एमालेले अमेरिका मूर्दावाद भन्न सक्छ ?
‘अब एक लाखजति कार्यकर्तालाई काठमाडौँमा नउतारी नहुने देखियो । अमेरिकनले निकै पेल्लान् जस्तो छ । यिनीहरूको कुनै भर छैन । आर्मी, पुलिसले टेर्दैनन्, अदालतको भर छैन । हाम्रो कामगराइ त बेवकुफ पाराको पो भएजस्तो देखियो । कार्यकर्ता उतार्नुपर्ला जस्तो छ अब ।’ हालै सम्पन्न नेकपा एमालेको सचिवालय बैठकमा एमाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्ताव हो, यो ।
बैठकमा सहभागी एक नेताका अनुसार यस्तो प्रस्ताव राखेलगत्तै उनले सार्वजनिक रूपमा परराष्ट्रमन्त्री डा. आरजु राणाको नाम नलिई कुरा राखेका थिए । तर, दोहोरो अर्थ लाग्ने गरी बोल्ने ओलीको सो वाक्यमा महिला शब्द प्रयोग भएका कारण आरजु नभई विद्या भण्डारीलाई प्रधानमन्त्री बनाउने तुरूप फालेको आशंका गर्नेहरू पनि एमालेभित्र भेटिन्छन् ।
त्यसो त राजनीतिका जानकारहरू भन्छन्– केपीले अमेरिकाको मात्रै नाम लिए पनि खासमा अहिले न चीन, न भारत कुनै पनि मुलुक उनीसँग खुशी छैनन् । सबै कुरा ओलीको बोलीले बिग्रेको र चीन उनीसँग सर्वाधिक रुष्ट रहेको बुझाइ जानकारहरूको छ । ओलीलाई नजिकबाट नियालिरहेका एक पर्यवेक्षकले भने– बरु प्रचण्डलाई चीनले फेरि अगाडि सार्ला तर ओलीलाई अहिले नै स्विकार्ने पक्षमा छैन । न त ओलीले आशा देखाएजस्तो गरी विद्या भण्डारीलाई नै भावी प्रधानमन्त्रीका रूपमा समेत सार्ने सम्भावना छ । त्यसैले आरजुको नाम लिएर अमेरिका रिझाउने र विद्या भण्डारीलाई अघि सारेकोझैँ देखाएर चीनलाई समेत मख्ख पार्ने प्रयत्न काम नलाग्ने विश्लेषकहरूको बुझाइ छ ।
एमाले र माओवादीबीचको गठबन्धन तोड्ने व्यक्तिका रूपमा चीनले ओलीलाई बुझेको हुँदा अहिले नै उनका कुनै मीठा वचनमा नफस्ने लगभग पक्का छ । प्रचण्ड पनि चाहिनेभन्दा बढी बाठो हुन खोजेका कारण गठबन्धन भत्केको हो भन्ने बुझाइमा समेत चीन स्पष्ट छ ।
ओलीले एकाएक एक लाख मान्छे काठमाडौँ उतार्ने कुरा कुन सोच र के आधारमा गरे भन्ने प्रश्नसमेत अहिले एमालेका सचिवालय सदस्यहरूबीच छलफलको विषय बनेको छ । उनीहरू आपसमै प्रश्न गर्छन्, ‘यिनलाई यस्तो नचाहिँदो सल्लाह विष्णु रिमालले नै दिन्छन् या अरू पनि कोही छन् ?’ प्रधानमन्त्रीले आर्थिक सल्लाहकारको जिम्मेवारी र मन्त्रीस्तरीय सुविधा दिएर राखेका युवराज खतिवडाले समेत यो कुरामा अचम्म मानिरहेको बताइन्छ ।
स्रोतका अनुसार उनी निकटस्थहरूसँग भन्ने गर्छन्, ‘खै प्रधानमन्त्रीले कसको कुरा सुन्नुहुन्छ कुन्नि ! धेरै त सल्लाह माग्नु र लिनु नै हुन्न, यदि दिइहाल्यो भने पनि उहाँ सबै कुरामा आफै जान्ने हुनुहुन्छ ।’
राजनीतिक विश्लेषकहरू ओलीको मात्र होइन प्रचण्डको समेत पछिल्लो अभिव्यक्तिसँग सहमत छैनन् । प्रचण्डले हालै संसदमा बंगलादेशमा झैँ यहाँ पनि घटना हुन सक्छ भनेको र ओलीले बंगलादेशमा अमेरिकाले शेख हसिनाको सत्ता उल्टाएको हुनाले अहिले नेपालमा पनि उनीहरूसँग डराउनुपर्ने वा सचेत हुनुपर्ने भनी दिएको अभिव्यक्ति तथ्यपरक नभएको उनीहरुको बुझाइ छ । त्यसमाथि उनीहरू प्रश्न गरिरहेका छन्– आफै प्रधानमन्त्री छन्, एक लाख कार्यकर्ता कसको विरुद्ध सडकमा उतार्ने कुरा गरेका हुन् ? के अहिले एमाले कार्यकर्ताले राजधानी शहरका सडकमा अमेरिकी साम्राज्यवाद मूर्दावादको नारा लगाउन सक्ने अवस्था छ ?
बरु अमेरिका नेपाली संस्थापन पक्षसँग चिढिने वा टाढा हुने अवस्थामा नभई के कसरी यहाँको सत्तासँग नजिक बन्न सकिन्छ भन्ने ध्याउन्नमा लागेको अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिका जानकारहरू बताउँछन् । ओलीले भनेझैँ अमेरिका उनी नेतृत्वको सरकारलाई असहयोग गर्ने भन्दा पनि के कसरी हुन्छ सम्बन्धलाई प्रगाढ बनाउने गरी अघि बढिरहेको छ । अमेरिकी राजदूतसँग नियमित भेटघाट र छलफल गर्ने एक विश्लेषकका अनुसार अनौपचारिक भेटहरूमा समेत राजदूतले सम्बन्धलाई घनिभूत बनाउने पाटा पक्षहरू खोज्ने गरेका छन् ।
अमेरिकी दूतावासले पहिलेझैँ नचाहिएका कुरामा प्रतिक्रिया दिने, स–साना कुरामा पनि चासो देखाउने वा प्रत्यक्ष अप्रत्यक्ष रूपमा संस्थापन पक्षलाई दबाब दिने काम गरिरहेको छैन । नेपालका राजनीतिक दलहरू र आम नागरिकमा समेत अमेरिका खराब मुलुक होइन भन्ने छवि स्थापित गर्ने दिशामा उनीहरू लागिरहेको ठम्याई विश्लेषकहरूको छ । त्यसैले आम अनुमान गरिएझैँ अमेरिकीले एसपीपी, इण्डो प्यासिफिक स्ट्राटेजी वा भुटानी शरणार्थी कुनै पनि विषयमा नेपाल सरकारसँग अत्तो थाप्ने काम तत्काल गर्ने देखिंदैन ।
शीर्ष नेतृत्व त्यसमाथि प्रधानमन्त्री स्वयं संयमित बन्नुपर्ने बेला उनी नै उत्तेजना फैलाउने दिशामा लागेको समेत धेरैको बुझाइ छ । जानकारहरू भन्छन्– यस्तो बेला प्रधानमन्त्री तथा प्रमुख दलका शीर्ष नेताहरूले जहाँ आफूविरुद्ध नारा लाग्ने सम्भावना छ त्यस्ता स्थानहरूमा जानु हुँदैन । तर, उल्टै मूर्दावादका नारा लागिरहेका बेला आम मानिसहरूलाई होच्याउने, जिस्क्याउने काम भैरहेको छ । त्यतिले नपुगेर सामाजिक सञ्जालमा नेतालाई लक्ष्यित गर्दै केही लेख्यो भनेकै भरमा थुन्ने कामसमेत भइरहेको छ । यस्तो संवेदनशील अवस्थामा राज्य दमनमा उत्रियो भने त्यसले तुरुन्तै आवेगयुक्त उत्तेजना फैलाउने र विद्रोहको लागि वातावरण निर्माण गर्न सक्ने राजनीतिशास्त्रीहरू बताउँछन् ।
यो संवेदनशीलतालाई बुझ्नेहरू भन्ने गर्छन्– यदि अहिलेको अवस्थामा एकाध मानिस हताहत हुने हो भने स्थिति थेग्न नसक्ने बन्न सक्छ । अहिले बंगलादेशचाहिँ हुने भन्दै शीर्ष नेताहरूले गरेको आकलन तब सत्यमा परिणत हुन कुनै बेर लाग्दैन । खासमा कुनबेला के गर्नुपर्छ र कुन बेला के गर्नु हुँदैन भन्ने ज्ञान हाम्रा पाका शीर्ष नेतामा किन नआएको होला भन्ने प्रश्न अहं बनेको छ ।
टुँडिखेलमा मूर्दावादको नारा लाग्दैछ भन्ने जानकारी हुँदाहुँदै त्यहाँ गएर किन त्यस प्रकारको अभिव्यक्ति दिएका होलान् ? यो प्रश्न पूर्वसूचना दिने गुप्तचरका मान्छेहरूले नै गरिरहेको पाइन्छ ।
टिप्पणीहरू