । पहिला तालिम राम्रो गरेका आधारमा स्टाफ कलेज नगरेकालाई पनि गण र गुल्मपति दिने गरिन्थ्यो । 
 

टिप्पणीहरू