कुनै हालतमा अब प्रधानमन्त्री नबन्ने अध्यक्ष प्रचण्डको घोषणा

कुनै हालतमा अब प्रधानमन्त्री नबन्ने अध्यक्ष प्रचण्डको घोषणा

प्रधानमन्त्री पदबाट बाहिरिएपछि पहिलो पटक कोशी प्रदेश पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रश्नै प्रश्नको सामना गर्नुपरेको छ । पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुने क्रममा उहाँमाथि कार्यकर्ताले प्रश्न तेर्साएका हुन् । 

हिजो विराटनगरस्थित होटल स्वागतममा सम्पन्न माओवादी केन्द्र कोशी प्रदेशको सातौँ बिस्तारित बैठकमा प्रचण्ड प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । शुरुमा १४ जिल्ला संयोजकले पार्टीको अवस्थाबारे रिर्पोटिङ गरे । त्यसक्रममा सबैजसोले आधारभूत तहलाई बिर्सिंदा पार्टीको शक्ति क्षीण भएको गुनासो गरे । 

नेता–कार्यकर्ता काठमाडौं र प्रदेश सदरमुकाममा मात्र केन्द्रित भएको, आधार ईलाका ग्रामीण क्षेत्रलाई बिर्सन थालेकाले पार्टीको जग कमजोर बनेको दुःखेसो पोखिएको थियो । अध्यक्ष प्रचण्डसामू प्रश्न उठाइयो– समाजवादी क्रान्तिको जग भुँईमान्छे नै हुन् अनि उनीहरुलाई नै बिर्सिएर कसरी हुन्छ क्रान्ति ?

पार्टीले बेवास्ता गर्दा जनवर्गीय संगठन कमजोर बनेको कुरा पनि रिपोर्टिङ गर्नेहरुले उठाएको बताइन्छ । जनवर्गीय संगठनहरु कमजोर हुँदा जनजीविकाका सवालमा पार्टी जोडिन नसकेको भन्दै कृषकले दुधको करोडौँ रुपैयाँ भुक्ततानी नपाउँदा पनि किसान संघ चुईंक्क बोल्न नसकेकोप्रति आक्रोश पोखे ।

 

पार्टी कमजोर भएकै कारण ‘मुठी रोपेर मानो उब्जाउने’ कार्यमा किसानलाई सहयोग गर्न नसकेको र सदस्यता नवीकरण हुन नसकेको, केन्द्रीय नीतिकै कारण नयाँ सदस्यता थप्न नपाएको, पहिचानको सवालमा पार्टीले दोधारे नीति लिँदा आम कार्यकर्तामा अलमल र आक्रोश बढेकाले स्पष्ट धारणा बनाउन प्रचण्डसँग माग गरियो ।

अध्यक्ष प्रचण्डलाई पहाडी जिल्लाका कार्यकर्ताहरुले प्रश्न गरे– हाम्रो पार्टी पहिचानमा धरमर हुँदा संगठनमा उथलपुथल आइसकेको छ, यसैले पार्टीले पहिचानबारे स्पष्ट धारणा बनाओस् । उनीहरुले कोशी प्रदेश खारेज गरेर पहिचानको आधारमा नामाकरण गर्ने मुद्दालाई पार्टीले प्रष्ट एजेण्डा बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, जिल्लालाई समन्वयकारी भूमिकामा सीमित राखेर पार्टीले गल्ति गरेको उल्लेख गर्दै केही जिल्लाबाट रिपोर्टिङ गर्नेले कार्यकारी भूमिका दिन माग गरे । उदययुरका विनोद कटुवाल ‘दिवस’ले जिल्ला संयोजकबाट कार्यकारी भूमिकाको अपेक्षा राख्ने तर जिम्मेवारी चाँही समन्वयकारी मात्रै दिँदा अलमल सृजना भएको बताए । उनले पदलोलुपहरुका कारण पार्टीमा अनुशासनहीनता बढेको उल्लेख गर्दै भने– पद पाउँदा प्रचण्डलाई धर्तीका नेता बनाउने अनि नपाउँदा प्रचण्ड भन्दा खराब कोही छैन भन्नेहरुले गर्दा पार्टीले गति लिन नसकेको हो,  त्यसैले अनुशासन आयोगलाई पूर्ण अधिकार दिएर क्रियाशील बनाइयोस् ।

आफनो जिल्लाको अवस्था सुनाउने क्रममा सुनसरीका संयोजक पप्पु मण्डलले कार्यकर्ता बेरोजगार हुँदा अराजकता बढन थालेको बताए । प्रचण्डले पटक–पटक संगत गरेर पनि एमाले अध्यक्ष ओलीलाई चिन्न नसकेकोमा आश्चर्य व्यक्त गर्दै भने, ‘हामीले त ओलीलाई उहिल्यै चिनिसकेका थियौं, तर अध्यक्षले खै किन ढिलो चिन्नुभएको हो ? ओली प्रवृत्तिविरुद्ध लड्न पार्टीले कार्यकर्तामा ऊर्जा भर्नुपर्ने उनको सुझावसमेत छ । 

त्यसैगरी पार्टीका सबै सांगठनिक संरचनामा प्रत्यक्ष निर्वाचन पद्धतीको विकास गर्नुपर्ने, अनलाइनबाटै सदस्यता नवीकरणको व्यवस्था मिलाइनुपर्ने, नयाँ पुस्तालाई बढीभन्दा बढी पार्टीमा भित्र्याउन योजना बनाउनुपर्ने आवाज पनि विस्तारित बैठकमा उठ्यो । केही कार्यकर्ताले जवस मोर्चाहरुलाई ‘रक्सी पार्ने मर्चा’ जस्तो नबनाउन कटाक्षपूर्ण सुझाव दिए ।

 

सरकारले गरेका राम्रा कामले मात्र जनता सन्तुष्ट हुन नसक्ने भएकोले आफनो एजेण्डा प्रस्टरुपमा तलसम्म लैजानुपर्नेमा धेरैजसो नेता–कार्यकर्ताको जोड थियो । एक कार्यकर्ताले अध्यक्ष प्रचण्डलाई भने– नयाँ पुस्ताको हाम्रो पार्टीमा बन्ध्याकरण गरिएको छ । जनताका एजेण्डाहरु हराइसकेका छन् । यसरी पार्टी बन्दैन, त्यसैले पहिले नेतृत्वले आफूलाई सच्याउन जरुरी छ ।

माओवादी कार्यकताले शान्ति प्रक्रियामा आएर सरकारमा सामेल हुन थालेपछि नेताहरुले ‘लत विगार्न थालेको’ र त्यो तलसम्म फैलिँदै जाँदा पार्टीमा साँस्कृतिक रुपान्तरणको टड्कारो खाँचो रहेको बताए । बैठकमा माओवादी केन्द्रका सचिव तथा प्रदेश इञ्चार्ज हरिबोल गजुरेलले सबैले आफूलाई सच्याउन सके पार्टी कुनै हालतमा नबिग्रने दाबी गरे । पूर्वमा शहर केन्द्रित संघर्षमा पार्टीका गतिविधि बढाउन आवश्यक रहेको उनले अध्यक्षलाई सुझाव दिएका थिए ।

कार्यकर्ताको गुनासो सुनिसकेपछि अध्यक्ष प्रचण्डले पार्टी पहिले जस्तो जुझारु र क्रियाशील नभएको स्वीकार गर्दै त्यसको जिम्मेवारी पहिले आफूले लिने र अरुले पनि लिनुपर्ने बताए । पहिले एउटा सर्कुलेसन र विज्ञप्तिकै भरमा पार्टी सशक्त परिचालन हुन्थ्यो, तर अहिले त्यो अवस्था छैन, उहाँले भन्नुभयो । 

समाजवादी क्रान्तिको आधार तय भैसकेकोले संघर्षका लागि तयार हुन उहाँले कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । गल्तिबाटै सिक्नुपर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले विचलित नभै एक भएर पार्टी निर्माणमा अगाडि बढ्ने बताउनुभयो । पार्टीभित्र दलाल र विचौलिया हाबी हुँदा विगतको योगदान विस्मृतितिर पुगेकोमा चिन्ता जनाउनुभयो ।

अब आफू बदलिने अठोट गर्दै प्रचण्डले कार्यकर्तालाई विश्वास दिलाउँदै भन्नुभयो– म मुख्य जिम्मेवार हुँ । त्यसैले म आफैँ विद्रोह गर्न तयार भएको हुँ, तपाईंहरु पनि तयार हुनुहोस् । माओवादी पार्टी कहिल्यै पनि एमाले–काँग्रेसको पुच्छर नबनेको र नबन्ने दाबी गर्नुभयो । 

राम्रो काम गरेकै कारण सरकारबाट हटेपनि विजयभावले बाहिर निस्केको तर काँग्रेस–एमाले सरकारमा गएपनि पराजित अवस्थामा रहेको प्रचण्डले सुनाउनुभयो । सरकारको लोभ नगरेकै कारण संसदमा गएर विश्वासको मत लिएको र चोटिलो भाषण गरेर विद्रोहको झण्डा उठाइसकेको भन्दै उहाँले कार्यकर्तालाई आश्वस्त पार्नुभयो । 

प्रचण्डले अब प्रधानमन्त्री नबन्ने घोषणासमेत गर्नुभएको छ । उहाँले पार्टीमा दोस्रो पुस्ताको टिम फर्मेसन गरिसकेपछि आफूले विश्राम लिने बताउनुभयो । मलाई दुनियाँले चिनिसक्यो यसैले अब कुनै लोभलाच छैन तर पार्टीका लागि टिमको सही फर्मेसन गर्ने जिम्मेवारी बाँकी नै छ– प्रचण्डले भन्नुभयो– यो आरोप बोकेर म भाग्दिन र पार्टीलाई यत्तिकै छाडदिन, जिम्मेवारी पूरा गरेरै छाडछु ।

टिप्पणीहरू