इन्स्पेक्टर प्रीतिलाई सात दिने पुर्जी

इन्स्पेक्टर प्रीतिलाई सात दिने पुर्जी

गृह मन्त्रालयले नेपाल प्रहरीका इन्स्पेक्टर डा.प्रीति मिश्रसँग स्पष्टीकरण सोधेको छ । लामो समयदेखि गैरहाजिर रहेकी उनलाई आज सार्वजनिक सूचना निकालेर गृहले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो । 

महाराजगञ्जस्थित प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई हाल मधेश प्रदेश प्रहरी अस्पतालमा कार्यरत मिश्र गत वैशाख १० गते १५ दिने घर बिदा स्वीकृत गराई बिदामा बसेकी थिइन् । वैशाख २९ गतेदेखि हाजिर हुनुपर्नेमा हालसम्म अनुपस्थित रहेको गृहले जनाएको छ ।

 
‘उक्त मितिदेखि आफूखुशी कोही कसैलाई कुनै जानकारीसमेत नगराई गैरहाजिर रहेको र तपाईँको स्थायी वतनमा खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) नियम ११५ को २ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दासमेत पनि कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ । 

बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर नभए कारबाही प्रक्रिया अघि बढाइने गृह मन्त्रालयको चेतावनी छ । 

‘तपाईँउपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को खण्ड (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारबाही भइजाने हुँदा यसै सूचनाद्धारा सफाईको मौका प्रदान गरिएको जाकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

टिप्पणीहरू