दुई ठूला दल मिल्दैमा कहाँ होला र छुमन्तर !
चौथो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले हरेक पटक फरकफरक खालको क्याबिनेटको नेतृत्व गरे ।
पहिलोपटक कांग्रेस इतर बहुमत हिस्सालाई समेट्दै संविधान बनाउने दलहरूको प्रधानमन्त्री बने । दोस्रोपटक नेकपा (एमाले) र माओवादी मिलेर बनेको वाम गठबन्धन र पार्टी एकीकरणपछिको नेकपाका झण्डै दुई तिहाई निकट शक्तिशाली प्रधानमन्त्री बने । तेस्रोपटक संसद बिघटनपछि घच्याकघुचुक हुँदा सबैभन्दा ठूलो दलका प्रधानमन्त्री थिए ।
अहिले भने पहिलोपटक कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका छन् । कांग्रेस र एमालेले मिलेर सरकार बनाएको २०४६ पछिको संक्रमणकाल बाहेक यो छैटौँ उदाहरण हो । तर, कांग्रेसले ओलीलाई साथ दिएर प्रधानमन्त्री बनाएको भने यो नै पहिलोपटक हो ।
आइतबार नियुक्त र सोमबार शपथग्रहण गरिएको चौथो कार्यकालको बारेमा टिप्पणी गर्ने बेला भएको छैन । दुई ठूला दलहरू मिलेर बनेको सरकारले संविधान संशोधन गर्ने र त्यसमा सांसद संख्या घटाउने, चुनावी प्रणाली हेरफेर गर्ने, पालिकाहरू मर्जर गर्ने न्युयोर्क टाइम्सले समाचारमा लेखिसकेको छ । दुई सबैभन्दा ठूला दल मिलेर बनेको सरकार भएकोले यो बलियो छ र कमजोर पनि छ । कमजोर यो मानेमा कि देशमा प्रमुख राजनीतिक प्रतिस्पर्धा गर्ने शक्तिहरू नै कांग्रेस र एमाले हुन् । यो २०४६ को परिवर्तनपछि देखिएको दृष्य हो । अर्थात् दोस्रो संसदीय निर्वाचनपछिको दृष्य हो ।
पहिलो आमनिर्वाचन २०१५ पछि कांग्रेसको एकल दुई तिहाई थियो । १०९ सिटमा ७४ एक्लै जितेको हो । १९ सिट मात्रै ल्याएको राष्ट्रिय गोरखा परिषदको प्रमुख प्रतिपक्षी भन्ने तहसम्म हैसियत थिएन । कम्युनिष्टहरू त जम्मा चार जना थिए । स्थान पनि चौथो नै थियो । राजा महेन्द्रले २०१७ मा ‘कू’ गरेपछि गोरखा परिषद पनि कांग्रेसमा बिलय भयो ।
अर्थात् पहिलो आमनिर्वाचनबाट आएका सबैभन्दा ठूला दुई दल मिलेपछिको दोस्रो संसदीय चुनावमा एमाले ६९ सिट ल्याएर प्रमुख प्रतिपक्षी बन्यो । यो कथा जोड्न खोजेको किन हो भने देशमा सबैभन्दा ठूला दुई शक्ति मिल्दा पनि अघिल्लो चुनावको चौथो ठूलो शक्तिले दोस्रो शक्तिको हैसियत बनाएको यो नेपालको सुन्दर नजिर हो । २०४८ पछि त किस्ता किस्तामा पहिलो पनि भएको छ ।
ठूला दल मिलेर बनेको सरकार भएकोले यो बलियो छ र कमजोर पनि छ ।
जनताले एकपटक बनाइदिँदैमा तिनीहरू ठूला हुँदैनन् भन्ने त पहिलो संविधानसभा चुनावमै देखिएको हो । नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रत्यक्षतर्फ ल्याएको एकमुष्ट सिटभन्दा धेरै थियो माओवादीको । जनताले विश्वास गरेर माओवादीलाई त्यो बेला मत दिए तर माओवादीले जनतालाई राम्रो डेलिभरी दिएन । न आदिवासीले खोजेको पहिचान पाए । न खसआर्यले माओवादीलाई पत्याए । हिन्दू जनमतले त झनै पत्याएन ।
