शेरबहादुरको जस्तो कमलो मन ओलीकै पनि भैदिए...

शेरबहादुरको  जस्तो कमलो मन ओलीकै पनि भैदिए...
सुन्नुहोस्

२०७४ को निर्वाचनपछि झण्डै दुईतिहाइको सरकार चलाउन नसकेर तीन वर्षमै प्रतिनिधिसभा भंग गरेका केपी ओलीलाई फेरि दुई तिहाइकै सरकारको नेतृत्व गर्ने अवसर मिलेको छ । त्यतिबेला आफ्नै पार्टीको एकल प्रधानमन्त्री हुनुभएका उहाँ यसपटक भने काँग्रेसको समर्थनमा सत्तामा उक्ल्नुभएको हो ।

गणितीय हिसाबले ०७४ कै हाराहारीको शक्ति लिएर सिंहदरबार छिरेका ओलीलाई सत्ता टिकाउन परस्पर विपरीत ध्रुवको कांग्रेसलाई खुशी बनाइराख्नुपर्ने अनिवार्य बाध्यता छ । त्यसैले तत्कालीन नेकपामा सामान्य सरसल्लाहसमेत नगरी एकलौटी सरकार चलाएको अनुभव यसपटक काम लाग्ने छैन । कांग्रेस र त्यहाँभित्र पनि शेरबहादुर देउवा र आरजु राणालाई झन् बढी रिझाउनुपर्ने छ । 

कांग्रेससँग मध्यराति सहमति गरेर प्रधानमन्त्री सुनिश्चित भएपछि ओलीको चाहना थियो– आफ्नो क्याबिनेटमा उपप्रधानमन्त्री नबनाउने । तर, प्रकाशमान सिंहको गुन तिर्नुपर्ने कांग्रेस सभापति देउवाको बाध्यतासामु ओलीको रहरले काम गरेन । अन्ततः आफ्नै पार्टीभित्र पनि पहिलो रोजाईमा नपरेका विष्णु पौडेललाईसमेत उपप्रधानमन्त्री बनाउनुपर्ने अवस्था आइलाग्यो । 

असार १७ को सहमतिपछि कांग्रेस र एमालेबीच विभिन्न चरणमा छलफल चलिरहेको थियो । त्यसैबीच सरकार गठनबारे कुरा गर्न उपाध्यक्ष पौडेल र महासचिव शंकर पोखरेललाई लिएर एकदिन केपी ओली देउवा निवास बूढानीलकण्ठ जानुभयो । आरजु राणालाई समेत राखेर भएको दुई पार्टीको वार्तामा मन्त्रालय भागबण्डा मिलाउन नेताहरूले घुँडा धसेर छलफल गरे । त्यसैक्रममा ओलीको चाहनाअनुसार नयाँ सरकारमा उपप्रधानमन्त्री नबनाउनेमा मोटामोटी समझदारी बन्यो । ओली र आरजुको मत मिलेपछि देउवा पनि ‘हुन्छ नि त !, भन्नेमा पुग्नुभयो ।

आफू मन्त्री भएर जाने पक्कापक्की भए पनि उपप्रधानमन्त्री बन्ने स्थिति नरहेकाले आरजुको बढी चासो हुने नै भयो । तर, छलफलका क्रममा देउवा उपप्रधानमन्त्री बनाउनुपर्नेमा पुग्नुभयो । भन्नुभयो – तपाईं विदेश जाँदा कार्यवाहक प्रधानमन्त्री चाहिन्छ, त्यसका लागि प्रकाशमानलाई पहिलो वरियताको उपप्रधानमन्त्री बनाउनुपर्छ । संगसंगै देउवाले शर्त राख्नुभयो– उपप्रधानमन्त्री नबनाउने हो भने मैले गगन थापालाई सरकारमा पठाउनुपर्ने हुन्छ । गिरिबन्धुको कुरा कोट्याएर चर्को भाषण गर्ने गरेका गगन उस्तै परे क्याबिनेटमै राय बझाउन सक्ने मान्छे हुन् । तर, आक्रामक रूपमा प्रस्तुत नहुने प्रकाशमान भने खासै तर्क पनि गर्न सक्दैनन् । त्यसकारण गगनभन्दा प्रकाशमान ओलीका लागि सहज हुने नै भए । त्यसपछि कांग्रेस र एमालेबाट एक–एक जना उपप्रधानमन्त्री बनाउने गरी देउवा र ओलीबीच सहमति भयो । 

