आउनोस्, उनको हिम्मतिलो जीवनकथा पढौं

आउनोस्, उनको हिम्मतिलो जीवनकथा पढौं

यो क्षेत्र र पेशालाई छिः भन्नेहरू पनि प्रशस्तै भेटिन्छन् तर त्यही हिलोमा फुलेको सुन्दर कमलको फूल हुन् उनी । भनिन्छ, कतै नबिकेपछि ड्राइभिङ फिल्डमा आउँछन् तर त्यो भीडमा आफूलाई अब्बल भनेर चिनाएकी छन्, रेविका थापाले । 

उनले केही समयदेखि लामो दूरीको रात्रि बस चलाइरहेकी छन् । यो क्षेत्रमा एक्ली हुन् उनी । कहिले काठमाडौंमै साझा बस हुइँक्याएर रेकर्ड राखेकी उनी इसिमोडको सवारी चालक हुँदै अहिले धनगढीसम्म चल्ने ५६ सिटे गाडी चलाउँछिन् । उनले चलाएको ग्रेटर नेपालको लु२ख ६९३९ नम्बरको बस त धेरैले याद गरेका होलान् तर यहाँसम्म पुग्न थिचोलेका अत्यासलाग्दा पीडाबारे भने कमैलाई मात्र थाहा हुनुपर्छ ।

बाल्यकाल बागलुङको गलकोटमा निकै कठोर, संघर्षबाट गुज्रियो । ०४० सालमा परिवार बुटवल झर्दा १० वर्षकी थिइन् । कान्छी श्रीमतीको एक्ली छोरी, जसोतसो पढिन् चार कक्षासम्म । सानैदेखि सिर्जनात्मक काममा रुचि थियो । १४ वर्षकी हुँदा बुवा–आमाले सांसर छाडेर गए । मामाघरमा हजुरबाका दुईवटी श्रीमती । आमाका कोही दाजुभाइ थिएनन् । अर्की आमातिरकाले गर्ने हेलाँहोचो, कहिले आधा पेट, कहिले खानै नपाउने परिस्थितिसँग जुधेर आइन् । परिवारबाट केही ‘सपोर्ट’ नभएपछि कष्टकर दिन झेल्दै काठमाडौं छिरिन् ।

तर, यो बिरानो शहरमा न समाउने हाँगो थियो, न टेक्ने ठाउँ । काठमाडौं छिरेपछि झनै अन्योल । एक मुठी सास अड्याउनका लागि के मात्र गरिनन्, मकै पोलिन्, साग बेचिन्, बालुवा चालिन् तर जिन्दगी उस्ताको उस्तै । त्यसपछि विवाह बन्धनमा बाँधिइन् । सबै नारीले चाहन्छन्, विवाहपछि जीवन सुखमय होस्, बुझ्ने श्रीमान् परुन् । तर, भावीको लेखान्त होला सायद । लामो समयसम्म टिकेन सम्बन्ध । अत्याचार र दुव्र्यवहार सहनै सकिनन् । श्रीमान् छाड्ने स्थितिमा पुगिन् । कसैले डिभोर्स हुन्छ भन्ने सोचेर विवाह गरेको हुँदैन । सम्बन्धविच्छेद अन्तिम स्टेज हो । आज पनि धेरै महिला दिदी बहिनी डिभोर्सपछि मेरो जिन्दगी सकियो भन्ने सोच्नुहुन्छ तर पहिलो सम्बन्धविच्छेदपछि उनको जीवनमा नयाँ पालुवा पलायो ।

काखमा दूधे बालक तर स्रोत साधनले रित्तो । ओत दिने कोही थिएन । यस्तैमा एक जना अपरिचित दिदी भगवान बनेर आइन् । ती महिलासँग बस्न थालिन् । तिनैले टेम्पो चलाउन सिक भनिन् । त्यो बेला टेम्पो लगनखेलबाट नख्खु दोबाटो हँुदै रत्नपार्क जान्थ्यो । एक पटक पुगेर आउँदा एक घण्टा लाग्ने । सानो बालकलाई कोठामा थुनेर जान्थिन् । एक राउण्ड टेम्पो घुमाएर बसपार्क आएपछि लाइनमा राखेर दगुर्दै छोरो हेर्न पुग्थिन् । भित्र पसेर केहीबेर छोरालाई सुम्सुम्याउँदै छातीमा टाँस्थिन् । नबिउँझिने गरी बिस्तारै गालामा म्वाइँ खाएर छेवैमा खानेकुरा राखिदिन्थिन् फेरि टेम्पो चलाउन निस्कन्थिन् । यही रीतले दुई वर्ष राजधानीमा टेम्पो चलाइन् । दुई दशकअघि टेम्पो चालक महिलाहरूमाथि अनेकन छेडखानी हुन्थ्यो ।