त्यसको चपेटामा माओवादी मत आकार क्रमशः घट्यो । पहिलो संविधानसभामा ३१ प्रतिशत ल्याएको थियो । दोस्रोमा १४ प्रतिशत घटेर १७ मा खुम्चियो । तेस्रो पटकको चुनावमा दोस्रोपटकको भन्दा ४ घटेर १३ प्रतिशत पुग्यो । चौथो अर्थात् पछिल्लो चुनावमा अघिल्लोभन्दा २ प्रतिशत घटेर ११ पुग्यो । अर्थात् पछिल्ला १७ वर्षमा माओवादीको २० प्रतिशत मत घट्यो । सजिलो भाषामा २० प्रतिशत मत घट्नु भनेको सबैभन्दा पहिलोपटक माओवादीले मत पाएको हरेक सय जनामा २० जनाले छोड्ने वातावरण बन्नु हो ।
उसो त कांग्रेस–एमालेको पनि मत घट्ने केही संकेत पछिल्लो चुनावमा नदेखिएका होइनन् । काठमाडौं महानगरमा एमालेले जित्ने भनिएको थियो । तेस्रो भयो । नसोचेका बालेनले पहिलोपटक स्वतन्त्र मेयरको रुपमा जिते । धरानमा हर्कले त्यही गरे । उपचुनावमा ५०० मत नल्याएका उनले पछिल्लो स्थानीय चुनाव भने भारी मतले जिते ।
योक्रम नेपालको काठमाडौं, पूर्व नेपालको धरानमा मात्रै सीमित भएन । सुदूरपश्चिमको धनगढीमा यस्तै भयो । स्वतन्त्र व्यानरमा उठेका गोपी हमालले जितेर देखाए । उनले केही सकारात्मक काम पनि गरिरहेका छन् । राप्रपाको आकार बढ्नु कांग्रेस–एमालेको अलोकप्रियताकै द्योतक हो । तनहुँको उपचुनावमा एमाले तेस्रो हुनु र भारी मतले कांग्रेस हार्नुले त्यसैको संकेत गर्छ । इलामको उपनिर्वाचनले कांग्रेस र एमालेलाई पुरानै लयमा ल्याएको भन्न सकिन्छ । तर, इलाम मात्रै हेरेर देशको समग्र चुनावी चित्रको मूल्यांकन गर्नु छिटो हुन्छ ।
जनताले खोजेको डेलिभरी नदिइएमा ठूला दलहरू मिलेर बनेको सत्ता समीकरणले निरन्तरता पाउनु त परको कुरा, उनीहरूको अस्तित्वमै प्रश्न पनि ल्याउन सक्छ । दुई प्रमुख दल सत्तामा भएपछि सडक सत्ता खाली हुन्छ । दलका भात्रृ संगठनको आन्दोलित आवाज भुत्ते हुन्छ । यस्तो बेला अर्को तेस्रो शक्ति आउने समस्या हुन्छ । त्यो शक्ति सामाजिक सञ्जालबाट बनेका बालेन वा ऊ जस्तै भएर प्रकट हुन सक्छ । त्यो शक्ति हर्कजस्तो समुदायबाटै उठेर प्रकट हुन सक्छ ।
अथवा रास्वपा जस्तो हठात् कुनै विकल्प नहुँदा जनताले भटाभट मत दिएर प्रकट पनि हुनसक्छ । देशमा पहिलो र दोस्रो शक्ति कांग्रेस र एमाले नै हुन् । यो आजको यथार्थ हो । तर, उनीहरूले जनतालाई डेलिभरी दिएनन् भने तेस्रो शक्ति आउन सक्छ । अहिले चलेका भन्दा फरक रुपका शक्ति आउन सक्छन् । जसरी बालेन आए । हर्क आए । गोपी आए । रास्वपा आयो ।
जनता भगबण्डाको राजनीतिबाट वाक्क भएका छन् । सत्ता बन्दा राष्ट्रपति रामचन्द्र पौडेललाई पनि मन्त्री कोटा परेको भन्ने समाचार सुनेर दिक्क छन् । चौतर्फी जनता निराश र आक्रोशित भइरहेको बेला देशका सबैभन्दा ठूला दुई दल मिलेका छन् । उनीहरूको मिलाइ सत्ताको दोहन गर्न मात्रै हुन्छ कि जनताले महसुस गर्नेगरीको परिणाम दिन हुन्छ, त्यो कुराले उनीहरूको सत्ता समीकरण मात्रै होइन, आगामी दिनको चुनावी आकार निर्धारण हुनेछ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू