सात समुद्रपारिबाट ‘सत्ताको स्वाद’ ?

सात समुद्रपारिबाट ‘सत्ताको स्वाद’ ?
सुन्नुहोस्

नेपालको सत्ता राजनीति घात, प्रतिघात र धोकाको पर्यायजस्तै बनिसकेको छ । प्रमुख पार्टीका शीर्ष नेताले एकार्कालाई धोका दिएको र खाएको लामो श्रृंखला चर्चा गरिसाध्य छैन । आन्तरिक राजनीतिमा धोकाको यो क्रम निरन्तर चलिरहँदा बाह्य शक्ति केन्द्रसमेत त्यसको शिकार बनेको तथ्य माओवादी बैठकमा खुलेको छ । 

संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेसँगै माओवादी केन्द्रको डेढवर्षे सत्ता यात्रामा गत महिना एकाएक ‘ब्रेक’ लाग्यो । कांग्रेस छोडेर एमालेसँग गठबन्धन बनाएको चार महिनामै सत्ताबाट बहिर्गमित माओवादी अहिले ‘गम्भीर समीक्षा’ मा जुटेको छ । त्यसैअन्तर्गत जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न उठ्यो– ‘हुँदाखाँदाको गठबन्धन छोडेर एमालेतिर किन लागेको ?’ 

डेढ वर्षमा तीनचोटि समीकरण फेरेर पार्टीभित्रै आलोचित हुनुभएका उहाँले घटनाक्रमको फेहरिस्त सुनाउँदै वाम एकताका लागि उत्तरी छिमेकीको सदाशयताले एमालेसँग मिल्न प्रेरित गरेको जवाफ दिनुभयो । भन्नुभयो– ‘कतिपय भाइचारा सम्बन्धले पनि प्रभाव पार्ने रहेछ !’

त्यसो त, वाम एकताको दीर्घकालीन रणनीतिसहित एमालेसँग गठबन्धन गरेको प्रचण्डले सार्वजनिक रूपमै भन्दै आएको कुरा हो । तर, स्थायी कमिटी बैठकमा थप प्रश्न उठ्यो– ‘ओलीबाट पहिले धोका खाइसकेको होइन ?’ ओलीबाट अब धोका नहुने विश्वास चिनियाँहरूले दिलाएको भनी प्रचण्डले जवाफ दिएको एक नेताले बताए । 

रोचक कुरा, एमाले उपमहासचिव विष्णु रिमाल चीन भ्रमणमा रहेकै बेला यता कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको थियो । रिमाल पनि कांग्रेस–एमाले गठबन्धनबारे जानकारमध्येका एक मानिन्छन् । उनकै नेतृत्वमा असार ११ गते राति ३० जनाको टोली चीन पुगेको थियो । १२ गते बिहानदेखि चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल हेर्ने डेस्कका प्रमुखसहितले आतिथ्यता दिइरहेका थिए । 

११ दिनको उक्त भ्रमणमा शुरुका पाँच दिनसम्म त चिनियाँहरू नेपालमा कम्युनिष्ट मिलेकामा दंग थिए । विदेश विभागकी नेतृ सुन हाइयानले भनिन् पनि, ‘तपाईंहरूको देशमा वामपन्थी मिलेकामा हामी खुशी छौं । यसैलाई मिलाएर जानुस् ।’ तर, छैठौँ दिनमै (असार १७ गते) नेपालमा ‘वामपन्थी सरकार’ ढलेर कांग्रेस–एमालेको सहकार्य शुरु भैसकेको थियो । विष्णुको टोलीलाई ‘वामपन्थीहरू मिल’ भनिरहेकै बेला यता अर्को गठबन्धन बनेपछि चिनियाँहरू चकित भए । 

‘अध्यक्षको भ्रमण हुँदा पनि उनीहरूले मिल्नुपर्छ भनेका थिए । ओलीसँग मिल्न सकिंदैन भन्दा ओली अब पहिलाको जस्तो छैनन्, विश्वास गर्नुस् भनेका थिए’, माओवादी केन्द्रका एक नेता भन्छन्, ‘तर, हामीले जे विश्लेषण त्यतिबेला गरेका थियौं । त्यही भयो !’

कांग्रेस–एमालेको मिलनमा पश्चिमा शक्तिको हात रहेको माओवादी विश्लेषण छ । स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो सत्ता ढल्नुमा भूराजनीतिक कारण खोतल्दै भन्नुभयो– तपाईंहरूले भर्खरै बंगलादेशमा शेख हसिना वाजेदलाई भाग्न विवश बनाइएको घटना देख्नुभयो होला । झट्ट हेर्दा त्यहाँ आन्दोलन भएपछि उनी भागेकोजस्तो देखिन्छ, त्यो सत्य होइन । यसमा समुद्रपारिको शक्ति लागेको छ । र, तपाईंहरू यो पनि बुझ्नुहोला, समुद्रपारिकै शक्तिले मलाई पनि अस्ति प्रधानमन्त्रीबाट हटाउन भूमिका खेल्यो ।’

स्मरणीय छ, एमालेसँग भएको सत्ता सहकार्यको सहमति अनुमोदन हुनु ठीक अघिल्लो दिन बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले बिआरआई अस्विकार गर्ने निर्णय गरेको थियो । सरकारमा नभएको पार्टीले बिना सन्दर्भ यस्तो निर्णय गरेको स्थितिले पनि सत्ता परिवर्तनको पछिल्लो खेलमा भूराजनीतिक चासो र प्रभाव रहेको सहज विश्लेषण गर्न सकिन्छ । एमाले महासचिव शंकर पोखरेलले निकटहरूसँग अमेरिकी चासोमा यो गठबन्धन बनेको हो र यसको एउटा खेलाडी आफू भएको बताएबाट पनि धेरै कुरा प्रष्ट हुन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू