किन हुन्छ त्रिशुलीमा खसेका यात्रु र सवारी साधन वर्षौैं बेपत्ता ?
चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठित उक्त कार्यदलले २३ दिन लगाएर तयार पारेको प्रतिवेदनमा दुर्घटनामा पाँच वटा कारण औंल्याइएको छ ।
भरतपुर महानगरपालिकाले वडा नम्बर २९, अन्तर्गत सिमलताल–बाँङ्गेसाल–डुम्रेगाउँ सडकखण्डको निर्माणक्रममा समग्र वातावरणीय पक्षमा ध्यान नदिइएको उल्लेख छ । त्यस्तै, सडक डिभिजन भरतपुरले डेब्रिज सफा गर्दा सडकको माथिल्लो साइडतर्फ थुप्रिएको डेब्रिज बगेर सडकतिरै आउन सक्ने कुरामा ध्यान दिएर त्यहाँ रहेको कल्भर्ट तथा क्याचसिट नियमित रुपमा सफा नगरेको पनि उल्लेख छ ।
कार्यदलले सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकास नभएकाले सडकको अवस्थाबारे सवारी चालकले पूर्वानुमान गर्न नसक्नु र सुरक्षाकर्मीले समेत सवारी रोक्न आवश्यक नठान्नु पनि दुर्घटनाको कारण रहेको बताएको छ । ‘सडक सुरक्षाका दृष्टिले निकै जोखिमपूर्ण मानिएको उक्त सडकखण्डमा ठूलो वर्षा भइरहेको र रातको समयमा सवारी चलाउँदा ‘सेफ्टी फस्ट’ भन्ने मूल कुरामा अत्यन्त सावधानीपूर्वक सवारी हाँक्नुपर्नेमा सो हुन सकेको पाइएन,’ प्रतिवेदनमा उल्लेख छ ।
पीडित परिवारलाई राहत सिफारिस
सिमलतालमा लेदोसहितको पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशुलीमा बेपत्ता भएको झण्डै एक महिना बितेको छ । असार २८ गते बिहान पहिरो जाँदा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरका लागि छुटेको बा. ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशुली नदीमा खसेको थियो ।
यात्रु चलान (टिकट काउण्टर) र सम्पर्कमा आएका आफन्तले दिएको विवरणका आधारमा एन्जल डिलक्समा २६ र गणपति डिलक्समा ३६ गरी दुवै बसमा ६२ जना यात्रु थिए । बसमा सवार तीन जना भने हाम्फालेर जोगिएका हुन् ।
गणपति डिलक्समा सवार नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हाम्फालेर बाँच्न सफल भएका थिए । नदीमा खोजतलासको क्रममा २४ जनाको शव फेला परेको छ । तीमध्ये १९ जनाको सनाखत भएको छ तर वटा बस र कम्तीमा ४० जना यात्रु अझै बेपत्ता छन् ।
उनीहरुको खोजतलासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको छुट्टाछुट्टै टोली अहिले पनि जुटिरहेका छन् । घटना भएको २८ दिन बितिसक्दा समेत बस र यात्रु फेला परेका छैनन् । यता, कार्यदलले दुर्घटनामा बेपत्ता भएका यात्रुका परिवारलाई राहत उपलब्ध गराउन सिफारिस गरेको छ ।
विपद् पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड, २०७७ को व्यवस्थाबमोजिम दुर्घटनामा बेपत्ता भएका तथा ज्यान गुमाएका यात्रुका परिवारलाई परिवारको एक जना सदस्यको मृत्यु भएमा दुई लाख र सोही परिवारका अन्य व्यक्तिको पनि मृत्यु भएमा थप एक लाख रुपैयाँका लागि राहत रकम उपलब्ध गराउन भनिएको छ ।
किन भेटिएन होला बस ?
