पढे, लेखेकी केटीमाथि नै यस्तो अत्याचार

पढे, लेखेकी केटीमाथि नै यस्तो अत्याचार

अभागी खप्पर जता पुग्यो उतै ठक्कर भन्छन्, उस्तै छ हाल । सपना थियो– जीवनमा नर्सिङ पढेर बिरामीको सेवा गर्ने तर अभागीका सबै रहर कहाँ पूरा हुँदा रहेछन् र ? ती सपना/योजना जन्मनै नपाई तुहिँदा रहेछन् । दूरदराज होइन, यही काठमाडौं खाल्डोमा अनि अशिक्षित होइन शिक्षित परिवारकै एक महिलाले भोगेको भुक्तमान हो यो । कालोकोटधारी एक वकिलकी पत्नी, पाँच वर्षदेखि घरभित्रै अन्याय भुक्तमान गरिरहेकी छन् । परिवारको बेइज्जत होला भनेर अत्याचार सहिरहेकी छन् । 

स्कूलमा ‘लेडी विथ द ल्याम्प’ फ्लोरेन्स नाइटिङ्गेलको जीवनी पढेपछि नै संकल्प गरेकी थिइन्– प्लस टु (हाल माध्यमिक तह) उत्तीर्णपश्चात् नर्स बन्ने । कसैलाई थाहा छैन ईश्वर कहाँ लुकेर बसेको छ तर त्यही ईश्वरले भन्छ रे, ‘तँ चिता म पुर्‍याउँछु ।’ 

नभन्दै उत्कृष्ट अंकका साथ प्लस टु उत्तीर्ण गरेपछि कडा मिहिनेतसाथ अध्ययन गर्न थालिन् । सानैदेखि पढाइमा अब्बल । एकपटक पढेपछि दोहो¥याउनै नपर्ने । पढाइबाट परिवार औधी खुशी । परिवारमा अन्य दिदीबहिनीभन्दा जिउडाल मिलेको । काठमाडौँमै घर भए पनि परिवार आर्थिक रुपमा मध्यम । घर भाडाबाहेक आम्दानीको स्रोत किराना पसल तर राम्रो नचलेको । प्लस टु उत्तीर्णपछि जसोतसो परिवारले नर्सिङ नै पढाए । दाजुभाइ र दिदीबहिनी सबैलाई दाँजोमा पढाउन सक्ने अवस्था थिएन । र, आर्थिक स्थिति सामान्य भएकै कारण बेलैमा विवाह गर्न बाध्य भइन् । 

काठमाडौँमै घर भएको र राम्रो खानदानको परिवारले मध्यम परिवारसँग सम्बन्ध गाँस्न पाउँदा को पो खुशी हुँदैन होला ! साँच्चिकै फिल्मी शैलीमा एक जना वकिलले बुवाआमासँग हात मागे । शर्मिलाको परिवारले एक बचनमै सहमति जनायो । जबकि अध्ययन पूरा हुन पाँच महिना मात्र बाँकी थियो । कोटेश्वरकी शर्मिला श्रेष्ठ (नाम परिवर्तन) को काठमाडौँ कपनका स्थायीवासी सुमन श्रेष्ठ (नाम परिवर्तन) सँग २८ वैशाख ०७६ सालमा धुमधामका साथ मागी विवाह भयो ।

आफ्नो खुट्टामा नउभिउञ्जेलसम्म विवाह नगर्ने ढिपी गरे पनि केही जोर चलेन । ‘खास्साको केटो छ । हुनेवाला वकिल ज्वाइँले विवाह गरेपछि तेरो सपना सबै पूरा गर्छु भनेका छन् । फेरि फेरि यस्तो ज्वाइँ पाउन मुश्किल छ ।’ जसले जतिसुकै जे भने पनि आफ्नो तागतले बाँच्ने नभइञ्जेल विवाह नगर्ने अड्डीले कुनै काम गरेन । अन्ततः परिवारका लागि भए पनि विवाह नै गर्नुपर्ने भयो । पति सुमनले विवाह पछि केही माया देखाए । यसबीच जसोतसो नर्सिङ सकाइन् । मागीविवाह भएकाले सुमन र उनको घरपरिवारबारे धेरै थाहा थिएन । उनी विस्तारै परिवारसँग घुलमिल हुँदै थिइन् । आफ्नो भन्नु सुमन नै थियो । 

विवाहपछि नोकरी गर्ने, अझै धेरै पढ्ने इच्छा र चाहना थियो तर त्यो धोको अहिले चुल्हो र चौकोमा बितिरहेछ । बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म घरको काममा व्यस्त हुन्छिन् । शरीरमा सेतो कपडा, हातमा बिरामी जाँच्ने औजार अनि कलम समात्नुपर्ने बेला दैनिक झाडु चलाइरहेकी छिन् । घर परिवार र बूढाको खप्की खाइरहेकी छिन् । जे गरे नि जस छैन । दिनरात घरधन्दाको काम र सबै जनाको जुठो भाँडा मोल्नुपर्ने भएकाले हात पटपट फुटेको छ । जति राम्रोसँग काम गरे पनि सासूआमाको गाली गोलीबराबर छ । न बोल्दा निको न चुप लाग्दा नै । भालेको डाँकोसँगै सबेरै उठेर घर बढार्ने, सरसफाइ गर्ने । त्यसपछि चिया पकाएर टक्राउने अनि परिवारका लागि खाना तयार गर्ने । वकिल पतिले पढाइदिएको भए वा सेवा गर्ने अवसर दिएको भए अहिले स्टाफ नर्सको रुपमा कतै सेवा गरिरहेकी हुन्थिन् होला ।

