पुँजी बजार : उकालो लागे आशंका, ओरालोमा झन् चिन्ता

पुँजी बजार : उकालो लागे आशंका, ओरालोमा झन् चिन्ता

पछिल्लो एक महिनामा सेयर बजार रफ्तारले बढेको छ । नेकपा एमाले र नेपाली काँग्रेससहितको गठबन्धन सरकार गठनसँगै अर्थमन्त्रीमा विष्णु पौडेलको इन्ट्रीपछि सेयरमा नयाँ कीर्तिमान कायम भएको छ । झण्डै तीन वर्षको गिरावटपछि सेयर बजार उकालो यात्रातर्फ लम्केको हो ।

१८ सयको बिन्दुमा झरिसकेको नेप्से परिसूचक केही समयमै २९ सयमाथि अंकमा उक्लियो । गत सोमबार हालसम्मकै उच्च २७ अर्बबढी रुपैयाँको कारोबार भयो । तर, पुँजी बजारको पछिल्लो उकालो यात्राप्रति अर्थविद्, विज्ञहरुले नै आशंका व्यक्त गरिरहेका छन् ।

अर्थतन्त्रमा छाएको चरम निराशा, बैंक तथा वित्तिय संस्थामा बढ्दो निष्क्रिय कर्जासँगै व्यापार व्यवसाय ठप्प हुँदा समेत सेयर बजारमा आएको चमकले चारैतिर शंका उत्पन्न गरेको छ । सेयर बजारको निरन्तरको उकालो यात्रालाई लिएर सदनमा समेत आवाज उठिसकेको छ ।

कतिपय सांसदले निकै खुकुलो मौद्रिक नीतिका कारण पनि बजारमा उत्साह बढेको बताएका छन् भने अधिकांशले सेयरको बढ्दो मूल्यप्रति आशंका व्यक्त गरेका छन् ।

सत्तारुढ दलकै आशंका

सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर बजारको बढ्दो बजारलाई सहज रुपमा लिन नसकिने बताएका छन् । साउन १८ गते संघीय संसद प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा उनले टाठाबाठाले नक्कली आधार खडा गरेर स्ट्रेन्थ नै नभएको कम्पनीको सेयर बढाएको भन्दै सर्वसाधारण फस्ने आशंका गरे।

‘सेयर बजार निरन्तर माथि उठेर २७ सय पुगेको अवस्था छ । तर, मलाई के लाग्छ भने हामी यसमा सजग हुन जरुरी छ । किनकि जति पनि लिस्टेड कम्पनीहरु छन् । त्यो कम्पनीको स्ट्रेन्थअनुसार अनुसार मूल्य बढेको छैन,’ पूर्वअर्थमन्त्री महतले भने, ‘यसको मतलब के हुन्छ भने पछिल्लो समयमा त्यो बढेको बढ्यै गर्छ भनेर लगानी गर्ने आम लगानीकर्ताको पुँजी फस्ने खतरा बढेर जान्छ ।’

नयाँ सरकार गठन र मौद्रिक नीतिका कारण बजारमा केही उत्साह आउनु स्वाभाविक भएपनि त्यसले दोब्बर वृद्धि हुनु सन्तोषजनक नभएको टिप्पणी गर्दै उनले सेयर बजारमा भएको अस्वाभाविक वृद्धिप्रति सचेत रहन समेत नियामक निकायको ध्यानाकर्षण गराएका थिए ।

मूल्य अकासिएका कम्पनीमाथि छानबिनको माग

सेयर बजार निरन्तर उकालो गतिमा लागेपछि प्रतिनिधिसभा बैठकमा समेत यसबारे चर्चा भएको छ । केही दिनअघि सदनमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ब्रोकर र केही लगानीकर्ताको मिलेमतोमा सेयरको मूल्य अकासिएको भन्दै चार वटा कम्पनीको नामै किटेर छानबिनको माग गरे ।

उनले नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट कम्पनीको सेयर मूल्य अस्वाभाविक रुपमा बढेकाले छानबिन माग गरेका थिए ।

‘कृत्रिम बजार बनाएर आम जनतालाई ठग्ने काम भइरहेको छ, त्यस्ता कारोबारीलाई कारबाहीको लागि छानबिन समिति बनाउन ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले संसदमा भनेका थिए । सांसद सिंहले सेयर बजारलाई सहकारीसँँग समेत तुलना गर्दै सरकारले नियमन नगरेकै कारण सहकारीका बचतकर्ताले ठूलो रकम गुमाउनुपरेको र सेयर बजारमा समेत धेरै लगानीकर्ताको रकम डुब्ने खतरा बढेको बताएका थिए ।

संसदीय समितिमा पनि सेयरकै चर्चा

गत बिहीबार बसेको प्रतिनिधिसभाको अर्थसमिति बैठकमा पनि सेयर बजारबारे व्यापक छलफल भयो । बैठकमा सहभागी सांसदहरुले सेयर बजारको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

सो क्रममा पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्र बैंकको खुकुलो मौद्रिक नीतिका कारण बजार बढेको उल्लेख गर्दै पहिले नै सुधारका नीति लिनुपर्नेमा गर्भनरले रोकेको आरोप लगाए । एमाले सांसद सूर्यबहादुर थापाले भने बजारमा देखिएको ठूलो आरोह अवरोहबारे चर्चा गर्दै कसैको अभिव्यक्तिले सेयर बजार घट्न र बढ्न नहुने धारणा राखेका थिए ।

‘सेयर बजार अस्वाभाविक रुपमा बढ्यो, अनुसन्धान गर्नुपर्छ भनेर केही माननीय सदस्यले छानबिनको माग गरेपछि साउन २१ गते नेप्से परिसूचक १४५ अंकले घट्यो । तर, भोलिपल्ट १०५ अंकले बढ्यो । रातारात यति अस्थिर कसरी भयो ?,’ उनको प्रश्न थियो, ‘साँच्चै कुनै गैरकानूनी काम गरेर बजार घटाउने र बढाउने गराउन सकिन्छ कि सकिँदैन ?’

यस्तै, बैठकमा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले कमजोर कम्पनीको समेत सेयर मूल्य कसरी अकासियो ? भन्दै प्रश्न गरेका थिए । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले सेयरको मूल्य अप्रत्याशित रुपमा बढ्नु र घट्नुको कारण पत्ता लगाउनुपर्ने माग गरिन् ।अर्का एक सांसदले सीमित व्यक्ति र कम्पनीको हातमा सेयर बजार रहेको भन्दै लाखौं लाख सर्वसाधारणको लगानी डुब्ने जोखिम बढेको बताए । बैठकमा धितोपत्र बोर्डको तर्फबाट बिफ्रिङ गर्दै कार्यवाहक अध्यक्ष महेश बरालले सेयरको मूल्य कम्पनीको वित्तिय कारोबार र प्रतिफलमा हुने भएपनि पछिल्लो समय हल्लाले बजार मूल्य निर्धारण भइरहेको बताएका थिए ।

‘देशका सबै क्षेत्रमा पुँजी बजारसम्बन्धी ज्ञान, अनुभव र शिक्षा पुर्याउन सकिएको छ । यही कारणले केही टाठाबाठा खेलाडीले चलखेल गर्दा बजारले उग्र रुप लिने गरेको छ,’ उनले भनेका थिए, ‘बोर्डले पूँजी बजारसम्बन्धी सूचना तथा जानकारीहरु सार्वजनिक गरिरहेको हुन्छ । तर, मिडियाको समाचार र बजार हल्ला पछि लाग्दा लगानीकर्ता डुब्ने गरेका छन् ।  कम्पनीको वास्तविक वित्तिय स्थित हेरेर मात्र लगानी गर्नुपर्छ ।’

सेयर बजार जुवा घरः दुर्गा प्रसाई

अहिले जताततै सेयर बजारबारे चर्चा चलिरहँदा विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले पनि मुख खोलेका छन् । उनले सेयर बजार जुवा घर रहेको भन्दै साना लगानीकर्ताको लगानी कहिल्यै सुरक्षित नहुने बताएका छन् । ‘सेयर बजारमा साना लगानीकर्ताको लगानी कहिल्यै पनि सुरक्षित हुँदैन । यो एक किसिमको जुवा घर हो । जुन जुवाघरमा जित्ने जहिले पनि जुवा खेलाउने हुन्छन् । जुवा खेलाउनेमा सेयर बजारमा सीमित तस्कर मारवाडी, सरकार, मिडिया, सीमित सेर बजारमा स्व.कथित अभियान्ता हुन्छन् । बाँकी सबै लाखौं लाख जनता बजारमा घप्पु दाउ हन्न बसेका हुन् । उनीहरुको भागमा एक पटक एक्का पर्यो भने तीन पटक दुक्का पर्छ,’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

सेयरमा राजनीतिक प्रभाव

कुनै पनि कम्पनीको पुँजीको विभाजित इकाइको दस्तावेज सेयर हो । कुनै कम्पनीमा कुनै व्यक्तिको सेयर हुनुको अर्थ सो कम्पनीमा उक्त व्यक्तिको पनि हक छ भन्ने बुझिन्छ ।

नेपालमा ६० लाखबढी सर्वसाधारणले सेयरमा लगानी गरेका छन् । सेयरको मूल्य सम्बन्धित कम्पनीको वित्तिय कार्यसम्पादन र मुनाफामा निर्धारण हुने भएपनि हाम्रोमा राजनीतिक प्रभाव रहेको देखिएको छ । सन् २०२० मा विश्वभर कोभिड–१९ भाइरसका कारण आर्थिक मन्दी हुँदा नेपालमा भने सेयरको मूल्य एकाएक बढेको थियो । त्यतिखेर पनि विष्णु पौडेल नै अर्थमन्त्री थिए ।

पौडेल अर्थमन्त्रीबाट हटेसँगै जनार्दन शर्माको कार्यकालमा २०७८ भदौै २ गते नेप्से परिसूचक हालसम्मै उच्च बिन्दु (तीन हजार एक सय ९९ रुपैयाँ) मा पुगेको थियो । तर, त्यसयता बजार घटेर १८ सयको बिन्दुमा झर्यो ।

गत असार १७ गते राति नेकपा एमाले र नेपाली काँग्रेसबीच सत्ता सहकार्यका लागि सहमति भयो । त्यसपछि एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री हुने चर्चासँगै सेयर बजार बढ्न थाल्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा असार ३१ गते गठन भएको क्याबिनेटमा विष्णु पौडेल अर्थमन्त्री बने । उनले शपथ ग्रहण गरेर कार्यभार सम्हालेको दिन सेयर बजार घट्यो । तर, भोलिपल्ट ७० अंकले बढेको बजार त्यसयता साँढेजस्तो उफ्रिएको छ ।

यता, नेपाल राष्ट्र बैंकले गत साउन ११ गते ल्याएको चालु आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीतिमार्फत सेयर धितो राखेर दिने कर्जामा संस्थागततर्फ २० करोड रुपैयाँको सीमा खारेज गरिएको छ । मार्जिन ट्रेङिड सहज र व्यवस्थित हुन नसकेको भन्दै बैंकले संस्थागततर्फको कर्जा सीमा खारेज गरेको जनाएको छ । यद्यपि, व्यक्तिगततर्फ १२ करोड रुपैयाँको सीमा भने यथावत् राखेको छ ।

अर्थशास्त्री केशव आचार्य राष्ट्र बैंकको खुकुलो नीति र नयाँ सरकार गठनका कारण सेयर बजारमा केही उत्साह आउनु स्वाभाविक भएपनि अप्रत्याशित रुपले बढ्नुले लगानीकर्ताको रकम डुब्ने जोखिम बढेको बताउँछन् । उनले भने, ‘अहिले जुन अनुपातले बजार बढेको छ, त्यसले साना लगानीकर्ताको रकम डुब्ने जोखिम एकदमै बढेको छ ।’ कम्पनीको वित्तिय अवस्थामा परिवर्तन नआउँदै सेयरको मूल्य एक्कासी बढेको भन्दै उनले नियामक निकायले बजार बढ्नुको कारण खोजतलास गर्नुपर्ने बताए ।

‘बजार बढ्नु राम्रो हो । तर, अहिले जसरी बढेको छ, त्यसलाई स्वभाविक लिन सकिँदैन । सेयरको मूल्य कम्पनीहरुको समग्र वित्तिय अवस्था र मुनाफाले तय गर्ने भएपनि अहिले त्योसँग मेल खाएको पाइँदैन । कम्पनी घाटामा हुँदाहुँदै पनि उसको सेयरको मूल्य भने ह्वात्तै बढेको छ,’ आचार्यले भने, ‘यसले सर्वसाधारणको लगानी डुब्ने देखिन्छ । त्यसैले, के–कसरी त्यस्ता कम्पनीको सेयरको मूल्य बढ्यो भनेर अर्थ मन्त्रालय, नेप्से र धितोपत्र बोर्डले छानबिन गर्नुपर्छ ।’

सेयर बजारको पछिल्लो उकालो यात्रालाई लिएर विश्लेषकहरुले नै सोचविचार गरेर मात्र लगानी गर्न आग्रह गरिरहेको बताउँदै उनले सीमित व्यक्ति तथा कम्पनीहरुले ह्वात्तै मूल्य बढाएर सर्वसाधारणलाई बेबकुफ बनाउन लागिरहेको बताए । ‘तीन वर्षसम्म नबढेको सेयर बजार एकाएक कसरी बढ्यो ? यो सम्बन्धित निकायले खोजतलास गर्नुपर्छ,’ आचार्यले भने ।

टिप्पणीहरू