नेपाल–पाकिस्तान सम्बन्धबारे लैनचौरमा छलफल

नेपाल–पाकिस्तान सम्बन्धबारे लैनचौरमा छलफल

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक एवम् क्षेत्रीय तथा अन्तरर्राष्ट्रिय फोरममा सहयोगलगायतका विषयमा छलफल भएको जनाइएको छ । उपराष्ट्रपतिले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताउनुभयो । 

‘दुई मुलुकबीच स्थापना भएको संयुक्त आर्थिक आयोग र द्विपक्षीय राजनीतिक परामर्श संयन्त्र मार्फत् हामीले सम्पर्क र वार्तालाई निरन्तरता दिन आवश्यक छ ’उहाँले भन्नुभयो, ‘दुई मुलुकबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रो सम्बन्धका सबै पक्षहरूमा सधैँ गतिशीलता र गुणस्तर बढाएको छ ।’ उपराष्ट्रपतिले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्ने विश्वास लिनुभएको छ ।

प्रत्युत्तरमा पाकिस्तानी राजदूतले दुई मुलुकबीचको सुमधुर सम्बन्धबारे चर्चा गर्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउन पाकिस्तान सँधै तयार रहेको जानकारी दिनुभएको छ । दुई मुलुकबीचको सम्बन्ध जनस्तरमा थप प्रगाढ बन्दै गएको उहाँको भनाई छ ।

टिप्पणीहरू