लोकसेवाको छनौट परीक्षामा नयाँ प्रावधान

लोकसेवाको छनौट परीक्षामा नयाँ प्रावधान

लोकसेवा आयोगले लिने लिखित परीक्षाको पाठ्यक्रम फेरिएको छ । आयोगले प्रारम्भिक चरणको प्रथमपत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको हो । 

यसअघि शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्र (छनौट परीक्षा) मा ४० अंक ल्याए उत्तीर्ण हुनेमा अब ४५ अंक ल्याउनुपर्ने छ । 

‘लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुनेछ । यस प्रारम्भिक परीक्षालाई छनौट परीक्षाको रुपमा मात्र लिई यस परीक्षाको प्राप्ताङ्कलाई मूल परीक्षाको अंकमा समावेश गरिने छैन । यस परीक्षाको उत्तीर्णाङ्क पूर्णाङ्कको ४५ प्रतिशत अर्थात् ४५ अंक हुनेछ,’ आयोगको सूचनामा उल्लेख छ ।

पहिलो चरणको परीक्षामा एक सय अंकको वस्तुगत प्रश्न सोधिन्छ । उक्त परीक्षामा अब न्यूनतम ४५ अंक नल्याएमा दोस्रो चरणको परीक्षामा सहभागी हुन पाइने छैन । आयोगले प्रथमपत्रमा प्राप्त भएको कुल प्राप्ताङ्कको ५० प्रतिशत अंक दोस्रो पत्रमा जोडिने व्यवस्था पनि हटाएको छ । 

दोस्रो चरणको मूल परीक्षा र अन्तिम चरणको परीक्षाको कुल अंक योगका आधारमा अन्तिम परीक्षाफल प्रकाशित गरिने आयोगले जनाएको छ । गत असोज २० गते स्वीकृत सो पाठ्यक्रम आर्थिक वर्ष २०८१-०८२ को विज्ञापनदेखि लागू हुने आयोगको भनाइ छ ।

टिप्पणीहरू