ब्लू बसले दिएन भर,लोकल बस चढ्ने रहर
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियार भक्तपुर बस्छन् । पार्टीकाे केन्द्रीय कार्यालय बनस्थलीमा छ। भक्तपुरबाट बनस्थली पुग्न करिब २५ देखि ३० मीनेट लाग्थ्याे । तर आज उनलाई सार्वजनिक बसमा करिब एक घण्टाभन्दा बढी लाग्यो ।
सन्तोषलाई सार्वजनिक बस चढ्नुपर्ने कुनै बाध्यता थिएन । आफ्नै निजी गाडी छ । तर गत शनिबार पार्टीले पाँच दिन (बुधबारसम्म) सार्वजनिक यातायात चढ्ने निर्णय गरेको छ ।
सन्तोष मात्रै होइन, सभापति रवि लामिछाने र उपसभापति डिपी अर्यालसहित अन्य पदाधिकारी पनि आज सार्वजनिक बस चढेरै पार्टी कार्यालय पुगेका थिए । उपसभापति अर्याल हिजो पनि सार्वजनिक बस चढेर त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भलिबल खेल हेर्न पुगे। त्यस्तै,अर्का उपसभापति डा. स्वर्णिम वाग्ले,शिशिर खनाल र गणेश पराजुली हिजो निजी गाडी कार्यालयमै थन्काएर सार्वजनिक बस चढी तनहुँतिर हान्निए ।
रास्वपाका नेताहरु निजी गाडी चढुन् कि सार्वजनिक गाडी चढुन्,त्यो उनीहरुको आफ्नो मामिला हो । तर पहिल्यैदेखि ‘स्टन्टबाज’को आरोप खेप्दै आएको रास्वपाले सार्वजनिक यातायात चढ्न पनि ‘अभियान’ घाेषणा गर्नुलाई फेरि अर्काे ‘स्टन्ट’ भन्न थालिएकाे छ । प्रविण दिवाकरले रास्वपाकाे याे अभियानलाई ‘चटक’काे संज्ञा दिएका छन् । भन्छन्, ‘सार्वजनिक यातायात चढ्न पनि क्लाेज क्याम्पले निर्णय गर्नुपर्ने ? अभियान चलाउनु पर्ने ? कठै नि यिनका चटक !’
रास्वपा सांसद सन्ताेष परियारले भने सार्वजनिक यातायातमा सर्वसाधारणले भोगिरहेकाे समस्या बुझ्न र समाधानको उपाय खोज्न यो अभियान चलाइएको बताए । जनआस्थासँग भने, ‘दुई दिने बन्द कार्यशालामा हामीले यात्रुहरुसँग पनि संवाद गर्नुपर्छ भन्ने कुरा भएको थियो,त्यसको लागि लोकल बसहरु नै उपयुक्त माध्यम हुन् भन्ने लागेर पाँच दिन जति हामी पनि चढौँ भन्ने निर्णय गरेका हौँ ।’
त्यसो त,पूर्वउपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आज पनि सार्वजनिक यातायात चढेरै संसद भवन र सिंहदरबार आउ-जाउ गरिरहन्छन् । उनी एक पटक त माइक्राे बसबाट खसेर घाइतेसमेत भएका थिए । सार्वजनिक यातायातमा सर्वसाधारणले भाग्नुपरेकाे सास्ती उनलाई राम्ररी थाहा छ । यसैकारण हुनसक्छ,बेलाबेला संसदमै प्रश्न गरिरहन्छन् ‘सांसदको तलबले काठमाडौँमा टिक्न गाह्रो हुन्छ,तर हाम्रा अन्य माननीयज्यूहरुसँग गाडी र घर किन्ने पैसा कहाँबाट आउँछ ?’
खैर,रास्वपाका नेताहरुले भने यस्तो दुखेसो पोखेकाे सुनिदैन । सबै सांसदको निजी गाडी रहेको बताइन्छ । उनीहरुले कुन गाडी चढ्छन् ? कति मूल्य पर्ने चढ्छन् ? त्यो चर्चाको अर्को विषय हो । तर रास्वपाका नेताहरु अहिले काठमाडौँमा सार्वजनिक बस चढिरहँदा उता चितवनमा चलाइएको ‘ब्लु बस’को प्रसंग पनि उठेको छ ।
‘सार्वजनिक यातायात चढ्न पनि क्लाेज क्याम्पले निर्णय गर्नुपर्ने ? अभियान चलाउनु पर्ने ? कठै नि यिनका चटक !’
गत वर्षको साउन १७ गते सभापति लामिछानेले महिला र वृद्धवृद्धाहरुको लागि भन्दै दुई वटा बस सेवा उद्घाटन गरेका थिए । तर दुवै बस रास्वपाले खरिद नगरेर भाडामा प्रयोग गरेको पाइएपछि विवाद सिर्जना भएकाे थियाे ।
ना ५ ख ३१३८ नम्बरको बसलाई मासिक १ लाख ३५ हजार भाडा तिरेर रास्वपाले आफ्नो देखाउन नीलो रंगले पोतिएको तथ्य सार्वजनिक भएको थियो । त्यस्तै रास्वपाले सन्चालनमा ल्याएको २ च ५६१९ नम्बरको भ्यान पनि भरतपुर मेडिकल कलेजको एम्बुलेन्स भएको पाइयो । जुन एम्बुलेन्स १२ वर्षअघि भारतीय दूतावासले कलेजलाई दिएको हाे । लामो समयदेखि नविकरण नभएको उक्त एम्बुलेन्सलाई रास्वपाले आफ्नो झण्डा र रंग पोतेर ‘मोबाइल क्लिनिक’ नाम दिएको थियो ।
विभिन्न विवादपछि रास्वपाले ‘ब्लु बस’ सेवा केही समयको लागि रोकेको थियो । जुन अहिले सञ्चालनमा छ वा छैन, केही थाहा छैन । रास्वपाका सांसद परियारले ‘ब्लु बस’बारे आफूलाई पनि अहिले केही थाहा नभएको बताए ।
‘तपाईंहरु यता लोकल बस चढिरहनु भएको छ,उता चितवनमा ब्लु बसको अवस्था के छ ?’ भन्ने जनआस्थाको प्रश्नमा उनले जवाफ दिए, ‘त्यो अहिले के छ,मलाई नि थाहा छैन । भ्यान चाहिँ फिर्ता भएकाे हो,बसकाे अपडेट छैन, बुझेर भनुँला ।’
हुन त,एमाले महासचिव शंकर पाेखरेलले रास्वपाकाे ‘ब्लु बस’बारे त्यतिबेला नै भनेका थिए,‘स्वतन्त्र पार्टीका अध्यक्षको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौं । चितवनजस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गरौं ।’
टिप्पणीहरू