राजदूतावास खोल्न तयार होला त ओमान ?
नेपाल सरकारले काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमान सरकारलाई आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले त्यहाँका उच्च अधिकारीहरूसँग राजधानी मस्कटमा गरेको भेटमा उक्त आग्रह गरेको बताइएको छ ।
सचिव लम्साल नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा भाग लिन मस्कट जानुभएको छ । ओमानमा २१ हजारभन्दा बढी नेपाली कार्यरत छन् ।
त्यहाँस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ । दुवै पक्षले जनस्तरको सम्बन्ध अभिवृद्धि तथा पारस्परिक हित र आर्थिक लाभका अवसरहरूको उपयोग गर्ने सम्बन्धमा पनि सहमति जनाएका छन् ।
सचिव लम्सालले आपसी सहकार्यका नयाँ क्षेत्रहरू पहिचान गर्दै निजी क्षेत्रसँग मिलेर आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा अर्थपूर्ण साझेदारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले ओमानका श्रममन्त्री डा. महमद बिन सइद बिन अली वाओइनसँग पनि शिष्टाचार भेट गर्नुभएको छ । नेपाल र ओमानबीच सन् २०१७ मा द्विपक्षीय परामर्श संयन्त्र गठन भएको हो । संयन्त्रको अर्को बैठक काठमाडौँमा आयोजना गर्ने सहमति छ ।
टिप्पणीहरू