उनले जागिर खाँदा परिवारको पनि उत्तिकै शान बढ्थ्यो होला । उनी यस्तै कल्पिँदै बिहान खाजा र खाना खाएको सबै भाँडाकुडा मोल्दा १२ बजाउँछिन् । त्यसपछि दुई तीन घण्टा परिवारले थापेको पसलमा बस्यो । फेरि खाजा बनाउने समय भइहाल्छ । खाजा खुवाएपछि बेलुकीसम्म पसलमा बितायो । पसलबाट फर्केपछि घरपरिवार सबैलाई खाना तयार पार्ने र खाना खाए पछि सासू र श्रीमानको सेवा गर्नुपर्ने । त्यसपछि जुठो भाँडा माझ्दा ११ बजिसक्छ । त्यतिञ्जेल पति आराम गर्दै केही किताब पढेजस्ता देखिन्छन् । भाँडा माझीवरी बिछ्यौनामा पल्टिँदा पति आफूमाथि खप्टिन्छन् । विरोध गर्न सक्दिनन् । कठै ! जिन्दगी । के सोचेको, कहाँ पुगिन् । आफ्नो पुर्पुरोमा हात राख्नुसिवाय केही छैन । 

कतिपय यस्ता सासू पनि भेटिन्छन्, जसले बुहारीलाई छोरीसमान हैसियत दिएका छन् तर सबैको ललाटमा त्यस्ता सासू पाउन कहाँ लेखेको हुन्छ र ? दिनभर घरभित्रको कामले शरीर खेतमा जोतिएको बूढो गोरुझैँ झुल्न बाध्य हुन्छ । विश्रामको समय एकछिन टिभी खोल्यो भने, ‘ऐ ! यति राति त्यो ठाँडो बन्द गर । सुत्नलाई डिस्टर्ब भो’ भन्दै हप्की र दप्की गर्छिन् सासूआमा । बेलैमा खाना पाक्छ तर अरुलाई पेटभरी नखुवाई बुहारीले एक सितो मुखमा हाल्न नपाउने नियम त छँदै छ । अब, यसरी कतिञ्जेल चल्छ त जिन्दगी ? ‘परिवारको खुशीका लागि जीवन कसैलाई सुम्पन बाध्य भयो न त छाडेर हिँड्न सक्ने । जाने पनि कहीं ठाउँ छैन । छाडेर हिँड्यो भने पनि नेपाली समाजको चलन यस्तै छ । एक मुठी आशका भरमा बाँचेकी छन् ।’ अनामनगरमा सुमनको ल फर्म छ ।

आफूलाई पढाउन जति रोइकराई गरे पनि पढेर केही ननापिने जवाफ दिँदै चुप लागेर घरमै थच्चिन अह्राउँछन् । विवाहपूर्व सुख सयलमा राख्छु, अनि तिम्रा इच्छा मार्न दिनेछैन भन्ने पतिले नै यति धेरै माया ममता दिएपछि अरु कुरा छाडौँ । शर्मिला कान्छी बुहारी । यसअघि नै जेठी र माहिली बुहारी सासूससुरासँग बस्न नसकेर छुट्टिइसकेका । ‘आफू त कान्छी । जीवनै कान्छी भएर बित्ने भो । छाडेर हिँड्न सक्दिन । अर्काे जुनीमा पुरुष भएर जन्मिन चाहन्छु’ भन्छिन् । 

इमान्दार ढंगले जिम्मेवारी निर्वाह गर्दासमेत एकदिन चोरीको आरोप लाग्यो । नन्दले तल्लो बाकसमा राखेको सुनको सिक्री माथिल्लो बाकसमा राखेर मामाघर गइछन् । फर्केर आउँदा त्यहाँ सिक्री भेटिनन् र तँ चोर्नी भन्दै जगल्टा लुछिन् । सासू, ससुरा र श्रीमान् पनि नन्दतिरै लागे । त्यो रात उनी निदाइनन् । रातभरि आत्महत्या गर्ने योजना बनाइन् तर कसैगरी सकिनन् । एउटा कालोकोटधारी वकिलकै श्रीमतीले भोगेको भुक्तमान हो यो । उनको बेइज्जत नहोस् भनेरै सारा अन्याय र अत्याचार हलाहल बिषझैं पिएर जीवन गुजारिरहेकी छन्, शर्मिला । 

‑ शर्मिलाको हितैषी गंगा पराजुली

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू