कमरेडका नाम यस्तरी काटकुट

कमरेडका नाम यस्तरी काटकुट
सुन्नुहोस्

अध्यक्ष केपी शर्मा ओलीका अगाडि ‘बा’ भनेर टाउको निहुर्‍याउनेलाई हरतरहले संरक्षण गर्ने तर फरक मत राख्नेहरू धकेलेर किनारामा पुर्‍याइने अवस्था एमालेमा अहिले पनि विद्यमान छ । भनिन्छ, सडकमा ‘आई लभ यु केपी बा’को नारा घन्काउनेहरूले एमालेमा सितिमिती निराश हुनुपर्दैन । कांग्रेसको समर्थनमा चौथोपटक प्रधानमन्त्रीको कुर्सीमा पुग्नुभएका ओलीले मन्त्री नियुक्तिदेखि सचिवालय गठनका क्रममा त्यस्तो संकेत दिइसक्नुभएको छ । 

चट्टानी अडान राख्ने नेताका रूपमा प्रचारित उहाँको स्वभाव नै हो– आफूलाई चित्त बुझेको कुरा गरेरै छाड्ने । इखालु नेता पनि हो उहाँ । ओलीको यस्तो स्वभाव पार्टी सत्ता र राजकीय भूमिकामा नेताहरूको जिम्मेवारी तोक्दा प्रकट हुने गरेको छ । विष्णु रिमाल, डा. युवराज खतिवडा, अञ्जान शाक्यहरू त सदाबहार लाभ उठाउनेमै पर्छन् । अहिले याङ्जोम शेर्पा र अस्गर अलीकोसमेत सिंहदरबारमा रजगज छ । 

ओलीलाई बा भनेर बोलाउने ताप्लेजुङकी याङ्जोम पारिवारिक सदस्यकै हैसियत पाएकी युवती हुन् । उद्ध्घोषण र वकृत्वकलाको सीप भएकी उनी अघिल्लोपटक ओली प्रधानमन्त्री भएका बेला नेपाल ट्रष्टको बोर्ड मेम्बर नियुक्त भएकी थिइन् । अहिले उनलाई कुन हैसियतमा बालुवाटार भित्र्याइएको हो भन्ने खुलेको छैन तर प्रधानमन्त्रीका ‘बा’को रेखदेखदेखि भेटघाटको सबै चाँजोपाँजो उनले नै मिलाउने गरेको बालुवाटार जानेहरू बताउँछन् । शपथ ग्रहणको दिन पनि याङ्जोम मञ्चमा प्रधानमन्त्री ओलीको छेउमा बसेकी थिइन् ।

अस्गर अली आइटी विज्ञका रूपमा सिंहदरबार छिरेका हुन् । अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा त्यही जिम्मेवारी पाएका उनीमाथि सरकारी सूचना ‘लिक’ गरेको आरोप थियो । यद्यपि, त्यसले फरक पारेन, ओलीले उनलाई नै टिपेर सिंहदरबार लैजानुभयो । 

पार्टीमा पनि अध्यक्षको मन जित्न सक्नेहरूले लगालग अवसर पाइरहँदा कतिपय इमान्दार नेता–कार्यकर्ता भने पाखा पारिएका छन् । ओलीविरुद्ध अध्यक्षमा चुनाव लडेकै कारण भीम रावललाई पार्टी छोड्न बाध्य पारिँदैछ ।‘दश भाइ समूह’ भनिने तत्कालीन माधव नेपाल पक्षका नेताहरू त्यस्तै सौतेलो व्यवहारले उकुसमुकुसको अवस्थामा छन् । 

पछिल्लो कार्य विभाजनमा पनि त्यो प्रष्टरूपमा प्रकट भएको देखिन्छ । खासगरी भूगोलको जिम्मेवारी दिनेक्रममा त्यस्तो विभेद गरिएको गुनासो पोख्ने एक नेता भन्छन्– सौराहामा सर्वसम्मत अध्यक्ष हुने चाहना पूरा नभएको तोड अझै देखिन्छ । आगामी महाधिवेशन आफू अनुकूल बनाउने रणनीतिअनुसार अहिले कार्य विभाजनमा सम्भावना भएका नेतालाई जनतामा जानबाट रोक्न खोजेको प्रष्ट बुझिंदैन र !

युवा नेतृत्व विकास गर्ने नाममा पदम गिरी, महेश बर्तौला, सुनिता बरालहरूलाई जिम्मेवारीको भारी थेगिनसक्नु छ । दुई पटक लगातार मन्त्री खाएका गिरी पर्वतको इञ्चार्ज बनाइएका छन् । भर्खर केन्द्रीय सदस्यमा मनोनीत भएका बर्तौला संसदीय दलको प्रमुख सचेतक छन् ।

ओलीले लाए–अह्राएको काम गर्दै आएका उनलाई महत्वपूर्ण वार्ता, अन्तरपार्टी संवादहरूमा खटाउने गरिएको छ । विद्यार्थीको अध्यक्षबाट एकैचोटी समानुपातिक सांसद बनेकी र अहिले संसदीय दलमा सचेतकको जिम्मा पाएकी बरालले झापाको एक निर्वाचन क्षेत्रको इञ्चार्ज पाएकी छन् ।

अध्यक्षले ‘बांगो रूखलाई सिधा हो भने’ त्यसैमा सहमति जनाउँदै थपडी बजाउनेहरूलाई युवाका नाममा जिम्मेवारीमाथि अर्को जिम्मेवारी थपिँदा वैचारिक नेता भनिएका टंक कार्की, गणेश पहाडीहरू भने ‘दूधको झिंगा’झैँ मिल्काइएका छन् । चीनका लागि नेपाली राजदूत भैसकेका कार्कीलाई कुनै पनि जिम्मेवारी छैन ।

दुईचोटी सांसद र मन्त्री भएका पहाडी घटुवामा परेका छन् । यसअघि रामेछापको इञ्चार्ज रहेका उनलाई अहिले सिन्धुली प्रतिनिधिसभा–१ को जिम्मा दिएर तल झारिएको हो । सिन्धुलीमा पूर्वमाओवादी समूहका मनोजजंग थापाले इञ्चार्ज पाएका छन् । 

यता, कम्युनिष्ट आन्दोलनमा लागेर कपाल फुलाएका पाका कमरेडहरूको हालत उस्तै छ । एकपटक योजना आयोगको उपाध्यक्ष बनेका डा. पुष्पराज कँडेल त्यसयता लेखा आयोगको अध्यक्ष छन् । यसपटक कार्यकारी जिम्मेवारी खोजेका उनले अध्यक्षको मन जित्न नसक्दा चौंथोचोटी लेखामै चित्त बुझाउनुपरेको हो । अमृत बोहरा, केशव बडालहरू पनि कार्य विभाजनप्रति सन्तुष्ट छैनन् भनिन्छ । पार्टीमा अलि अराजकता बढ्यो भन्ने गरेका उनीहरूको कुरा ओलीले चित्त नबुझाएका कारण किनारमा पारिएको बताइन्छ ।

प्रदेश अध्यक्षमा पराजित नेताहरूको हकमा पनि यौटै व्यवहार भएन । गण्डकी प्रदेश अध्यक्षमा हारेका मायानाथ अधिकारीलाई अनुशासन आयोगमा ल्याइएको छ । तर, कोशीका विनोद ढकाल र बागमतीका कृष्ण दाहाल भने सल्लाहकार परिषद्मा मनोनीत भएका छन् । एमालेमा अनुशासन आयोगलाई केन्द्रीय कमिटीपछिको कार्यकारी निकाय मानिन्छ । सल्लाहकार परिषद्को भने खास भूमिका हुँदैन ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू