कोब्रा बैठकपछि बेलायत शान्त
पछिल्लो एक सातादेखि अशान्त बेलायत गए रातिदेखि तुलनात्मक रुपमा शान्त देखिएको छ । मुलुकभर फैलिएको आप्रवासी विरोधी दंगा कम भएपछि सडकमा चहलपहलसँगै पेशा, व्यवसाय सुचारु भएको जनाइएको छ ।
दंगाकारीले अस्ति राति एक सयभन्दा बढी स्थानमा प्रदर्शन हुने जनाएपछि बेलायतका विभिन्न स्थानमा थप ६ हजार सुरक्षाकर्मी परिचालन र प्रतिरोधमा जुलुस भएपछि दंगा कम भएको प्राप्त समाचारमा जनाइएको छ ।
तर सरकारले हिजो साँझ बोलाएको कोब्रा बैठकपछि आन्दोलनकारी संयमित भएको बताइन्छ । प्रधानमन्त्री किअर स्टारमरले बैठकपछि ठूलो संख्यामा प्रहरी परिचालन गर्न आदेश दिएका थिए । उनले दंगामा संलग्नहरूलाई ठाउँको ठाउँ कारबाही गर्नुपर्ने बताएपछि दंगाकारी पछि हटेको अनुमान छ ।
बेलायती दक्षिणपन्थी समूहहरु आप्रवासी विशेषगरी मुस्लिम समुदायलाई लक्षित तोडफोड र लुटपाटमा संलग्न हुँदै आएका थिए । जुलाई २९ का दिन उत्तरपश्चिम इंग्ल्याण्डको साउथपोर्टमा १७ वर्षीय युवाले छुरा प्रहार गरेर ६, ७ र ९ बर्षका तीन बालिकाको हत्या गरेपछि हिंसा र दंगा फैलिएको थियो ।
त्यहाँको प्रहरीले हिजो साँझसम्म पाँच सय जनालाई गिरफ्तार गरेको छ । डेढ सय जनालाई दंगा फैलाएको आरोप लगाइएको छ भने १५ जनालाई जेल सजाय तोकिसकिएको छ ।
टिप्पणीहरू