सर्वसाधारणको समस्यामा नेताको ‘मजाक’
सार्वजनिक यातायात आम नागरिकको दैनिकीसँग प्रत्यक्षरुपमा जोडिएको छ । मुलुकको जनसंख्याको ठूलो हिस्साले दिनहुँ सार्वजनिक यातायातको प्रयोग गर्छ । पछिल्लो समय निजी सवारी साधनप्रति नागरिकको मोह बढेपनि सार्वजनिक यातायातमा यात्रा गर्नेको चाप उत्तिकै छ ।
तर लाखौं नागरिकले प्रयोग गर्ने हाम्रा सार्वजनिक यातायातको अवस्था दयनीय छ । सरकारले गरिबको सवारी साधनको रुपमा व्यवहार गर्दा सार्वजनिक यातायातको अवस्था कन्तबिजोग देखिएको हो । अन्य देशको तुलनामा हाम्रो सार्वजनिक यातायात भरपर्दो, दिगो र सुरक्षित सेवा प्रदान गर्न चुकेको छ ।
सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सरोकारवाला निकायले ध्यान दिएको छैन । अन्यत्र सार्वजनिक यातायात राज्यकै लगानी र निगरानीमा सञ्चालन हुन्छन् । तर, नेपालको सार्वजनिक यातायातमा निजी क्षेत्रको लगानी लगभग शतप्रतिशत नै देखिन्छ ।
यसकारण व्यवसायीहरुको मनोमानी चलेको धेरैको बुझाई छ । सेवामूलक बन्नुपर्ने सार्वजनिक यातायातलाई व्यवसायीहरुले नाफामूलक बनाएका छन् । यद्यपि, सरकार यातायात व्यवसायीको सामुन्ने निरीहझैं देखिन्छ । सार्वजनिक यातायात यात्रुमैत्री छैनन् । चालक सहचालकले यात्रुसँग गर्ने व्यवहार लाजमर्दो छ ।
भाडा तिरेर यात्रा गर्दापनि यात्रुले सहचालकको मुखबाट अपशब्द सुन्नुपर्छ । यात्रु भेडाबाख्राझैं कोच्चिएर यात्रा गर्न बाध्य छन् । सवारी साधनभित्र सामान मिलाएझैं यात्रुलाई मिलाएर राखिन्छ । सार्वजनिक यातायातको संख्या न्यून भएकाले यात्रु सकसपूर्ण यात्रा गर्नुपरेको व्यसायीहरुको भनाई छ ।
काठमाडौं उपत्यकामा सवारी साधन पाउनै मुश्किल हुन्छ । झन् अफिस टाइममा कुनै रेसमा भाग लिएझैँ दौडिँदै, ठेल्दै गाडी चढ्नुपर्छ । सिट पाउनु यात्रुका लागि कुनै युद्ध जितेभन्दा कम हुँदैन । ढोकैसम्म उभिएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।
गोडा टेक्ने ठाउँ नभएपनि सहचालक यात्रु कोच्न छोड्दैनन् । चढ्ने बेलामा यात्रुलाई जति सास्ती हुन्छ, निस्किने बेलामा त्योभन्दा बढी । गोडा कुल्चिँदै, एकअर्कालाई ठेल्दै बल्लतल्ल बसबाट ओर्लिन्छन् यात्रु । सार्वजनिक यातायातमा यात्रुले भोग्दै आएको समस्या अनुभव गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले पाँच दिन सार्वजनिक यातायात चढ्ने अभियान चलाएका छन् ।
उक्त अभियानको समर्थनभन्दा विरोध धेरै भइरहेको छ । पार्टी कार्यालयमा निजी गाडी छाडेर शनिबारदेखि उनीहरुले सार्वजनिक यातायात प्रयोग गरिरहेका छन् । पार्टीका सभापति रवि लामिछानेसहित अन्य नेताहरुले सार्वजनिक यातायातमा यात्रा गरेको तस्बिर र भिडियोलाई सामाजिक सञ्जालमा भाइरल बनाउने प्रयास गरिएको छ ।
तर अधिकांशले उनीहरुको सो अभियानलाई ‘स्टण्ट’ को संज्ञा दिएका छन् । लामिछानेहरुलाई स्टण्टको सट्टा जनताको काम गर्न सुझाइएको छ । धेरैले अभियानको खिसीटिउरी र आलोचना गरेका छन् ।
पाँच दिन सार्वजनिक यातायात चढ्दैमा वर्षौंदेखि यात्रुले झेल्दै आएको समस्या समाधान नहुने अधिकांशको प्रतिक्रिया छ । एक जनाले सामाजिक सञ्जालमा लेखेका छन्,‘पाँच दिन मात्र किन सँधैभरी सार्वजनिक यातायात चढ ।’
त्यस्तै, अर्काले भनेका छन्,‘सरकारमा कुर्सी पाएपछि चुपचाप अनि कुर्सी खुस्किनेबित्तिकै बुटवल–नारायणघाट राजमार्ग हिँड्ने, अहिले सार्वजनिक बस !! पाँच दिनलाई सार्वजनिक यातायात रे...सर्वसाधारणलाई जिस्काउँदै छन्, यी नौटंकी जानेकाले ।’
सामाजिक सञ्जालमा लेखिएको छ,‘नेपाली मान्छेलाई नेपालको सार्वजनिक यातायातको अवस्था के छ भनेर बुझ्नका लागि दुई चार जना युट्युबर बोकेर गाडी चढी नाँचगान गरिनु आवश्यक देखिँदैन । जे जस्तो समस्या छन्, यसको सूचना पाउने विभिन्न माध्यमहरु छन् । जनताले पाएको दुःखप्रति देखावटी राजनीति गर्नुपर्दैन ।’
सार्वजनिक यातायातलाई लिएर यस किसिमको चटक भएको पहिलोपटक होइन । त्यसैले यसमा नौंलो मान्नुपर्ने विषय केही छैन् । एकाध दिन नागरिकको कुरा सुनेझैं गरेर चर्चा बटुलेपछि नेताहरु आफ्नो लाइन लागिहाल्छन् । नेताहरु जनताको समस्या उठाएझैं गरेर सस्तो लोकप्रियता कमाउन खोज्छन् ।
केही समय चर्चामा आएपछि उनीहरु आफैं सेलाउँछन् । सर्वसाधारणको समस्या भने ज्यूँको त्यूँ रहन्छ । रास्वपाका नेताहरुले सार्वजनिक यातायातमा यात्रा गर्दा बटुलेका अनुभवहरु सुनाएका छन् । रास्वपाबाट सांसद तोसिमा कार्कीले सार्वजनिक यातायात चढ्न आधा घण्टा कुर्नुपरेको बताएकी छन् ।
सर्वसाधारणले सार्वजनिक यातायात चढ्नका लागि दिनहुँ घण्टौं कुर्ने गरेका छन् । साँझको समयमा सार्वजनिक यातायात पाउन महाभारत छ । साँझ ७ बजेपछि चालकहरुले गाडी ग्यारेजमा थन्काउने गरेका छन् ।
त्यसपछि सार्वजनिक गाडी नै पाइँदैन । साँझपख काम सकाएर घर फर्किने यात्रुको निकै चाप हुन्छ । एउटा गाडीले हुने रुटमा तीन वटा गाडी फेर्नुपर्छ । सरकारले सार्वजनिक यातायातलाई अत्यावश्यक सेवामा राखेपनि गाडी चलाउने–नचलाउने सवारी चालकको स्वविवेकमा भरपर्ने कुरा हो ।
सार्वजनिक यातायातमा महिलाले यौन शोषण खेप्नुपरेको छ । गर्मीको समयमा यात्रुको हाल बेहाल हुने गरेको छ । उकुममुकुस हुनेगरी यात्रु खाँद्दा श्वास फेर्नसमेत गाह्रो पर्छ । यात्रुलाई कतिबेला बसबाट ओर्लिऊजस्तो भइरहेको बेला चालक घण्टौंसम्म गाडी स्टपमा रोकाएर राख्छन् ।
घण्टौं गाडी रोकेर राख्ने प्रवृत्तिका कारण यात्रु गन्तव्यमा पुग्न एक घण्टाअगावै घरबाट निस्किनुपर्ने बाध्यता छ । ‘हतार भयो, जाऊँ न’ भन्दा सहचालक जङ्गिन्छन् । ‘आफ्नै निजी गाडीमा जानुपर्थ्यो नि‘,‘हाम्रो गाडी जुनसुकै बेला जाऊँ’ भन्दै तथानाम गाली गर्छन् ।
कतिपयले ‘झर्नु, अर्को गाडीमा जानु’ भन्दै दादागिरी देखाउँछन् । सार्वजनिक यातायात चढ्ने यात्रुको समस्यैसमस्या छन् । विडम्बना, नेताहरुका लागि भने नागरिकको समस्या लोकप्रियता कमाउने माध्यम बनेको छ ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सार्वजनिक यातायातमा देखेका यात्रुका समस्या सदनमा उठाउने बताउँछन् । ‘हामीले सार्वजनिक यातायातमा देखेका, भोगेका समस्या सदनमा उठाउँछौं । सार्वजनिक यातायातमा सुधार भयो भने मात्र मुलुकको विकास सम्भव छ । सार्वजनिक यातायातलाई सस्तो र सर्वसुलभ बनाउनुपर्ने माग राख्छौं । यो विषयलाई हामी बहसमा लैजान्छौं’, उनले भने ।
किन सुध्रिन सकेन सार्वजनिक यातायात ?
नेपालीको एउटा बानी छ,‘अगाडिको मात्र हेर्ने ।’ सतहमा आएको विषयमा मात्र चर्चा गरिन्छ । भित्री कुरा के हो ? खोजीनीति हुँदैन । सार्वजनिक यातायात नसुध्रिनुको प्रमुख कारण त्यही हो । सार्वजनिक यातायात खचाखच भएको सबैले देखेका छौं । त्यो किन भयो ? गहिराइमा गएर अध्ययन भएको छैन ।
यातायात क्षेत्रमा धेरै बेथिति छ । अहिलेपनि सवारी तथा यातायात ऐन, २०४९ ले काम चलिरहेको अवस्था छ । सरकारले सडकमा लगानी गरेको छ तर सार्वजनिक यातायातमा छैन । जसले गर्दा यातायात व्यवसायीको मनमौजी चलेको हो ।
यातायात क्षेत्रमा राज्यको लगानी नभएसम्म यात्रुले दुःख पाइरहनुपर्ने जानकारहरु बताउँछन् । जनसंख्याको तुलनामा सार्वजनिक यातायातको संख्या निकै न्यून छ । यता, सरकारले सार्वजनिक यातायातको नयाँ दर्ता नखोलेको पनि लामो समय भइसकेको छ ।
दर्ता नखोल्दा यातायात व्यवसायीलाई फाइदा भएको छ तर यात्रुले सास्ती खेप्नुपरेको छ । यता, सरकारले पाउने राजस्व पनि गुमिरहेको अवस्था छ । सरकारले नयाँ दर्ता नखोलेसम्म सार्वजनिक यातायातमा चढ्न भागदौड चलिरहन्छ ।
यता, गाडीको क्षमताले धान्न नसकेर यात्रुले ज्यान पनि गुमाइरहन्छन् । यातायात क्षेत्र सुधार्नका लागि सरकारले नयाँ दर्ता खोल्नुपर्ने र सार्वजनिक यातायात सञ्चालनको मापदण्ड बनाउनुपर्ने यातायात अभियन्ताहरु बताउँछन् ।
छलफल गर्छौं : यातायातमन्त्री
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले नयाँ दर्ता खोल्न मन्त्रालयमा छलफल गरेर अध्ययन गर्ने प्रतिबद्धता जनाए । भन्छन्,‘नयाँ दर्ता खोल्नका लागि मन्त्रालयमा छलफल गरेर अध्ययन गर्छौं । नागरिकको सेवासुविधा हाम्रो प्राथमिकता हो । त्यसैअनुसार अगाडि बढ्छौं ।’
टिप्पणीहरू