स्वर्ग–नर्क जाने कसम
छोड्ने भनेपछि मान्छेलाई झ्याउ नै लाग्छ । चाहे त्यो श्रीमती छोड्ने कुरा होस् वा गर्लफ्रेण्ड । चाहे कोठा छोड्ने सवाल होस् वा कार्यालय । मान्छेले खुशी खुशी छोड्ने भनेको त देश मात्रै हो । अहिले एअरपोर्टमा हेर्नोस्, हातमा पासपोर्ट, मुखमा मुस्कान बोकेर देश छोड्नेहरूको लर्को देख्न सकिन्छ । आफ्नो देश छोड्नका लागि अर्काको देशको पर्खाल चढ्न पनि पछि परिन्न । देश एउटा छोडेर अरु जम्मै छोड्न गाह्रो हुन्छ । संसार छोड्न त झनै गाह्रो हुन्छ । अझ संसारभन्दा पनि सत्ता छोड्न त बहुतै मुश्किल हुँदो रहेछ ।
कमरेड प्रचण्डलाई नै हेर्नोस्, कम्ता गाह्रो भयो उहाँलाई ? सत्ता छोड्नुपर्नाको पीर उहाँले अस्ति संसदमा पुरै छताछुल्ल हुने गरी पोख्नुभयो । अझ विशेष गरीे एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीप्रति पूरा पेटको खारै निकाल्नुभयो । गुनासो वाचनका क्रममा भन्नुभयो, ‘केपीजीले मसँग कसमै खाएर भन्नुभएको थियो हामी स्वर्ग गए पनि सँगै जाउँला, नर्क गए पनि सँगै जाउँला । अहिले हेर्नोस् त, उहाँले के गर्नुभयो । यसरी पनि धोका दिन मिल्छ ?’
सरकारमा जानका लागि कमरेड केपीले जे गर्नुभयो, त्यसलाई कमरेड प्रचण्डले धोका भन्नुभएछ । हुन त धोकाबारे उहाँ दुई जनाबाहेक अरु कसलाई थाहा होला र ? दुवै जना धोकाको ‘एक्स्पर्ट’ नै हुनुहुन्छ । तैपनि अहिलेको सन्दर्भमा कमरेड केपीलाई धोकेबाज नै भन्न अलि मिल्दैन कि जस्तो लाग्छ । किनभने उहाँले कसम खानुभएको त स्वर्ग जाने अथवा नर्क जाने सन्दर्भमा हो । सरकारमा जाने सन्दर्भमा होइन । स्वर्ग जाने वा नर्क जाने भए पो सँगै जाने भनेको हो त, सरकारमा पनि सँगै जाने भनेको त छैन । केपी ओली अहिले न स्वर्ग जानुभएको छ, न नर्क जानुभएको छ । त्यसैले स्वर्ग वा नर्क सँगै जाने भनेर खानुभएको कसमलाई यता सरकारमा जाने कुरासँग मिसाउनु भएन । उहाँले सरकारमा पनि सँगै जाने कसम खानुभएकै छैन । कसम त स्वर्ग वा नर्कसम्म मात्र सीमित छ । भोलि स्वर्ग वा नर्क जाने अवस्था आयो भने सँगै जाने कुरा छँदैछ । अहिले सरकारमा जान कामलाई यो कसमले रोक्दैन । मज्जैले जान मिल्छ । कुनै शंका ।
टिप्पणीहरू