एमाले स्रोतका अनुसार ओलीले उपप्रधानमन्त्री बनाउन नचाहनुको भित्री कारण चैँ विष्णु पौडेललाई छेक्ने रणनीतिअन्तर्गत थियो । किनभने एमालेमा बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र रामबहादुर थापा सांसद छैनन् । ओलीले उपप्रधानमन्त्री बनाएर सरकारमा लैजान चाहे पनि महासचिव शंकरले चुनाव जितेका हैनन् । त्यसो हुँदा उपाध्यक्ष मध्येबाट जितेका एकमात्र विष्णु पौडेलको विकल्प अर्को भएन । उनलाई अघिल्लो प्रचण्ड सरकारमै भौतिक योजनामन्त्री बनाएर पठाउन खोजिएको थियो । तर नमानेपछि रघुवीर महासेठलाई पठाईएको हो । अर्थमन्त्रीमा खुबी देखाएका उनलाई भौतिकमा पठाएर ‘मन्त्रीको लोभ गर्‍यो’ भन्ने पार्न त्यसो गरिएको उनीनिकटहरूले त्यसबेला गुनासो गरेका थिए । स्मरणीय छ– यसअघि ईश्वर पोखरेललाई रक्षामन्त्री बनाउँदा पनि तत्कालिन राष्ट्रपति विद्या भण्डारीको जोडबलमा उपप्रधानमन्त्रीमा उकालिएको थियो । जे दिए नि खान्छन् भन्ने पार्न जानीबुझी नै त्यसो गरिएको भन्ने गरिन्छ । 

अर्कोतिर, अर्थमन्त्रीमा विष्णुको विकल्प पनि भएन । किनभने, डा. युवराज खतिवडा ओलीको रोजाइमा भए पनि उनी सांसद हैनन् । अहिलेको आर्थिक संकटको सामना गर्न अनुभवीलाई अर्थ मन्त्रालयको जिम्मा दिनुपर्ने मत कांग्रेसमा पनि थियो । विदेशी दाताले पनि पत्याउने, आन्तरिक स्रोत परिचालन गर्न सक्ने, शेयर बजार आकर्षित हुने पात्रलाई अर्थमन्त्री बनाउनुपर्दा विष्णुको विकल्प रहेन । 

काँग्रेस र एमालेबीच अर्थ, गृह, सञ्चार, भौतिक पूर्वाधार, परराष्ट्र, रक्षाजस्ता ‘पावरफुल’ र ‘मालदार’ मन्त्रालय भागबण्डामा शुरुबाटै सहमति थियो । तर, कम प्राथमिकतामा पर्ने भनिएको कानुन मन्त्रालयमा दुबै पार्टीको चासो रह्यो । भनिंदैछ, सरकारमा पदम गिरीलाई दोहोर्‍याएर कानुनमन्त्री बनाउने ओलीको इच्छा थियो । तर, शान्ति प्रक्रियासँग सम्बन्धित मुद्दामा माओवादीलाई पनि विश्वासमा लिनुपर्ने तर्कसहित उक्त मन्त्रालय कांग्रेसले छोड्न चाहेन । अर्कोतिर, एमालेलाई प्रतिनिधिसभाको पहिलो दल बनाउने ध्याउन्नमा रहेका प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर ‘गडबड’ गर्नसक्नेतर्फ पनि कांग्रेस सतर्क हुने नै भयो ।

