विदेशको टुंगो नलाग्दै पासपोर्ट माग्ने म्यानपावर कम्पनीमाथि कारबाहीको चेतावनी
वैदेशिक रोजगारीका नाममा झूठो आश्वासन दिने म्यानपावर कम्पनीहरु कारबाही पर्ने भएका छन् । वैदेशिक रोजगारीका लागि छनौट नहुँदै पासपोर्टलगायतका कागजात लिएर दु:ख दिने म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागले कारबाहीको तयारी गरेको हो ।
आज सूचना जारी गर्दै विभागले विदेश पठाइदिने भनी राहदानी लिने तर नपठाउने, राहदानी लिन जाँदा सेवाशुल्क माग्नेजस्ता गुनासो आएको जनाएको छ । यस्तो कार्य नगर्न सचेत गराउंदै विभागले अन्यथा कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।
‘इजाजतपत्र प्राप्त संस्थाहरुले कुनैपनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवाशुल्क माग्नेजस्ता गुनासोहरु विभागमा प्राप्त हुने गरेकोले त्यस्ता कार्यहरु नगर्न–नगराउनहुन अनुरोध छ', विज्ञप्तिमा भनिएको छ, 'अन्यथा, वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गरिने जानकारी गराइन्छ ।’
तोकिएको मितिमा अन्तरवार्ता नगराउने, सार्ने, कार्यालय बन्द गर्ने गरिएको गुनासो प्राप्त भएको जनाउँदै विज्ञप्तिमा विज्ञापनबमोजिम अन्तरवार्ता गर्ने व्यवस्था मिलाउन म्यानपावर कम्पनीहरुलाई निर्देशन पनि दिइएको छ ।
अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरुले तोकिएको मापदण्डबमोजिम तालिम प्रदान नगरेको गुनासो आएको उल्लेख गर्दै विभागले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई अनिवार्य तोकिएको मापदण्डबमोजिम तालिम प्रदान गर्न भनेको छ ।
‘अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरुले तोकिएको मापदण्डबमोजिम तालिम प्रदान नगरेको भनि गुनासो प्राप्त गरेको तथा विभागबाट अनुगमन गर्दासमेत त्यस प्रकारको अवस्था भेटिएकोले तालिम सञ्चालन गर्ने संस्थाहरुले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई अनिवार्य तोकिएको मापदण्डबमोजिम तालिम प्रदान गरेर मात्र प्रमाणपत्र उपलब्ध गराउनुहुन अनुरोध छ । अन्यथा, नियमानुसार कारबाही गरिने व्यहोरासमेत जानकारी गराइन्छ’, विभागले भनेको छ ।
टिप्पणीहरू