अदालतको आदेश लिएर जाँदा माननीय ढोकैमा अलपत्र

अदालतको आदेश लिएर जाँदा माननीय ढोकैमा अलपत्र

गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाइएको छ । आज बसेको बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादापालकले भित्र जान रोकेका हुन्  ।

पार्टीको ह्वीप विपरीत मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएको भन्दै नेपाल समाजवादी पार्टीसम्वद्ध फणिन्द्रलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । तर,सर्वोच्च अदालतले तत्कालका लागि कारवाहीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै आज उनी संसद बैठकमा भाग लिन गएका थिए ।

तर,मर्यादापालाकले भित्र जान नदिएपछि अहिले उनी प्रदेशसभा बाहिर बसिरहेका छन् । 'अदालतको आदेश हिजै प्रदेश सभा सचिवालयमा दर्ता भएको हो', फणिन्द्रले भने, 'तर किन बैठकमा जान दिइएन मैले पनि बुझ्न सकेको छैन !'

अब के गर्नु हुन्छ ? भन्ने जनआस्थाको प्रश्नमा उनले अहिले आफूसँग धैर्य गर्नुको विकल्प नरहेको बताए । 'अहिले घटनाक्रम हेरेर बसिरहेको छु, कसले र किन रोकेको हो भन्ने थाहा नपाउञ्जेल त धैर्य गर्नुको के बिकल्प रह्यो र !', उनले भने । 

प्रदेश सभा बैठक भने जारी छ । 

नेसपाका नेता फणीन्द्र गत निर्वाचनमा माओवादी केन्द्रको चिन्हमा गोरखा २ (क)बाट निर्वाचित भएका थिए । माओवादीको चिन्हबाट चुनाव जितेकाले कानुनत: माओवादीकै संसदीय दलमा उनको आवद्धता थियो । 

तर, २८ जेठमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै उनले पक्षमा मतदान गरे र, भोलिपल्ट ऊर्जामन्त्री बने । त्यसपछि उनलाई निलम्बन गर्न माग गर्दै माओवादीले सभामुखलाई पत्र बुझाएको थियो ।

त्यसैको आधारमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभामा फणीन्द्र पदमुक्त भएको जानकारी गराएका थिए । त्यसविरुद्ध रिट लिएर सर्वोच्च पुगेका उनको पक्षमा अदालतले आदेश दिएको थियो ।

टिप्पणीहरू