हवाई दुर्घटना पत्ता लगाउन सरकारले अर्को आयोग बनाउने

हवाई दुर्घटना पत्ता लगाउन सरकारले अर्को आयोग बनाउने

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई उड्डयन क्षेत्रको अध्ययनका लागि सरकारले आयोग बनाउन लागेको बताएका छन् ।

एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छलफल गर्न सिंहदरबारमा बसेको संसदीय समितिको बैठकमा उनले सो जानकारी दिएका हुन् । हिजो हेलिकप्टर दुर्घटनामा परी चालक दलका सदस्यसहित ५ जनाको ज्यान गएको थियो । त्यसलगत्तै बसेको क्याबिनेट बैठकले ३ सदस्यीय छानविन आयोग गठन गरेको थियो । 

घटना विशेषको छानविनका लागि सो समिति गठन गरे पनि समग्र हवाई उड्डयनको क्षेत्रमा देखिएको समस्या समाधानका लागि छुट्टै आयोग आवश्यक पर्ने मन्त्री पाण्डेको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओली र क्याबिनेट बैठकले मन्त्रालयलाई सो क्षेत्रको समग्र अध्ययनका लागि आयोग नै गठन गर्न निर्देशन दिएको उनले संसदीय समितिलाई जानकारी गराए । 

‘घटनालगत्तै छानविन समिति बन्यो । मन्त्रिपरिषदमा पनि निकै लामो छलफल भयो । र,हामीले सधैं यस्तो आयोग बनाइरहने,आयोगले प्रतिवेदन दिन या त ढिलाई गर्ने या त दिएपछि पनि त्यसको कार्यान्वयनमा नजाने । यो कारणले हामी झन जटिलतामा फस्दै गयौं',मन्त्री पाण्डेले भने, 'त्यसकारण आज यो आयोग बनेको यही घटना विशेषमा आधारित भएर नै छानविन र निचोड, निष्कर्षमा पुग्नेगरी एउटा अध्ययन गर्नेगरी आयोग बन्छ ।'  

गएराति अबेरसम्म प्रधानमन्त्री ओलीले आफू र मन्त्रालयका सचिवसँग सो विषयमा छलफल गरी समग्र समस्या समाधान हुनेगरी आयोग बनाउन निर्देशन दिएको उनले बताए ।
 

टिप्पणीहरू