अध्यक्ष ढकालद्वारा बिमस्टेक पूर्वाधार विकास कोष स्थापनाको प्रस्ताव

अध्यक्ष ढकालद्वारा बिमस्टेक पूर्वाधार विकास कोष स्थापनाको प्रस्ताव

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापनाको प्रस्ताव राखेका छन् । भारतको राजधानी नयाँदिल्लीमा आयोजित ‘बिमस्टेक बिजनेट समिट २०२४’ मा धारणा राख्दै उनले उक्त प्रस्ताव गरेका हुन् । 

अध्यक्ष ढकालले सदस्य राष्ट्रहरुमा व्यापार सहजीकरण प्रवद्र्धन गर्न र सीमापार सम्बन्धसहितको आवश्यक पूर्वाधार विकासका लागि स्रोतसाधन उपलब्ध गराउन क्षेत्रीय पूर्वाधार कोष आवश्यक रहेको बताए । 

बिमस्टेक क्षेत्रका सबै सदस्य राष्ट्रको विकासपछि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज थप बलियो हुने र अन्तर्राष्ट्रिय बैठकमा थप अधिकारका साथ सामूहिक रुपमा सम्झौता गर्न सकिने उनको भनाइ छ । ‘यही कारण बिमस्टेक सदस्य राष्ट्रहरुबीच थप एकीकृत सञ्जालको विकास गर्न बिमस्टेक पूर्वाधार विकास कोष आवश्यक छ,’ अध्यक्ष ढकालले भने । 

उनले नेपालको पूर्व–पश्चिम राजमार्गलाई भारत र बंगलादेशसँग जोडेर र म्यानमार र भारतलाई पनि सडक सञ्जालसँग जोडेर क्षेत्रीय सञ्जालका लागि उपयोग गर्न सकिने धारणा राखे । नेपालजस्ता भूपरिवेष्ठित मुलुकका लागि विद्यमान विमानस्थलको सहज सञ्चालन आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले बिमस्टेकका सबै सदस्य राष्ट्रलाई क्षेत्रीय हवाई सम्पर्क अभिवृद्धि विषयमा छलफल गर्न पनि आग्रह गरेका छन् । 

समिटको ‘सेवा क्षेत्रमा सहयोग सुदृढीकरण’ विषयक सत्रमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पर्यटन, स्वास्थ्य, शिक्षा, सूचना प्रविधिलगायतका उद्योगमा बिमस्टेक क्षेत्रका निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।

टिप्पणीहरू