नदी किनार र जंगल छेउमा जोगिएर हिँड्न सिडिओको सुझाव
चितवनमा बाघ आतंक बढेपछि जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन अपिल गरेको छ । सिडिओ कार्यालयले जंगल आसपास क्षेत्रमा बिहान र साँझपख हिँडडुल गर्दा सजग रहन सुझाएको छ ।
केही दिनयता नारायणी नदी किनारलगायत जंगल आसपासका सडक मार्ग र क्षेत्रमा जंगली जनावरका आक्रमणका घटना बढेको जारी सूचनामा उल्लेख छ । ‘यस जिल्लाका नारायणी नदी किनारलगायत जंगल आसपासका सडक मार्ग र क्षेत्रहरुमा जंगली जनावरका आक्रमणका घटनाहरु घट्ने गरेको र सम्भावित आक्रमणका घटनाहरुबाट जोगिनका लागि बिहानी र साँझपख त्यस्ता सम्भावित क्षेत्रहरुमा सावधानी र सतर्कता अपनाई हिँडडुल गर्नका लागि सम्पूर्णमा अनुरोध छ’, कार्यालयको सूचनामा उल्लेख छ ।
गत आइतबार बिहान मर्निङ वाकमा निस्किएका भरतपुर महानगरपालिका–२, बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ नारायणी नदी किनारमा बाघको आक्रमणमा परेका थिए । घटनाको १५ घण्टापछि डिभिजन वन कार्यालयसहित चितवन राष्ट्रिय निकुञ्जको टोलीले बाघ नियन्त्रणमा लिएको हो ।
टिप्पणीहरू