पानीमा एमआरपी पालना नगरे कारवाही

पानीमा एमआरपी पालना नगरे कारवाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जार र मिनिरल वाटरको समान मूल्य राख्न पानी उत्पादकहरुलाई निर्देशन दिएको छ । उत्पादकहरुले होटल, रेष्टुरेण्ट र व्यवसायिक फर्मसँग सम्झौता गरेर मनलाग्दी मूल्य राखेको गुनासो आएपछि विभागले यौटै मूल्य कायम गर्न भनेको हो ।  

उही प्रकारको गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक-फरक एमआरपी लगाई बिक्रीका लागि बजारमा पठाउने गरेको पाइएको विभागले जनाएको छ । सो कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ (२) को उपदफा (१) प्रतिकूल रहेको विभागको भनाइ छ । विभागका अनुसार उपत्यकाभित्र बिक्री हुने जारको पानी (२० लिटर) को अधिकतम खुद्रा मूल्य ४७ र बोटल (१ लिटर) को १६ रुपैयाँ तोकिएको छ ।  

‘उपभोक्ता संरक्षण ऐन, २०७५ को परिच्छेद ३ दफा ७ बमोजिम उत्पादकले उत्पादन तथा वितरण गर्ने वस्तु वा सेवाको मूल्य प्रचलित कानुनको अधिनमा रही उत्पादन, संकलन, प्रशोधन तथा वितरणको लागि लाग्ने वास्तविक लागत, कर र आवश्यक मुनाफा राखी अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने कानुनी व्यवस्था भएको सन्दर्भमा विभिन्न पानी उत्पादकहरुले होटल–रेष्टुरेण्ट–व्यवसायिक फर्मसँग सम्झौता गरी उही प्रकारका गुणस्तर, नापतौल, परिमाणको पानीमा फरकफरक एमआरपी लगाई बजारमा पठाउने गरेको पाइएकोले सो कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ (२) को (१) बमोजिम निषेधित कार्यभित्र तोकेको हुँदा उक्त कार्य नगर्न–नगराउन जानकारी गराइन्छ’, जारी विज्ञप्तिमा उल्लेख छ । 

विभागले एमआरपीको व्यवस्था पालना नगरेमा कारबाही गर्ने चेतावनी दिएको छ ।
 

टिप्पणीहरू