पहिरोको जोखिममा नमूना गुरुङगाउँ
-शंकर श्रेष्ठ
धादिङको गंगाजमुना गाउँपालिका–३, अम्बोटेको सिंगो गाउँ पहिरोको जोखिममा परेको छ । पछिल्लो समय उक्त गाउँ होमस्टेको निम्ति परिचित छ । आन्तरिक पर्यटन फस्टाउँदै गएको अम्बोटेगाउँ ठूलो वर्षातका कारण पहिरोको चपेटामा परेको छ ।
यो साताको शुरुमा परेको मुसलधारे वर्षाले भिरालो स्थानमा रहेको बस्तीमा पहिरो जान थालेको स्थानीय रुपा गुरुङले जानकारी दिइन् । ‘आइतबार रातीदेखि मुसलधारे पानी परेको छ । सडकबाट बगेको भलपानी पनि बस्तीमै पस्यो’, गुरुङले भनिन्, ‘अब एक पटक यस्तै ठूलो पानी पर्यो भने बस्तीभन्दा माथी र तलका दुई वटा पहिरोले गाउँ बगाउने खतरा बढको छ ।’
गाउँ माथीबाट पसेको भलपानीले ठाउँ–ठाउँमा क्षति पुगेको छ । बस्तीको सिरानमा डरलाग्दो पहिरो खसेको छ । तल्लो भागबाट पनि निकै लामो पहिरो गएको छ । सोच्दै नसोचेको स्थानमा पहिरो जान थालेपछि गाउँले त्रसित बनेका हुन् ।
उक्त बस्तीमा १६ घर गुरुङ समुदायको बसोबास छ । पहिरोले छ घर उच्च जोखिममा परेको छ । नमूना होमस्टेको रुपमा परिचित घरहरु आवतजावत गर्न गाउँलेहरुले चिटिक्कसँग सिंगारेर राखेको एकमात्रै गोरेटो बाटो पनि पहिरोका कारण अवरुद्ध भएको बताइन्छ ।
माथिल्लो बस्ती नजिकको पहिरोले छ घर र तल्लो बस्तीसँग जोडिएको पहिरोले सात घर उच्च जोखिममा पारेको छ । भलपानीले सडक र गौंडाहरु तहसनहस भएका छन् । सडक भत्काउँदै जमिन कटान गरेर बस्तीतर्फ पसेको भलपानीले बाटाहरुमा क्षति पुर्याएको स्थानीय लोकबहादुर गुरुङले जानकारी दिए ।
तत्काल रोकथामको उपाय अपनाउन नसकिए आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गरेको नमूना गाउँनै विस्थापित हुने अवस्था सिर्जना भएको गुरुङले जानकारी दिए ।
तस्बिर : शंकर श्रेष्ठ ।
टिप्पणीहरू