उता विद्युतले पोका बुझाउँदा यता थमौती

उता विद्युतले पोका बुझाउँदा यता थमौती

नेपाल विद्युत प्राधिकरणले ६० हजार पेज विद्युत प्रयोगको टाइम्स अफ डे (टिओडी) विवरण सार्वजनिक लेखा समितिलाई बुझाएको छ । समिति बैठकले यसअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नाफा देखाउनका लागि नक्कली बिल बनाएर उद्योगीहरुबाट रकम असुल्न खोजेको आरोप लगाउँदै टिओडी विवरण पेश गर्न निर्देशन दिएको थियो । सोहीअनुसार आज २०७१ देखि २०७६ सालसम्म विभिन्न उद्योगले प्रयोग गरेको विद्युत विवरण समितिको सचिवालयमा बुझाइएको हो । 

उपकार्यकारी निर्देशक मनोज सिलवालले विवरण फाइल गरिएको ३७ वटा पोका दुई वटा गाडीमा राखेर बुझाएका हुन् । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जनआस्थासँग भने, ‘उपकार्यकारी निर्देशकज्यूले दुई वटा गाडीमा लिएर बुझाउन जानुभएको छ, २९ वटा पोका छन्, करिब ६० हजारजति पेज होला ।’

केही दिनअघि लेखा समितिले डेडिकेटेड ट्रंकलाइन विवादमा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङमाथि छानबिन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको विषय सार्वजनिक भएपछि सभापति ऋषिकेश पोखरलेको चौतर्फी आलोचना भैरहेको छ । यस विषयमा प्रवक्ता घोषले प्राधिकरणलाई राजनीति गर्न नआउने बताए ।

उनका अनुसार प्राधिकरणको काम विद्युत दिने,प्रयोग गरेवापतको रकम उठाउने र त्यसलाई फेरि लगानी गर्ने हो । तर अहिले केही उद्योगीलाई लाभ पुर्याउन प्राधिकरणमाथि राजनीति गरिएको प्रवक्ता घोषको तर्क छ । भन्छन्, ‘म प्रवक्ता भएको हिसाबले बोल्न मिल्छ वा मिल्दैन थाहा छैन,तर अहिले हामीले आफूखुशी बिल बनाएर उद्योगीहरुबाट रकम असुल्न खोजियो भन्ने जुन हल्ला भैरा"छ,त्यो गलत हो । रकम नतिर्दा कुन उद्योग र कुन नेतालाई लाभ हुन्छ,त्यो हामीलाई थाहा हुँदैन । प्राधिकरणको आफ्नै आचारसंहिता र विनियमावली छ,हामी त्यसैअनुसार चल्ने हो ।’

यसैबीच सरकारद्वारा आइतबार बर्खास्त प्राधिकरणका दुई जना सञ्चालकलाई तत्काल नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले भक्तबहादुर पुन र कपिल आचार्यको रिटमाथि सुनुवाई गर्दै उक्त आदेश दिएको हो ।

टिप्पणीहरू