भारतीय कम्युनिष्टहरू फेरि सल्बलाउँदै

भारतीय कम्युनिष्टहरू फेरि सल्बलाउँदै

एकताका सभामुख, कृषि र गृहमन्त्रीसहित ६१ सांसदका धनी कम्युनिष्टहरूले भारतमा हालै सम्पन्न लोकसभाको चुनावी परिणाममा थोरै प्रगति गरेको देखिए पनि स्थिति अझै नाजुक छ । कुनै समय लोकसभामा माक्र्सवादी कम्युनिष्ट पार्टी (माकपा) एक्लैको ४३ गरी सबै कम्युनिष्टको कूल ६१ सिट थियो । उनीहरू केन्द्रीय गठबन्धन सरकारको मुख्य घटक बन्न पुगेका थिए तर आज यो संख्या खुम्चिएको छ । अघिल्लो लोकसभामा ३ सिट जितेको माकपाले कुनै समय पश्चिम बंगाल, केरला र त्रिपुरामा सरकारै चलाएको थियो । पश्चिम बंगाल अनवरत ३४ वर्ष र केरलामा पनि दशकौँ सरकार चलाएको दलको आजको अवस्था भने लज्जास्पद देखिन्छ ।

भारतीय तल्लो सदन लोकसभा ५ सय ४३ सदस्यीय छ । १८ औं लोकसभाका लागि गत महिनामा सम्पन्न चुनावमा माकपाले ४, भाकपाले २ र भाकपा (माले– लिबरेशन) ले गरी कूल ८ सिट मात्र जितेका छन् । सुदूर दक्षिणी राज्य केरलामा अहिले पनि माकपाकै सरकार छ । त्यहाँबाट लोकसभामा २० जनाले प्रतिनिधित्व गर्न पाउँछन् । केरला त्यस्तो राज्य हो, जहाँ सबैभन्दा पहिला माकपाले सरकार बनाएको थियो । त्यहाँ सर्वप्रथम सन् १९५७ मा विधानसभाको १२४ सिटका लागि भएको निर्वाचनमा भारतीय कम्युनिष्ट पार्टी एक्लैले ६० स्थान जितेर नेता  ई. एम. एस. नम्बुदरिपादको नेतृत्वमा सरकार बनाएको थियो । भारतमा यो नै पहिलो गैरकंग्रेस सरकार हो । त्यति मात्र होइन, उक्त सरकार संसारमै निर्वाचित दोश्रो कम्युनिष्ट सरकार हो, यसअघि युरोपको सानो मुलुक सान मारिनोमा सन् १९४५ मा कम्युनिष्ट पार्टीको निर्वाचित सरकार गठन भएको थियो । १९५७ को निर्वाचनमा भारतीय राष्ट्रिय कंग्रेसले मात्र ४३ स्थानमा जित्दा भाकपाले ५ जना स्वतन्त्र सांसदलाई समेटेर सरकार बनाएको थियो ।

त्यस्तै, सन् १९६७ को चुनाव पनि भाकपाले नै जित्यो र सरकार बनायो । त्यो बेला १३३ स्थानको लागि निर्वाचन गराइएको थियो, माक्र्सवादी कम्युनिष्ट पार्टी (माकपा) एक्लै ५९ र भाकपा २२ सहितको गठबन्धनले ९३ सिट जितेर नम्बुदरिपादकै नेतृत्वमा सरकार बन्यो । सभामुख पनि माकपाकै नेता आर. शंकरानारायण थाम्पी बने । चुनाव सन् १९६५ मा पनि गराइएको थियो तर बहुमत नहुँदा कसैको सरकार नै गठन भएन । उक्त निर्वाचनमा माकपाले ४० स्थान जितेको थियो । त्यस्तै सन् १९७० मा भाकपा नेतृत्वको गठबन्धनले ७९ र माकपाले २९ स्थानमा जित हासिल गरेपछि पुनः कम्युनिष्ट पार्टीकै सरकार बन्यो ।

