विदेशको लडाइँमा मारिएका नेपालीको अस्तु बाग्मतीमा
रुस–युक्रेन युद्दमा मारिएका पाँच जना नेपालीको अस्तु पशुपतिनाथ आर्यघाटमा विसर्जन गरिएको छ । मृतकका परिवारले आज आर्यघाटस्थित बागमती नदीमा अस्तु विसर्जन गरेका हुन् ।
रुसी सेनामा भर्ना भएका कास्कीका देवन राई, स्याङ्जाका प्रितम कार्की,हरिप्रसाद अर्याल, गणेश श्रेष्ठ र महोत्तरीका अनितकुमार साहको अस्तु विसर्जन गरिएको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले बताइन् ।
उनका अनुसार कन्सुलर सेवा विभागले आज बिहान साढे ११ बजे मृतकको अस्तु परिवारलाई हस्तान्तरण गरेको थियो । ‘आज बिहान हामीलाई कन्सुलर सेवा विभागले अस्तु हस्तान्तरण गर्यो । हामीले सामूहिक रुपमा अस्तु सेलायौं । अस्तु सेलाएर मृतकका परिवार फर्किसक्नुभएको छ’,उनले भनिन् ।
टिप्पणीहरू