बिनासूचना अनुपस्थित हुने प्रहरी संख्या दर्जनौं
नेपाल प्रहरीले लामो समयदेखि बेपत्ता साढे दुई दर्जन प्रहरीको खोजी थालेको छ । बिना जानकारी गैरहाजिर २९ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सम्पर्कका लागि सूचना नै प्रकाशित गरेको छ । विभिन्न मितिमा बेपत्ता उनीहरुको नाममा पटकपटक सूचना टाँस गर्दासमेत बेवास्ता गरेपछि चित्तबुझ्दो स्पष्टिकरणसहित सात दिनभित्र हाजिर हुन भनिएको छ ।
‘आफूखुशी कार्यालयमा गैरहाजिर रहेका र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला’, आज जारी सूचनामा उल्लेख छ ।
स्पष्टिकरण सोधिएकामा प्रहरी नायव निरीक्षक गगन चन्द, प्राविधिक प्रहरी नायव निरीक्षक वन्दना राई, प्रमोद चौधरी, सहायक निरीक्षकहरु नविनप्रसाद जोशी, सहायक हवल्दार प्रेमप्रसाद पौडेल, अनिल पाण्डे, जवान रविन विष्ट, महेश भण्डारी, नवानन्द आचार्य, धनराज खत्री, सन्देश गैरे हुन् ।
त्यस्तै, जवान हेविन रोका, भवानी बजगाईं, निता नेपाली, मिलन नेम्वाङ, दुर्गाकुमारी भण्डारी, सविन हुमागाई, डिकेन्द्र लावती, देउबहादुर गुरुङ्ग, अन्तिम सुर्खाली, टकबहादुर क्षेत्री, राजकमल थापा, अरुण लामिछाने, नविनबहादुर बुढा, प्राविधिक प्रहरी जवान सुशिल जोशी, कार्यालय सहयोगी गणेश रानाभाट, सूर्यनारायण यादव, सन्दिप विक र अनिता रानालाई पनि स्पष्टिकरणसहित हाजिर हुन आग्रह गरिएको छ ।
तोकिएको समयमा स्पष्टिकरणसहित उपस्थित नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसूरमा सोही नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने चेतावनी दिइएको छ ।
टिप्पणीहरू