त्रिशुलीमा बगेका दुई वटा बस र यात्रु खोजीका लागि सरकारले भारतसँग समेत सहयोग लिइसकेको छ । भारतीय प्राविधिक तथा गोताखोरहरुले एक सातासम्म पनि बसको केही संकेत पत्ता लगाएनन् ।
भारतीय विपद् व्यवस्थापन प्राधिकरणका कुनाल तिवारीको कमाण्डमा साउन ५ गते चार जना गोताखोरसहित १२ जनाको टोली त्रिशुलीमा बेपत्ता भएको बस र यात्रु खोज्न आएको थियो ।
एक हप्ताका लागि आएको उक्त टोली पनि निराश भएर गत साउन १३ गते स्वदेश फर्किएको हो । टोलीले दुई वटा ठूला चुम्बक नदीमा खसालेर बसको खोजी गरेकोमा १९ किलोको चुम्बक त्रिशुलीले बगाएपछि हराएको थियो । तर चुम्बक भने भेटिएको छ ।
बेपत्ताका आफन्तहरु आश मारेर आ–आफ्नो घर फर्किसकेका छन् । गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराई आधुनिक उपकरण, प्रविधि र सुरक्षा निकायको सक्रियताका बाबजुद बस र यात्रु फेला पार्न सफल हुन नसकेको बताउँछन् । उनका अनुसार अहिलेपनि तीन वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना) बाट विभिन्न तरिका अपनाएर खोजी कार्य भइरहेको बताउँछन् । ‘हामीले बेपत्ता बस र यात्रुको खोजीका लागि सक्ने गरेका छौं । आवश्यक उपकरण जुटाएर खोजतलास गर्नेदेखि भारतसँग समेत सहयोग लियौं । तापनि सफल नहुनु निकै दुःखद् छ,’ उनले भने ।
बस नभेटिनुको कारणबारे सुरक्षा निकायसँग समेत छलफल गर्दै आएको जानकारी दिँदै उनले सो क्रममा पानीको बहाव बारम्बार बढिरहनुले खोजतलासमा समस्या भएको जनाए । ‘सुरक्षा निकायसँग छलफल गर्दा उहाँहरुले नदीमा पानीको बहाव बढिरहँदा खोजतलासमा निकै कठिनाई भएको बताउनुभएको छ,’ प्रवक्ता भट्टराईले भने, ‘अर्कोतर्फ नदीको गहिराई धेरै हुनु, पानीले पल्टाउँदा बसको आकार परिवर्तन हुनु, हाई करेन्ट र धमिलो पानीका कारण उपकरणले समेत काम गर्न नसक्नु र उच्च जोखिमका कारण गोताखोरहरु पनि धेरै समय पानीमा बस्नु नसक्नुजस्ता कारण पाइएको छ ।’
अनुमान नै लगाउन सकिएन : सुरक्षाकर्मी
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कुमार न्यौपाने त्रिशुलीमा बगेको बस कहाँ पुग्यो भनेर अनुमान नै लगाउन नसकिएको बताउँछन् । त्रिशुलीको पानी धमिलो र लेदोसहित उच्च बहाब भएकाले प्रविधिले समेत काम गर्न नसकेको उनको ठहर छ ।
पानी धमिलो मात्रै भएको भएपनि ड्रोन क्यामराले पानीमुनि केही तस्बिर दिन सक्थ्यो । तर, लेदो र गेग्य्रानले छेक्दा त्यस्तो तस्बिर समेत लिन सकिएन । अर्कोतर्फ, भिरालो जमिनमा तीव्र गतिमा बगेको पानीमा कुनै पनि उपकरण प्रयोग गर्दा यताउता ठोक्किएर बिग्रनेदेखि विभिन्न समस्या उत्पन्न हुने गरेको प्रवक्ताको भनाई छ ।
बेपत्ता बस र यात्रुको खोजीका लागि आफूहरुले ‘सम्पूर्ण सामथ्र्य’ लगाएपनि सफल हुन नसकेकोमा उनको दुःखसो छ । विगतमा पनि त्रिशुलीमा खसेका केही सवारीसाधन र यात्रुको हालसम्म केही अत्तोपत्तो नरहेको उल्लेख गर्दै यो पटक पनि सोही क्रम दोहोरिनसक्ने आशंका गरे ।
‘त्रिशुलीमा बस खसेको यो पहिलो घटना होइन । विगतमा पनि थुप्रै सवारीसाधन त्रिशुलीमा खसेका थिए । ती गाडी र त्यसमा सवार यात्रुको अहिले पनि केही अत्तोपत्तो छैन,’ प्रवक्ता न्यौपानले भने, ‘यो पटक पनि त्रिशुलीले बगाएको बस र यात्रुप्रतति हामी चिन्तित र अन्यौलमा छौं ।’
खोजी कार्य नरोकिने
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता उपसचिव डा.डिजन भट्टराई बेपत्ता बस र यात्रुको खोजी कार्य नरोकिने बताउँछन् ।
उनले अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका ३० जना गोताखोरसहित झण्डै चार सय सुरक्षाकर्मीबाट बिहानदेखि साँझसम्म बेपत्ता बस र यात्रुको खोजी कार्य हुने गरेको जानकारी दिँदै तत्काल खोजी कार्य नरोकिने समेत बताए ।
‘हामीले खोजी कार्यलाई निरन्तरता दिने निर्णय गरेका छौं । सबैतिरबाट माग भइरहेकोले तत्काल यसलाई स्थगन गरिँदैन,’ प्रवक्ता भट्टराईले भने । उनले त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजीका लागि चीनसँग सहयोग माग्ने कुनै निर्णय नभएको समेत बताए । उनका अनुसार प्राधिकरणले यसबारे अनौपचारिक रुपमा छलफल गरेपनि हालसम्म कुनै पनि औपचारिक निर्णय भने भएको छैन ।
‘भारतीय टोलीले समेत केही गर्न नसकेपछि हामीले बेपत्ता बस र यात्रुको खोजीका लागि चीनसँग पनि सहयोग लिने कि भन्नेबारे छलफल गरेका थियौं । तर, यसबारे कुनै पनि औपचारिक निर्णय भने भएको छैन,’ प्रवक्ता भट्टराईले भने ।
पूर्वगृहमन्त्रीदेखि आठ ठूला सवारी त्रिशुलीमा बेपत्ता
चितवनको नारायणघाट–मुग्लिङ सडकखण्ड संघीय राजधानी काठमाडौं र गण्डकी प्रदेशलाई तराईसँग जोड्ने नेपालको मुख्य सडक हो । नारायणी र त्रिशुली नदीको किनारै किनारमा अवस्थित यो सडकखण्डमा झण्डै आठ वर्ष पहिले दुर्घटनामा परेका मुख्यसचिव एवम् गृहमन्त्री माधव घिमिरेको अवस्था अझै अज्ञात छ ।
२०७३ असोज ९ गते मुस्ताङको कागबेनीबाट फर्कँदै गरेका पूर्वगृहमन्त्री घिमिरेसहित उनकी आमा चैतन्यकुमारी, भाइहरु प्रकाश र मोहन, प्रहरी हवल्दार विष्णु राई, सशस्त्रका सई अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायण काफ्ले सवार बा.९ च १५३१ नम्बरको कार त्रिशुलीमा खसेको थियो ।
दुर्घटनामा परेका घिमिरेकी आमा चैतन्यकुमारीसहित प्रहरी सई राई, अंगरक्षक कार्की र आफन्त काफ्लेको मृत्यु हुँदा पूर्वगृहमन्त्री माधव र उनका भाइहरुको अवस्था अझै अज्ञात छ । त्रिशुलीमा खसेर डुबेका ग्याँस बुलेटदेखि आठ ठूला सवारीहरु आजसम्म फेला परेका छैनन् ।
टिप्पणीहरू