अशोक राई नेतृत्वको जसपालाई एमालेमा मिसाउने तयारीमा रहेका ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एकीकृत समाजवादी फुटाई संख्या पु¥याउने सम्भावनालाई अहिलेबाटै ख्याल गरेर देउवा कानुन नछोड्ने निधोमा पुगेको कांग्रेसका एक नेताले खुलाए । संगसंगै न्यायाधीश नियुक्तिको विषयलाई पनि कांग्रेसले निकै महत्व दिएको बताइन्छ । किनभने अहिले सर्वोच्च अदालतमा एमाले निकट न्यायाधीशहरूको बाहुल्यता छ । प्रधानन्यायाधीशको रोलक्रममा रहेका सपना प्रधान मल्ल, हरि फुयाँल, नहकुल सवेदी, टेकप्रसाद ढुंगाना क्रमशः एमालेको सेट बनिसकेको अवस्थाले कानुन मन्त्रालय कांग्रेसको रोजाईमा परेको बुझिन्छ । 

यता, कम्युनिष्ट गठबन्धन भत्काएर चार महिनामै पार्टीलाई सत्ताधारी बनाउन सकेका शेरबहादुर देउवालाई भने पार्टीभित्र पनि सफलता मिलिरहेको छ । १४ औँ महाधिवेशनमा आफूलाई सभापतिमा सघाएका रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएर गुण लगाइयो । झापाका कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभामा ल्याउने वचन पनि दायाँबायाँ भएन । माओवादीसँग सहमति नतोडिएको भए सिटौला राष्ट्रियसभा अध्यक्ष हुने अवस्था थियो । महाधिवेशनमा सघाउने अर्का प्रकाशमानको गुन तिर्न बाँकी थियो । उनलाई पनि सरकारमा नेतृत्व गर्नेगरी उपप्रधानमन्त्री बनाइयो । प्रजातान्त्रिक कांग्रेस बनाउँदा सहयोग गरेको, शाही आयोग बनाएर पूर्वराजा ज्ञानेन्द्रले जेल हाल्दा संगै बसेको र हालै दिल्लीमा क्यान्सरको उपचार गराएर आएका कारण पनि प्रकाशमानप्रति देउवाको सदाशयता थियो । 

देउवाको अबको रोडम्याप हो – शेखर कोइरालालाई आफूपछिको सभापति बनाएर पत्नी आरजुलाई उत्तराधिकारीका रूपमा उपसभापतिमा ल्याउने । त्यसनिम्ति अहिलेबाटै शेखरलाई विश्वासमा लिएर आरजुलाई मन्त्री बनाउन सफल पनि हुनुभयो । तर, एमालेमा त्यस्तो छ त ? देउवाले जस्तो समन्वयकारी भूमिका खेलेको भए शायद नेकपा नै विभाजित हुने थिएन । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरू पार्टी छोडेर हिँड्ने स्थिति पनि आउँदैनथ्यो होला ! अहिले पूर्वराष्ट्रपति विद्या भण्डारीको व्यवस्थापन ओलीका निम्ति चुनौती बनेको देखिन्छ । 

विद्याले निकटहरूसँग पार्टीमा आफ्नो ५० प्रतिशतभन्दा माथि पकड रहेको हिसाब सुनाउने गर्नुभएको छ । चीननिकटताको आरोप लाग्ने गरेकी उहाँ वामपन्थी एकताको पक्षमा रहेको भनिन्छ । भनिंदैछ– विद्यामार्फत ‘चाइनिज फ्याक्टर’ हावी हुनसक्ने देखेरै अर्को पक्षले केपी ओली र शेरबहादुर देउवालाई हतारहतार मिलाइदिएको हो ।

पूर्वराष्ट्रपतिको हैसियतमा असार १४ गते चीन पुग्ने सम्पूर्ण तयारी भैसकेपछि भ्रमण किन रोकियो ? र, त्यतिबेलै एमालेले माओवादीसँगको गठबन्धन तोडेर किन कांग्रेससँग मिल्न पुग्यो ? यस्ता प्रश्न एमालेभित्रैबाट उठिरहेको छ । यद्यपि प्रधानमन्त्रीको शपथ लगत्तै निवासमै पुगेर विद्यालाई भेट्नुभएका ओलीले यी सबै विषयलाई सामान्यीकरण गर्न खोजेको देखिन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू