आठ वर्षदेखिको मुद्दा आज पनि हेरेन सर्वोच्चले

आठ वर्षदेखिको मुद्दा आज पनि हेरेन सर्वोच्चले

माओवादी केन्द्रका उपाध्यक्ष तथा भूतपूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतले प्रवेश गर्न चाहेन । संवैधानिक इजलासको दुई वटा पेशी  सूची निस्किएमध्ये एउटामा सापकोटाविरुद्धका मुद्दाहरुमध्ये कनकमणि दिक्षीत,पूर्णिमाया लामा र सुशील प्याकुरेल विपक्ष रहेको मुद्दा थियो । 

गत जेठ २३ गतेको संवैधानिक इजलासले निर्णय सुनाउने भन्दै आजलाई पेशी तोकेको हो । दिक्षीतले अदालतको अवहेलना,लामा र प्याकुरेलसहित आठ जनाले सापकोटाविरुद्ध उत्प्रेषणको मुद्दा दायर गरेका थिए । 

माओवादी जनयुद्धताका सापकोटाले काभ्रेपलाञ्चोकका अर्जुन लामाको हत्या गरेको आरोपमा १२ वर्षअघि मुद्दा दायर भएको हो । श्रीमानको हत्यापछि  पत्नी पूर्णिमायाले पटक पटक उजुरी लिएर जाँदा काभ्रे प्रहरीले फिर्ता पठाइदिएपछि उनी अदालतको शरणमा पुगिन् । अदालतको आदेशपछि प्रहरीले लामाको जाहेरी दर्ता गरेर उक्त हत्या सम्बन्धमा अनुसन्धान थालेको थियो ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि उक्त अनुसन्धान रोक्न सरकारले जिल्ला प्रहरी र प्रशासनलाई ठाडो निर्देशन दियो । त्यसबेला सापकोटा सञ्चारमन्त्री थिए । सरकारको उक्त निर्देशनको विरुद्ध पुनः लामा अदालत गइन् ।

अर्जुनको २०६२ बैशाखमा माओवादीका स्थानीय नेता सूर्यमान दोङ र सापकोटाले हत्या गरेको आरोप छ । सर्वोच्चको संवैधानिक इजलासमा सापकोटाविरुद्धको उक्त मुद्दा आठ वर्षदेखि सुनुवाई भइरहेको छ ।

आजको इजलासमा प्रधानन्यायाधीश विश्वम्भरमान श्रेष्ठ,न्यायाधीशहरु प्रकाशमान सिंह राउत,सपना प्रधान मल्ल,प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी हुनुहुन्थ्यो । आजको संवैधानिक इजलासमा रहेका १६ वटा मुद्दामध्ये एउटामा मात्र सुनुवाई भैरहेको छ ।

टिप्पणीहरू