असुरक्षित महसुस भएर छोडिदिइन् । पछि तिनै दिदीले कार चलाउन सल्लाह दिइन् । तीन सातामै कार चलाउन सिकिन् । छोरो ठूलो हुँदै थियो । उसैका लागि पनि धेरै कुरा गर्नुपर्ने जिम्मेवारी थियो काँधमा । हातमा लाइसेन्स त थियो तर त्यो बेला केटी मान्छेलाई गाडी दिन हत्तपत्त कसैले विश्वास गर्दैनथे । केही समय छोटो दूरीमा माइक्रोबस चलाइन् । माइक्रोबस चलाएपछि त्यसबाट आएको हिम्मतले बाघभैरव ट्राभल्सको सानो गाडी नौ महिना चलाइन् । पछि मिनीबसको लाइसेन्स निकालेर पहिलो दिन नै मनकामना पुगिन् । यसरी ट्याम्पोबाट शुरु भएको ड्राइभिङ माइक्रो, हायस, ठूलो गाडी हुँदै अहिले लङ रुटको गाडीसम्म पुगेको छ ।

०७० सालमा साझा यातायात सेवा सुचारु हुने खबर पाएपछि हेभी गाडीको लाइसेन्सका लागि निवेदन दिएकी थिइन् । ट्रायल दिन जाँदा थुप्रै पुरुष साथीहरू फेल भए तर उनी पास भइन् । लाइसेन्स हात परेपछि साझासँग सम्पर्क गरिन् तर त्यहाँ गाडी चलाउन लाइसेन्स निकालेको पाँच वर्ष हुनुपर्ने प्रावधान रहेछ । धेरै समयसम्म फोन नआएपछि लाइसेन्सकै कारण होला भनेर आश मारेकी थिइन् । एकदिन फोन आयो । गाडीको ट्रायल र रुट टेस्ट गर्न लगाइयो । दुवैमा पास भइन् । आत्मविश्वास देखेर अध्यक्ष कनकमणि दीक्षितले साझाको साँचो हातमा थमाइदिए ।

चालक र सहचालक महिलालाई प्राथमिकता दिएर भित्रिएका साझा बसले एउटा अवसर दियो तर क्षमता भए पनि महिला भनेर शर्त राखियो । साझाले सपोर्ट त ग¥यो तर कलंकीदेखि माइतीघरसम्म गाडी चलाउन भनेर ‘रुट टेस्ट’ गरेपछि मात्र चाबी थमाइएको थियो । राम्रोसँग गाडी चलाएपछि मात्र उनीहरूले बल्ल विश्वास गरे । त्यो बेला ठूलो गाडीको ड्राइभर सिट र स्टेयरिङमा बस्दाको मज्जा नै बेग्लै । महिलाले ठूलो गाडी हाँकेको देखेर होला स्कूलका विद्यार्थीहरूले गाडीबाट टाउको निकाली निकाली हेर्दै वाह आन्टी, वेलडन भन्न थाले । साझा बस हाँक्दा सबैको वाह वाह मात्र सुन्न पाइन्थ्यो । जीवनका साढे चार दशकमध्ये २१ वर्ष यही क्षेत्रमा बित्यो । साझापछि ‘ट्राभल एजेन्सी’का गाडी पनि चलाइन् । इसिमोडको ठूलो गाडी चलाइन् । 

जीवन आफ्नै लयमा दौडिरहेको थियो । पुराना घाउ खत लाग्दै थिए । फेरि जीवनमा अर्काे घाउ थपियो । यति दुःख गरेर हुर्काएको छोरो विवेक विस्तारै ठूलो हुँदै थियो । १२ कक्षा पास गरेका उनी इञ्जिनियरिङ पढ्ने तयारीमा थिए । अबचाहिँ छोराले केही गर्छ भन्ने लाग्दै थियो । तर जीवन नसोचेको यथार्थ रहेछ । सोचेको हुँदैन, पुग्दैन । नसोचेको भोग्नै पर्छ । जीवनको एक मात्र सहारा १७ वर्षका छोरा विवेकलाई गुमाउनुप¥यो । आफ्ना सपना पूरा गर्ने बेला उल्टै छोरालाई बिदा गर्नुपर्ने भयो । यो घटनाले झनै विक्षिप्त भइन् । छोराको यादलाई भुलाउनका लागि ०७७ सालमा शुरु गरिन् विवेक स्वच्छ सेवा केन्द्र । यही केन्द्रमा अहिले ३० जना बालबालिका छन् । ती सबैकी आमा हुन् ।

पहिलो घरबार भत्कियो । छोरा १७ वर्षकै उमेरमा गुम्यो । विक्षिप्त अवस्थामै सम्हाल्न कोही आइपुगे । अहिले श्रीमान्को साथ, सपोर्ट छ । ६ वर्षको बच्चा छ । श्रीमान् भन्नुहुन्छ, लामो दूरीको गाडी नचलाऊ, सकेसम्म यो कामै छोड तर संस्थालाई अगाडि बढाउनका लागि नै भए पनि गाडी चलाउनुपर्ने स्थिति छ । किनकि काँधमा ३० अवोध बालबालिकाको जिम्मेवारी छ । बुवा–आमा पत्ता नलागेर टुहुरा भएका बालबालिकाले यहाँ आश्रय पाइरहेका छन् । पुरुष चालकको भीडमा साहस, हिम्मत र आँटले ‘नाइट’ बस हाँकेर हिँड्न थालेकी छन् । उनलाई आफ्नो पेशामा गर्व छ । भन्नेहरूले जे सुकै भनुन् तर लाग्छ उनी यही हिलोमा फुलेकी कमलको फूल हुन् । एकमुठी सास रहेसम्म सामाजिक काम गरेर अगाडि बढ्ने मन छ भन्छिन् ।

– रेविका थापा

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू