कोकिन तस्करहरुको रोजाइमा काठमाडौं, भारतीय र विदेशी धेरै

कोकिन तस्करहरुको रोजाइमा काठमाडौं, भारतीय र विदेशी धेरै
सुन्नुहोस्

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीले सोमबार काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटलबाट तान्जानियाका नागरिक जुमा अबदुल्ला मजीलाई पक्राउ गर्यो । कोठा खानतलास गर्दा प्रहरीले झोलाभित्र लुकाएर राखिएको ८० वटा कोकिनका क्याप्सुलहरु बरामद गरेको बताइन्छ ।  

कोकिनका ती क्याप्सुल भारत लैजान लागेकी भारतीय नागरिक के जुचोबेनी टेससोपेई पनि सोही क्रममा प्रहरी नियन्त्रणमा पुगेकी हुन् । प्रहरीका अनुसार बरामद एक केजी १०४ ग्राम कोकिनको अन्दाजी मूल्य तीन करोड ८७ लाख पर्छ । 

उनीहरुउपर लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ । यसअघि गत साउन २४ गते कतार एअर–वेको उडानद्वारा काठमाडौं आएका लात्भियन नागरिक इभार्स भाल्टर्स ६ केजी कोकिनसहित पक्राउ परेका थिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सामान चेकजाँच गर्ने क्रममा उनले बोकेको ह्याण्ड क्यारी सुटकेसभित्र प्रहरीले २१ करोड बढीको ६ केजी २४ ग्राम कोकिन फेला पारेको थियो । 

भारतका फहिमुद्दिन नासिमुद्दिन गत साउन १ गते इण्डिगो एअरलाइन्सबाट मुम्बई हुँदै काठमाडौं आइपुगे । ठमेलस्थित एक होटलमा बास बसेका उनी पनि कोकिनसहित समातिए । नासिमुद्दिनले उक्त कोकिन नाइजेरियन नागरिक इकेचुकवा सिरिल ओबोडोइफुलाबाट रिसिभ गरेको बताएपछि उनी पनि सोही दिन काठमाडौं–९, पिङगलास्थानबाट प्रहरी नियन्त्रणमा पुगे । 

साउन १ गते नै कतार एआरलाइन्सबाट काठमाडौं आएका उनले ज्याकेटमा फल्स बटम बनाएर दोहादेखि उक्त कोकिन ल्याएको प्रहरी सोधपुछका क्रममा खुलेको थियो । उनीहरुको साथबाट प्रहरीले झण्डै चार करोड बराबरको एक किलो एक सय ग्राम कोकिन बरामद गर्यो । 

यसअघि गत असार ९ गते कतार एअरवेजको उडानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका ताञ्जानियन नागरिक रमाधानी सिम्बा र तलिब किपेभु पसुवाले कोकिनका ७२ वटा क्याप्सुल निलेर ल्याएको पाइएको थियो । 

ठमेलस्थित एक होटलबाट प्रहरी नियन्त्रणमा पुगेका यी दुईबाट प्रहरीले चार करोड ३७ लाख रुपैयाँ बराबरको एक केजी २४७ ग्राम कोकिन बरामद गरेको थियो । पछिल्लो समय विभिन्न मुलुकबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिक किलोका किलो लागूऔषध कोकिनसहित पक्राउ पर्ने क्रम बढ्दो छ । 

त्यसमध्ये यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । जसले नेपाल लागूऔषधको ट्रान्जिट बन्दै गएको समेत पुष्टि गर्छ । अन्तर्राष्ट्रिय लागूऔषध गिरोहका विदेशी नागरिकहरुले नेपाल ट्रान्जिट भएर विभिन्न देशमा कोकिन पुर्याउने गरेको प्रहरी अधिकृतहरु बताउँछन् । उनीहरुका अनुसार नेपालमा प्रायजसो दक्षिण अमेरिकी मुलुकबाट अफ्रिका हुँदै कोकिन भित्रिने गरेको छ । 

कोकिन ओसारपसार : पेटदेखि बदमसम्म

गत साउन २४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ केजी कोकिनसहित समातिएका  लात्भियन नागरिक इभार्स भाल्टर्सले शुटकेशमा बच्चाका खेलौनाभित्र प्याक गरेर उक्त कोकिन ल्याएको पाइएको थियो ।
 
त्यसअघि असार ३० गते ठमेलको एक होटलबाट बरामद भएको ५ केजी ८२० ग्राम कोकिन स्कुल ब्यागमा ‘फल्स बटम’ बनाएर ल्याइएको पाइएको थियो । उक्त कोकिनसहित मलेसियन महिला बाथुमलाई भाडीभालु समातिएकी थिइन् । 

गत वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगाण्डाकी केभिना मुगालाले ९० वटा कोकिनका क्याप्सुल निलेर ल्याएको खुल्यो । एचआईभी संक्रमित समेत रहेकी उनले झण्डै डेढ किलो कोकिन सेतो प्लास्टिकले प्यापिङ गरी निलेकोमा उपचार गरी पेटभित्रबाट निकालिएको थियो । 

उक्त घटनाको केही दिनमै ठमेलस्थित एक होटलमा शंकास्पद रुपमा बसिरहेका युगाण्डाका लिलियन सुशान वानयेन्जेको कोठा खानतलासी गर्दा प्रहरीले शुटकेशभित्र चकलेटको खोलमा लुकाएर ल्याएको एक केजी ३९४ ग्राम कोकिन बरामद गर्यो । 

टाँकको रुपमा कोकिन तस्करी गर्न लाग्दा दक्षिण अमेरिकी मुलुक बोलिभियाकी कु्रज टिकोना लौरा गत जेठ ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परिन् । उनले लगाएको र लगेजमा हालिएका कपडामा कोकिन रहेको दुई हजार वटा टाँक बरामद गरिएको थियो । 

अहिले विदेशी तस्करहरुले अनेक तरिका अपनाएर नेपालमा कोकिन भित्र्याउने, ओसारपसार तथा तस्करी गर्ने गरेको पाइएको छ । तस्करहरुले क्याप्सुल आकार बनाएर निल्ने र गन्तव्यमा पुगेपछि दिसामार्फत समेत कोकिन निकाल्ने तरिका पनि अपनाउँदै आएका छन् ।

भन्सार जाँचपासमाथि गम्भिर प्रश्न

कोकिनसहित धमाधम अन्तर्राष्ट्रिय तस्करहरु नेपालमा पक्राउ पर्न थालेसँगै अहिले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको सुरक्षामाथि नै प्रश्न खडा गरिदिएको छ । अन्तर्राष्ट्रिय तस्करहरुले अनेक तरिका अपनाई किलोका किलो कोकिन बोकेर सजिलै विमानस्थल पार गर्दा भन्सार जाँचपासमाथि नै गम्भीर प्रश्न उठेको छ । 

आखिर भन्सार जाँचबाट कसरी बाहिरिन्छ कोकिन ? त्यस्ता तस्करहरुले विमानस्थलको सुरक्षा जाँच कसरी पास गर्छन् ? यति मात्र नभई, अन्य देशको विमानस्थलको सुरक्षा घेरा कसरी पार भएर उनीहरु नेपाल आइपुग्छन् ? यो अहिले गम्भीर र चासोको विषय समेत बनेको छ । 

लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसको शरीर स्क्यान गर्न सक्ने उपकरण नहुँदा तस्करहरुले सजिलै सुरक्षा घेरा पार गर्ने गरेका छन् । 

अन्य देशको विमानस्थल सुरक्षाबारे आफु जानकार नरहेको बताउँदै उनले भने, ‘हामी कहाँ व्यक्तिको शरीर स्क्यान गर्न सक्ने उपकरण विमानस्थलमा छैन । यसैले, तस्करहरु आफ्नो शरीरमा त्यो पनि विशेष गरी पेटभित्र कोकिन राखेर आउने र विमानस्थल सुरक्षा पार गर्ने गरेको पाइएको छ ।’  

उनले कोकिन तस्करीमा बढ्दो विदेशी नागरिकको संलग्नताबारे ब्युरोको सक्रियताको चर्चा गरे । विभिन्न देशबाट नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गर्ने विदेशी नागरिकमाथि ब्युरोले विशेष र निरन्तर निगरानी गरिरहेकाले अन्तर्राष्ट्रिय गिरोहका लागूऔषध कारोबारीहरु पक्राउ पर्न सफल भएको उनको दाबी छ । 

‘यसअघि पनि अन्तर्राष्ट्रिय गिरोहका विदेशी लागूऔषध तस्करहरुले विभिन्न तरिका अपनाएर नेपालमा लागूऔषध भित्र्याउने गरेका थिए । तर, ब्युरोले केही समययता विदेशी नागरिकमाथि विशेष निगरानी राखिरहेकोले उनीहरु पक्राउ परेका हुन्,’ प्रवक्ता कार्कीले भने । 

ब्युरोले गत पुस महिनायता मात्र २२ केजी कोकिन बरामद गरेको जानकारी दिँदै उनले विशेषगरी दक्षिण अमेरिकी मुलुक, अफ्रिका, युगाण्डा र कतार हुँदै आउने विदेशीहरु कोकिन तस्करीमा संलग्न हुने गरेको पाइएको छ । प्रवक्ता कार्कीले विभिन्न मुलुकबाट नेपाल आउने विदेशी नागरिकको होटल बुकिङ र ट्राभल लिष्ट हेरेर ब्यूरोले तस्कर पत्ता लगाउने गरेको जानकारी दिए । 

उनका अनुसार तस्करहरु छोटो समयका लागि नेपाल आउने गर्छन् । र, विमानस्थलबाट ओर्लनासाथ पहिल्यै बुकिङ्ग गरिएको होटलमा जान्छन् । होटल पुगेपछि सम्बन्धित मुलुक नफर्किनुञ्जेलसम्म उनीहरु बाहिर समेत ननिस्किने उनको भनाइ छ । ‘विदेशीहरु नेपाल आउने भनेकै घुमफिरका लागि हो । तर, त्यति टाढाबाट यहाँ आउने र आउनासाथ कुनै होटलमा चार–पाँच दिन बिताएर फर्किहाल्ने भएपछि हाम्रो टोलीले  उनीहरु बसेको कोठा खोजतलास गर्दा विभिन्न अवस्थामा लागूऔषध फेला पर्ने गरेको छ,’ प्रवक्ता कार्कीले भने । 

पाँच वर्षमा ५३ केजी बरामद

सेतो रंगको पाउडर कोकिन एक प्रकारको कडा लागूऔषध हो । यसको सेवनले मानिसमा अनावश्यक सक्रियता बढाउने, उत्तेजित गराउने र स्वास्थ्यमा गम्भीर असर गर्छ । 

नेपालमा कोकिन, ब्राउन सुगर, गाँजा, चरेस, खैरो हिरोइनलगायत लागूऔषध प्रतिबन्धित छ । तर, केही वर्षयता लागूऔषध ओसारपसार तथा कारोबार बढ्दै गएको छ । 

यतिखेर संसारभर लागूऔषध कारोबार नियन्त्रण चूनौतीपूर्ण बनेको छ । नेपालको सन्दर्भमा लागूऔषध तस्करीमा स्वदेशी मात्र नभई विदेशी नागरिकको समेत संलग्नता उत्तिकै बढेको छ । तस्कर र तस्करीको मुख्य कारोबारीसम्म पुग्न प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ । अहिले पनि लागूऔषध कारोबारमा तस्करका भरिया मात्र पक्राउ पर्ने गरेका छन् । 

यता, नेपाल प्रहरीकै तथ्याङ्कले मुलुकमा लागूऔषध कोकिनको ओसारपसार र तस्करी बढेको पुष्टि गर्छ । प्रहरी हेर्डक्वार्टरको पछिल्लो पाँच वर्ष (आव २०७६–०७७ देखि २०८०/०८१) को तथ्याङ्कअनुसार मुलुकभरबाट झण्डै ५३ केजी कोकिन बरामद भएको छ । गत वर्ष झण्डै १९ केजी कोकिन फेला परेको थियो ।

आर्थिक वर्ष २०७९/०८० मा साढे १४ केजी कोकिन बरामद भएको थियो । यस्तै, आव ०७८/०७९ मा चार केजी र आव ०७७/७८ मा ३२ ग्राम २३१ मिलिग्राम कोकिन बरामद भएको देखिन्छ । प्रहरीले आव ०७६/०७७ मा करिब १५ केजी कोकिन नियन्त्रणमा लिएको थियो ।

टिप्पणीहरू