उट्पट्याङ कुराले विवादमा परेका दुबै नायिकाले माफी मागे

उट्पट्याङ कुराले विवादमा परेका दुबै नायिकाले माफी मागे

अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले जसिता गुरुङसँग माफी मागेका छन् । 

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने 'इट्स माइ शो'को पछिल्लो एपिसोडमा अतिथि बनेर पुगेका स्वस्तिमा र साम्राज्ञीले ठट्टा गर्दै जसिताको पूर्वप्रेमीहरुको नाम लिएका थिए । यससँगै जसिताले सामाजिक सञ्जालमार्फत राष्टिय टेलिभिजनको प्रतिष्ठित कार्यक्रमबाट आफ्नो बदनाम गर्ने प्रयास भएको भन्दै आपत्ती जनाएकी थिइन् । जसमा दुवै अभिनेत्रीले माफी मागेका हुन् । 

स्वस्तिमाले भनेकी छन्, ‘म माफी माग्न चाहन्छु, तिम्रो भावनालाई चोट पुर्याउन पुगेकोमा । तर मेरो उद्धेश्य तिमीलाई दुखाउनु थिएन । यो एउटा रमाइलो कार्यक्रम थियो, हामीले पनि रमाइलोको लागि मात्र बोलेका थियौँ । म साँच्चीकै माफी चाहन्छु, तिमी सधैँ मेरो प्रिय साथी रहनेछौ ।’ 

त्यस्तै साम्राज्ञीले पनि कसैको सम्मानमा ठेस पुर्याउने आफ्नो उद्धेश्य नरहेको भन्दै माफी मागेकी छन् । उनले भनेकी छन्, ‘हामी रमाइलो र्यापिड राउन्डमा थियौ र हामीले गम्भीर बनेर जवाफ दिन सकेनौ । अन्जानमा तिम्रो भावनालाई चोटमा पुर्याउन पुगेकोमा म माफी चाहन्छु ।’ 

रोचक के छ भने, विवादको सुत्राधार ओसिन सिटौला भने मौन छिन् । यो कार्यक्रम अघिल्ला दिनहरुमा सुरजसिंह ठकुरीले सञ्चालन गर्दै आएका थिए । तर, ओसिन गत शनिबारको एपिसोडमा होस्टको रुपमा भित्रिएकी हुन् । विडम्बना, उनको पहिलो एपिसोड नै विवादित बन्न पुग्यो । 

खासगरी उनले कार्यक्रममा ल्याएका केही परिवर्तनमाथि दर्शकले नकारात्मक टिप्पणी गरेका छन् । उनले स्वस्तिमा र साम्राज्ञीलाई र्यापिड प्रश्न गर्नुअघि एउटा शर्त राखेकी छन् । उनी भन्छिन्, ‘अब म केही र्यापिड प्रश्नहरु सोध्छु, यदि उत्तर दिन सक्नुभएन भने तपाई आफ्नो कुनै लुगाको भाग खोल्नुपर्छ ।’ 

त्यस्तै, उनले बजर राउन्डमा गरेका प्रश्नहरु निकै कमसल छन् । उनले विषयगत प्रश्नभन्दा पनि अतिथिहरुको लभ, ब्रेकअप, बच्चा, बेडरुम, अरु व्यक्तिमाथि उनीहरुको धारणा लगायत कमसल प्रश्नहरु सोधेकी छन् । 

अहिले, ओसिनले छाडा प्रश्न गरेर कार्यक्रमको प्रतिष्ठा घटाएको र अतिथिहरुलाई पनि विवादमा ल्याएको टिप्पणी भइरहेको छ ।

टिप्पणीहरू