सहकारी ठगीमा प्रहरी हिरासतमा रहेका काँग्रेस नेतालगायत सार्वजनिक

सहकारी ठगीमा प्रहरी हिरासतमा रहेका काँग्रेस नेतालगायत सार्वजनिक
सुन्नुहोस्

ललितपुरको पुल्चोकस्थित लालीगुँरास सहकारी संस्थाका अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सहकारीको रकम हिनामिना गरेको आरोप पक्राउ परेका उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज सार्वजनिक गरेको हो । 

सहकारीका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत एवम् सचिव ४६ वर्षीय सुरेन्द्र भण्डारी, कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल र सदस्य ६१ वर्षीया कदमबाबा जोशी प्रधानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

नेपाल बैंक लिमिटेड मुख्य कार्यालयमा ३१ वर्षसम्म चिफ म्यानेजर भएर काम गरेका श्रेष्ठ २०६१ सालमा लालीगुँरास सहकारीको सचिव बनेका थिए । २०६४ सालमा उपाध्यक्ष बनेर आठ वर्ष बिताएका उनी २०७४ सालदेखि सहकारीको अध्यक्षको रुपमा कार्यरत रहेको प्रहरीले बताएको छ । श्रेष्ठको स्थायी ठेगाना काठमाडौं महानगरपालिका–१६ हो । 

यस्तै, ललितपुरको भैंसेपाटी बस्दै आएका गोरखाका सुरेन्द्र भण्डारीले २०५६ असोज १५ गते लालीगुँरास सहकारीमा म्यानेजरको रुपमा प्रवेश गरेका थिए । उनी सञ्चालक सदस्य हुँदै हाल प्रमुख कार्यकारी अधिकृत तथा सचिव पदमा कार्यरत रहेको प्रहरीको भनाइ छ । 

भण्डारी २०६६ र २०७६ सालमा गरी दुई पटक सहकारी राष्ट्रिय विकास बोर्डको सञ्चालक पदमा रहनुका साथै राष्ट्रिय सहकारी महासंघमा वरिष्ठ सञ्चालक पदमा रहेर २०७२ देखि ०७७ सालसम्म करिब छ वर्ष काम गरेको समेत प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । उनी नेपाली काँग्रेसको केन्द्रीय सहकारी विभागका प्रमुख पनि हुन् ।

लालीगुँरास सहकारी गत फागुन २९ गते समस्याग्रस्त घोषित भएको हो । सहकारीका २२ हजार बचतकर्ताले छ अर्ब ३० करोड बिगो मागदाबीसहित अध्यक्षसहित अन्य सदस्यविरुद्ध गत चैत १ गते जिल्ला प्रहरी परिसर, ललितपुरमा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेका थिए ।  

प्रहरीका अनुसार सहकारीका अध्यक्ष र अन्य सदस्यसहितले आम सर्वसाधारणलाई आकर्षक ब्याजसहित चाहिएको बखत रकम झिक्न पाइन्छ भनी निक्षेप जम्मा गर्न लगाई बचतकर्ताको रकम अपचलन गरेको पाइएको छ । गत शुक्रबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीको निम्ति जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ ।

 

टिप्पणीहरू