युद्ध अन्त्यको माग गर्दै पुल्चोकमा प्रदर्शन
विश्वका विभिन्न मुलुकबीच भइरहेको युद्ध अन्त्यको माग गर्दै मानव अधिकार तथा शान्ति समाज, नेपालले प्रदर्शन गरेको छ । ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयअगाडि आज दिउँसो प्रदर्शनकारीहरु पुगेका हुन् ।
प्रदर्शनमा शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापतिद्वय होमकान्त चौंलागाईं, डा.गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवद्वय रामप्रसाद जोशी र चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्य दिवाकर पुडासैनीलगायत तीन दर्जन बढीको उपस्थिति थियो ।
प्रदर्शनकारीहरुले ‘राष्ट्रसंघ किन लाचार ?’, ‘२९ महिनादेखि जारी रुस–युक्रेन युद्ध, राष्ट्रसंघ कहाँ छ ?’, ‘१० महिनादेखि जारी इजरायल–हमास युद्ध, राष्ट्रसंघ कहाँ छ ?’, ‘रुस–युक्रेन युद्ध अन्त्य गर्न राष्ट्रसंघ किन असफल ?’, ‘मध्यपूर्वमा युद्ध रोक्न राष्ट्रसंघ किन असफल ?’, लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।
उनीहरुले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई बुझाएको ज्ञापनपत्र नेपालस्थित राष्ट्र संघका अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
तस्बिरहरु
टिप्पणीहरू