एमाले क्रमशः चीनको ‘लाइन’तिर

एमाले क्रमशः चीनको ‘लाइन’तिर

पार्टीभित्र प्रतिस्पर्धी झेलेर बस्नुभन्दा ‘प्रतिस्पर्धा’ भन्ने कुरै सिध्याइदिए हाइसञ्चो ! अहिले एमाले अध्यक्ष केपी ओली पार्टीलाई त्यतैतिर लैजान तल्लिन हुनुहुन्छ ।

अर्थात्, चिनियाँ शैलीमा पार्टी चलाउने ध्याउन्न छ । त्यो भनेको ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने’ विशेषतासहितको जनताको बहुदलीय जनवाद (जबज) को सट्टा ‘नयाँ जनवाद’ लागू गर्ने तयारी हो । जसरी चीनमा सन् १९४९ को सफल क्रान्तिपछि पार्टी संरचनालाई बहुपदीय बनाइयो र पछि त्यसलाई हटाएर अध्यक्ष वा महासचिवको एकल नेतृत्व चलाइयो, एमालेको सन्दर्भमा पनि अध्यक्ष नेतृत्वको पार्टी निर्माण गर्ने र उपाध्यक्ष, उपमहासचिव, सचिवहरूको भीड बटुलेर धेरैलाई पदका निम्ति नसिंगार्ने ध्याउन्न छ । क्रान्तिकालपछि चिनियाँ कम्युनिष्ट पार्टीमा १९५६ को आठौं केन्द्रीय कमिटीबाट चार उपाध्यक्ष बनाइयो ।

दुई वर्षपछि नवौं केन्द्रीय कमिटीको उपाध्यक्षमा पुगेका माओका भरपर्दा कमाण्डर तथा रक्षामन्त्री लिन प्याओ नै उनको हत्या गरेर आफू नेतृत्वमा हावी हुने योजनामा लागे । सन् १९७१ मा उल्टै आफैं हवाई दुर्घटनामा मारिए । कोमिन्ताङविरुद्धको लडाइँमा सेनाको नेतृत्व गर्दै राजधानी पेकिङ (बेइजिङ) कब्जा गर्ने व्यक्ति थिए उनी । लिन प्याओले जनमुक्ति सेनालाई माओ विचारधारामा ढाल्ने, माओका उक्तिहरूको संग्रह रेडबुक प्रत्येक सेनाको खल्तीमा राख्ने चलन चलाए । सन् १९६६ मा माओले शुरु गरेको सांस्कृतिक क्रान्तिलाई पनि राम्रोसँग साथ दिए । तर, १९६९ बाट माओ र लिनबीचको सम्बन्धमा दरारमात्रै आएन, एकले अर्कोलाई सिध्याउने तहसम्मका प्रतिस्पर्धा नै चले । र, १९७१ सेप्टेम्बर १३ मा रुसतिर भाग्दाभाग्दै मंगोलियानेर हवाई जहाज दुर्घटनामा निधन भयो । 

चिनियाँ कम्युनिष्ट पार्टीको सन् १९५६ को २८ सेप्टेम्बरमा सम्पन्न आठौं कंग्रेसले लिउ साओ चि, चाउ एनलाइ, चु द, छन युनसहित चार जनालाई उपाध्यक्ष चुन्यो । १९५८ बाटै उपाध्यक्षमा लिन प्याओ थपिए । १९६६ को सांस्कृतिक क्रान्तिको बेला ह्वाको फङ, चाउ एनलाई, वाङ होङ ऐन, काङसेङ, माओपत्नी च्याङचिङ उपाध्यक्ष भए । १९७३ को दशौं केन्द्रीय कमिटीले ए चेन यिङ, लि द सेङ, दङ स्याओ पिङलाई उपाध्यक्षमा लग्यो । सन् १९७७, ७८ र ७९ मा क्रमशः लि सियाननियन, वाङ दोङसिङ, छन युन, चाओ चयाङ थपिँदै गए । र, ह्वाको फङलाई १९८१ मा माओपछिको अध्यक्ष बनाइयो । त्यसपछि चिनियाँ कम्युनिष्ट पार्टीमा अध्यक्ष छैनन् । 

एमालेमा पनि बहुपदीय अभ्यासपछि गुटबन्दी, अस्वस्थ्य प्रतिस्पर्धा र अध्यक्षलाई नै अल्पमतमा पार्नेजस्ता काम हुन थालेको भन्दै ओलीले चिनियाँ शैलीमा पार्टीलाई अगाडि बढाउने सुर कस्नुभएको बताइन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू