बधाई भाउजू !

बधाई भाउजू !

भाउजूलाई बधाई ! भाउजू पहिलोपटक मन्त्री बन्नुभएको छ । सभापति शेरबहादुर देउवाले आफ्नी श्रीमतीलाई मन्त्री बनाए भनेर पनि आलोचना गर्ने कोही कोही होलान् । तर तिनले राजनीति बुझेका छैनन् । यो सरकार शेरबहादुर देउवाले बनाउनुभएको होइन । यसको असली निर्माता भाउजू नै हुनुहुन्छ । किनभने भाउजूले नै देउवालाई लिएर केपी ओलीसँग वार्ता गर्नुभएको थियो । त्यसपछि बल्ल यो सरकार बनेको हो । त्यसैले सरकारमा जान पाउनु उहाँको उहाँको नैसर्गिक अधिकार हो । 

सरकारको निर्माता आफै भएको नाताले यो सरकारमा जे मन लाग्यो त्यही मन्त्रालय रोज्ने छुट भाउजूलाई थियो । उहाँले चाहेको भए अर्थ पनि लिन सक्नुहुन्थ्यो, गृह पनि लिन सक्नुहुन्थ्यो । तर परराष्ट्र लिनुभयो । कसैले भन्ला उहाँलाई खरर्र अंग्रेजी बोल्न आउँछ, त्यही भएर परराष्ट्र लिनुभएको हो । तर कुरो त्यसो होइन । परराष्ट्र उहाँलाई ‘सुट’ हुने मन्त्रालय हो । किनभने देशको परराष्ट्र मामिला यही मन्त्रालयले हेर्छ । भारत मामिला यसैले हेर्छ । अमेरिकी मामिला यसैले हेर्छ ।

भुटान मामिला पनि यसैले हेर्छ । भुटान मामिला अरु मन्त्रालयले हेरेर हुँदैन । भुटान यही मन्त्रालयले हेर्नुपर्छ । भुटान मामिला हेरेपछि त्योसँगै अमेरिकी मामिला पनि हेर्नुपर्ने हुन्छ । त्यो काम परराष्ट्रले मात्रै सक्छ । अरुले सक्दैन । त्यसमाथि उहाँ राजदूतकी छोरी हुनुहुन्छ । राजदूतकी छोरी भएर अरु मन्त्रालयमा आँखा लाउन हुन्छ ? परराष्ट्र त उहाँको रगतमै बगेको मन्त्रालय हो । हामी आशा गरौं, उहाँको कार्यकालमा नेपाल–भुटान सम्बन्ध प्रगाढ बनोस् !

टिप्पणीहरू