सन् १९७७ मा भने भाकपा २३ र माकपा १७ सिटमा सिमित हुन पुगे । सन् १९८० को निर्वाचनमा माकपा नेतृत्वको गठबन्धनले ९३ सिट जितेर पुनः माकपाकै नेतृत्वको सरकार बन्यो । त्यसपछि पनि १९८७, १९९६, २००६, २०१६ र पछिल्लो २०२१ को निर्वाचनपछि माकपाकै सरकार बन्यो । यस्तो कम्युनिष्ट पार्टीको पकड भएको केरलामा यसपालि माकपाले लोकसभातर्फ मात्र १ सिट जित्न सक्यो । जबकि २० सिटको लागि चुनाव गराइएको थियो । स्मरणीय के छ भने, केरलामा माकपाले २६ र भाकपाले ६ प्रतिशत गरी कूल ३२ प्रतिशत मत पाएका छन् तर जिताउन सके मात्र १ सिट ।

त्यस्तै, पश्चिम बंगालमा पनि माकपाले सन् १९७७ देखि २०११ सम्म अनवरत चुनाव जितेर सरकार चलायो । माकपाका नेता ज्योति बसु मात्रै २३ वर्ष लगातार मुख्यमन्त्री बने भने अर्का नेता बुद्धदेव भट्टाचार्यले ११ वर्ष गरी माकपाले ३४ वर्ष सरकार चलायो । तर, यसपालि लोकसभाको निर्वाचनमा सो पार्टीले उक्त राज्यबाट एकजनालाई पनि जिताउन सकेन । त्यति मात्र होइन, वर्तमान विधानसभामा उक्त पार्टीको एक जना पनि सदस्य छैनन् । त्रिपुरा कम्युनिष्टहरूको बलियो उपस्थिति रहेको अर्काे राज्य हो । माकपा नेता नृपेन चक्रवर्तीले १० वर्ष सरकारको नेतृत्व गरे भने अर्का नेता मणिक सरकारले १० वर्ष चलाए । अहिले माकपा त्यहाँ पनि कमजोर सावित भइसकेको छ । उसको केरला विधानसभामा ६२, भाकपाको १७, तामिलनाडुमा २/२, आसाममा माकपाको २, बिहारमा २, महाराष्ट्र र उडिसामा १ /१ र त्रिपुरामा ४३ सांसद छन् ।

यसपालिको लोकसभा निर्वाचनमा माकपाले जितेको ४ सांसदमा तामिलनाडुबाट २ जना, केरला र राजस्थानबाट १/१ गरी २ जना छन् । भाकपाले कुनै सिटमा जित हासिल गर्न सकेन । पुराना पार्टी भाकपा र माकपाको तुलनामा बरु नेकपा एमालेको भाइचारा पार्टी भाकपा (माले–लिबरेशन) ले सुधार गरेको छ । हालै सम्पन्न लोकसभा निर्वाचनमा बिहारबाट २ सिट जित्न सफल भएको छ । बिहार विधानसभामा उसको १२ सिट, झारखण्ड र युनियन टेरिटोरीमा १/१ सांसद छन् । भाकपा, चारु मजुम्दारको भाकपा (माले) हुँदै सन् १९७४ मा अस्तित्वमा आएको उक्त पार्टीको बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल र पञ्जाबमा राम्रो पकड छ । विगतमा विनोद मिश्र र अहिले दिपंकर भट्टाचार्यको नेतृत्व रहेको यो पार्टी, आदिवासी जनजाति, दलित र सिमांकित समुदाय र निमुखा जनतामाझ लोकप्रिय छ ।

यसरी अघिल्लो निर्वाचनमा भन्दा कम्युनिष्ट पार्टीहरूले २ सिट बढी जितेर ८ सिट पुर्‍याएका छन् यसपालि । लोकसभा चुनावमा कम्युनिष्ट पार्टीले उल्लेखनीय सफलता हासिल गरेको भनेको सन् २००४ मा हो । उक्त चुनावमा माकपाले ४३, भाकपाले १०, आरएसपी र फर्वार्ड ब्लकले ३३ सिट जित्न सकेका थिए । माकपाका नेता ज्योति बसुले केन्द्रीय सरकारको नेतृत्व गर्ने प्रस्तावसमेत पाएका थिए । वर्तमानमा माकपा, भाकपा र माले (लिबरेशन) तीनै दलको गरी लोकसभामा ८, राज्यसभामा ७, बिभिन्न राज्यको विधानसभामा गरी १ सय १३ र युनियन टेरिटोरीमा ३ सांसद छन् । उता नेपालका माओवादीनिकट भारतीय कम्युनिष्टहरू पिपुल्स वार र एमसिसीको अवस्था भने कमजोर हुँदै गएको अवस्था छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू