मन्त्रीजी २१ दिनसम्म बिदेशमा मग्न
ऊर्जा,जलस्रोत तथा सिन्चाइमन्त्री दिपक खड्का अमेरिका गएका छन् । उनी आज बिहान सवा २ बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा दोहा हुँदै त्यसतर्फ प्रस्थान गरेको मन्त्रालय स्रोतले बताएको छ ।
मन्त्री आगामी भदौ १३ गते अपरान्ह पौने ५ बजे सोही एअरलाइन्सको उडान नम्बर क्युआर ६४६ मा काठमाडौं फर्कने कुरा छ । तर,त्यत्तिका दिनसम्म मन्त्री अमेरिका बस्नुपर्ने कारण खुलाइएको छैन ।
अमेरिका उड्नुअघि खड्काले गत शुक्रबारको मितिमा नेपाल विद्युत प्राधिकरणका दुईजना बोर्ड सदस्यलाई हिजो बर्खास्त गरेका छन् । सोही मितिमा अर्का दुई जनालाई नियुक्ति दिइसकिएको छ ।
नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन महशुल बक्यौता जसरी पनि उठाउनुपर्ने अडान लिँदै आएका कपिल आचार्य र भक्तबहादुर पुन त्यसरी हटाइएका हुन् । उनीहरुको ठाउँमा महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई नियुक्त गरिएको जानकारी हिजो सार्वजनिक बिदाको दिन पारेर दिइएको छ ।
टिप्पणीहरू