उता छोरी विदेश, यता लगत्तै बाबुको शेष

उता छोरी विदेश, यता लगत्तै बाबुको शेष

जिन्दगी अनेकौँ सुखद संयोग र अप्रत्यासित दुखद घटनाहरूको जोड घटाउ नै हो कि ? गत साउन ३१ गते भक्तपुरको गठ्ठाघरमा तीन छोरीमध्ये आफूसँगै रहेकी कान्छीलाई पनि विदेश पठाउने सामग्री जुटाउन उनकै स्कुटी लिएर बाहिरिएका उत्तम कोइरालालाई बीच सडकमै ट्रकले लतारेर प्राणपखेरु उडाइदियो ।

जेठी छोरी अष्ट्रेलियामा छिन् भने माइली आस्था साउन २१ गते मात्र अमेरिका गएकी थिइन् । स्वदेशभन्दा विदेशमै सन्ततीको सुरक्षित भविष्य देख्ने अधिकांश बाबुआमाझैँ उत्तम पनि काठमाडौँमा अध्ययनरत कान्छीलाई विदेश पठाउने क्रममा आफन्तकोमा गएको बताइएको छ । जनकपुर चुरोट कारखानाका पूर्वकर्मचारी उत्तमकी श्रीमती खेलकुद परिषद्मा कार्यरत हुनुहुन्छ । 

जति सम्पन्न र ऐश्वर्ययुक्त भए पनि आखिर अमेरिकामा अत्यन्त कहालिलाग्दा दुःखद घटनाको कमी हुँदो रहेनछ । यो प्रसंगचाहिँ अमेरिकी कलेजमा सर्वोत्कृष्ट भई पिएचडीको लागि पूर्ण छात्रवृत्ति पाएका अर्का होनहार नेपाली युवकको दुखान्तको हो । पाँच वर्षअघि पढ्न गएका थिए काठमाडौंको चन्द्रागिरी नगरपालिका मातातीर्थका हेमन्त तिमिल्सिना ।

मिहिनेतले माष्टर्स तहमा कलेजकै सर्वोत्कृष्ट विद्यार्थी बन्न सफल भए । लगत्तै कलेजले २२ लाख रुपैयाँ बराबरको पिएचडीका लागि पूर्ण छात्रवृत्ति प्रदान ग¥यो । घरमा बाबा ( झंकनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका भूपू उपसचिव) लाई फोन गरी खुशी साँटासाँट गरे । एक आइतबार आमासँग कुरा गरे । उनीप्रति अभिभावकको मात्र नभएर मातातीर्थ बस्ने चिनजानका छिमेकी र आफन्तको पनि ठूलो आशा र भरोसा रहने नै भयो । तर त्यही हप्ताको बिहिबार आफ्नै कोठामा मृत फेला परे । स्थानीय प्रहरीले छानबिनपश्चात् आत्महत्या भनेर केस टुंग्याए पनि अमेरिकास्थित नेपालीहरू आत्महत्या मान्न तयार छैनन् । अमेरिकामै पनि ठूलो सम्भावना बोकेका हेमन्तको पार्थिव शरीर १५ दिनपछि नेपाल ल्याएर अन्तिम दाहसंस्कार गरियो । सेन्ट जेभियरमा विद्यालय शिक्षा अध्ययन गरेका उनी यहीँ पनि निकै जेहेन्दार विद्यार्थीको रुपमा चिनिन्थे । 

यसैगरी, विद्यार्थीकालका अर्का एक जेहेन्दार डाक्टर अहिले न उता, न यताको अवस्थामा पुगेका छन् । दाङका सन्तोष भुषाल पढ्नमा निकै मेहनती र जेहेन्दार थिए । झण्डै २४ वर्षअघि शिक्षा मन्त्रालयबाट डाक्टरी पढ्न छात्रवृत्ति पाए । एमबिबिएस डाक्टर बनेका उनले २०६३ सालमै मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरी दुई वर्षे सेवाको अनुमति पत्र पनि लिए । राज्यले नै लगानी गरी पढाएकाले मेडिकल काउन्सिलले लगत्तै स्वास्थ्य मन्त्रालयमा काम गर्न पठायो । तर, उनी मन्त्रालय नगई खुसुक्क अमेरिका भास्सिए । अहिले फर्किएर मेडिकल काउन्सिलमा निवेदन हालेका छन् । अनुमतिपत्र नभई काममा लगाउन सकिंदैन । अस्थायी अनुमतिपत्र नवीकरण भएको छैन । अर्कातर्फ अस्थायी नवीकरणपछि २ वर्ष काम नगरी स्थायीको पत्र पाउने अवस्था छैन । 

निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशको राम्रो अवसर छाडेर स्वदेशमै केही गर्छु भनी फर्किएका दक्ष जनशक्तिलाई नेपालमा ह्यारेसमेण्ट गरिन्छ भनेकै थिइन् । यता सन्तोषकै सन्दर्भमा अमेरिका गए पनि अस्थायीको म्याद दुई वर्षभित्र २०६५ सालमा फर्किई काम शुरु गरेको भए पनि हुने थियो । १८ वर्षसम्म न स्वास्थ्य मन्त्रालय, न एनएमसीको सम्पर्कमा रहे । अस्थायी भनेको परीक्षण अवधि पनि हो, तर उनले त्यसमा कामै नगरी स्थायी दिने सकिने प्रावधान छैन । 

 

टिप्पणीहरू