देउवाले त्यसो भनेपछि कुरै खत्तम
‘कुरा यस्तो छ नि सभापतिज्यू’ भन्दै कम्युनिष्ट पार्टीकै नेताले केही सुझाव दिन खोज्दै थिए, ‘मैले गरेँ–गरेँ, गरिसकेँ भन्या...’ भन्दै शेरबहादुर देउवा भुन्भुनाउनुभयो ।
अहिले गठित सरकारको ध्येय संविधान संशोधन गर्ने होइन भन्दै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले थप्नुभयो, ‘यो सहमतिबाट देश, जनता र सबै पार्टीलाई धोका हुन्छ । भोलि ओलीले तपाईंहरूलाई सरकार नदिएर संसद विघटन गरे । उनको अनुकूलका न्यायाधीशले त्यसैलाई अनुमोदन गरे भने के हुन्छ ?’ जवाफमा शेरबहादुरले ‘मैले गरिसकेँ, गरेँ–गरेँ’ मात्रै भन्नुभयो, अरु कुरा सुन्नै चाहनुभएन ।
देउवाका पिए भानुमार्फत पार्टी अध्यक्ष माधवकुमार नेपाललाई एउटा सन्देश गएको थियो, ‘सभापतिज्यू तपाईंहरूको विषयमा सकारात्मक हुनुहुन्छ । मिलेर जानुपर्छ भन्ने चाहनुहुन्छ ।’ त्यसो त असार १७ देखि शुरु भएको राजनीतिक उथलपुथलका बीचमा पनि माधव र शेरबहादुरबीच भेट र कुराकानी भएको थियो । त्यसक्रममा जेजस्तो परिस्थिति भए पनि सम्बन्ध राम्रै राख्ने तहका कुरा भएका हुन् । ओलीसँग माधवको अन्तिम छलफल १५ गते नै भएको थियो । उहाँले भोलिपल्ट पार्टी महाधिवेशनका निम्ति सबै दलका अध्यक्षलाई निमन्त्रणा गर्ने क्रममा आफैंले फोन गर्दा ओलीसँग पनि कुरा भएको हो । ‘तपाईं नै आउनुपर्छ नि’ भन्दा माधवले भन्नुभयो । तर, ओलीले ‘अलिक सञ्चो छैन, के पो गर्ने होला ?’ भन्नासाथ माधवले ‘हैन, हैन एकछिनलाई भए पनि आउनुस्’ भन्दै कुरा टुंग्याउनुभयो ।
ओली माधवको महाधिवेशनमा जानुभएन र अरु कसैलाई पनि पठाउनु भएन । सञ्चो छैन भनेका ओलीले भोलिपल्टै रातारात माओवादीसँगको समीकरण तोडेर कांग्रेससँग नयाँ यात्रा तय गरेपछि माधव र ओलीका बीचमा चार महिनायता शुरु भएको नियमित कुराकानीको श्रृंखला पनि अन्त्य हुन पुग्यो । त्यसपछि भानुबाट सकारात्मक सन्देश पाएको अवस्थामा ओलीको नियत, शैलीबारे देउवालाई झक्झक्याउनुपर्छ भन्दै माधवले राजेन्द्र पाण्डे र प्रमेश हमालहरूलाई कुरा गर्न पठाउनुभयो । तर, देउवा कतिसम्म एकोहोरिनुभएको रहेछ भने, कुनै कुरा राम्रोसँग सुन्नै नचाहने ।
भनिन्छ, देउवाका निम्ति पत्नी आरजुलाई मन्त्री बनाउनु थियो, अब क्रमशः पार्टी राजनीतिमा हावी गराउनु छ । त्यही स्वार्थबाट प्रेरित भएर हतार हतार एमालेसँग सरकार बनाउने सम्झौता गर्नुभयो । अर्थात्, एउटा व्यक्तिका लागि राजनीतिलाई निर्मम बनाइन्छ भन्ने कुरा अहिलेको सरकार गठनपूर्वका स्वार्थहरू बुझ्दा प्रष्ट भएको छ । र, देउवापत्नी डा.आरजु परराष्ट्र मन्त्री भएकी छन् ।
यो सरकार न त दिल्ली, न बेइजिङ, दुबैले बनाएका हैनन् । अर्थात्, घरेलु वा वाह्य राजनीतिक अभ्यासबाट नभएर प्रचण्डले आरोप लगाएझैँ दलाल पुँजिपति वर्गको चलखेलबाट बनेको बुझिन्छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू