केएमसीले भन्यो- क्याप्टेन शाक्यको ढाडको हड्डी भाँचिएको छ

केएमसीले भन्यो- क्याप्टेन शाक्यको ढाडको हड्डी भाँचिएको छ
सुन्नुहोस्

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको अवस्था सामान्य रहेको जानकारी गराइएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत उनको अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा. डा. मीना थापाले जानकारी दिएकी हुन् । 

काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा दुर्घटना हुँदा क्याप्टेन शाक्य बाँच्न सफल भएका थिए । चालक दलका दुई सदस्यसहित १९ जना सवार जहाज दुर्घटनामा १८ जनाको ज्यान जाँदा उनको भने सकुशल उद्धार गरिएको थियो । 

दुर्घटनास्थलबाट उद्धार गरी तत्काल केएमसी अस्पताल पुर्याइएका क्याप्टेन शाक्यको सघन उपचार कक्षमा उपचार भैरहेको र अवस्था सामान्य रहेको डा. थापाले जानकारी दिईन् । 

'उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोटहरु, ढाडको एउटा हड्डी र देब्रेपट्टीको तीनवटा करङ भाँचिएका छन्', डा. थापाले भनिन्, 'अनुहार, आँखा र नाकको हिजै उपचार भैसकेको जानकारी गराउन चाहन्छौँ । हाल उहाँको अवस्था सामान्य रहेको र अन्य जटिलताहरु नदेखिएको समेत जानकारी गराउन चाहन्छौँ ।'

अस्पतालका अनुसार शाक्यको मस्तिष्क केही सुनिएको छ भने शरीरको अन्य भागमा ठूलो चोटपटक छैन । अहिले हाडजोर्नी, नाक, कान घाँटी विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच गरिरहेको जनाइएको छ ।

टिप्पणीहरू