दर्शकलाई सुझाव : मुटु दह्रो बनाउनु, खल्तीमा रुमाल पनि बोक्नु
‘ओपनहाइमर’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका सिलियन मर्फीले प्रायः गरिरहने एउटा प्रश्नले नेपाली चलचित्रको यथार्थ झल्काउँछ । उनका प्रश्र छन्– ‘हामी किन अफ्ठ्यारो फिल्म बनाउन लागिपरेका छौं ? किन फ्यान्टासी दृश्यहरु कैद गर्नमा रमाइरहेका छौं ? फिल्म सार्वजनिक भाषामा हुनुपर्ने हैन र ?’
मर्फीको यो प्रश्नले विश्वका सबै देशको चलचित्र र दर्शकहरुसँग कति सान्दर्भितकता राख्छ, त्यो बेग्लै कुरा हो । तर, नेपाली चलचित्र क्षेत्रको अवस्थाले भने ती प्रश्नलाई असान्दर्भिक ठान्दैन । नेपाली चलचित्रमा विलासी दृश्य देखाउने र हेर्नेहरुको होडबाजी छ, चाहे त्यसको कथा र क्राफ्ट जतिसुकै झुर किन नहोस् ।
तर, यहाँ चर्चा भने त्यस्तो झुर फिल्मको होइन । बुधबारबाट प्रदर्शनमा आएको एउटा मौलिक र सुन्दर चलचित्र ‘सतिदेवी’ को हो ।
दशकअघिको नेपाली समाज र अहिलेको नेपाली समाजमा धेरै परिवर्तन भइसकेको छ । नागरिकको जीवनशैली, चेतनास्तर र रुची फेरिएको छ । यद्यपि, यो सुखद कुरा पनि हो । तर, समाज जति स्मार्ट र आधुनिक भए पनि अधिकांश नेपालीको धरातल गाउँसँगै जोडिएको हुन्छ ।
वैचारिक विकासको लागि को–कति धनी भए, को–कति शिक्षित भए, को विदेश पुगेभन्दा पनि उनीहरुको सोच कत्तिको फराकिलो भयो भन्ने कुराले ठूलो अर्थ राख्छ । सतिदेवीले देखाउन खोजेको यस्तै स–साना कुराहरु हुन् । भन्न खोजेको समाजका यस्तै स–साना आयामहरु हुन् । सम्रगमा हामी कहाँ आइपुग्यौँ र लैंगिक भिन्नताको सवालमा हाम्रो समाज अझै कहाँ छ ? चलचित्रमार्फत् सतिदेवीले उठाएको प्रश्न यहि हो ।
लमजुङको एउटा विकट गाउँमा सतिदेवी अधिकारी छिन् । जो भर्खर १९ वर्षकी भइन् । पितृसत्तात्मक सोचबाट उनको परिवार र समाज यति ग्रसित छ कि, भनिसाध्य छैन । परिवारमा एउटा छोरो भएन भने आकाश नै खस्छ कि भन्ने मान्यताले समाज दुर्घटनाग्रस्त छ । त्यही समाजको शिकार भएको छ, सतिदेवीको परिवार । खासगरी सतिदेवीका बाबु ।
सतिदेवी घरकी जेठी छोरी हुन् । बिहानै उठेर पँधेरोमा पानी लिन जानु, घर लिपपोत गर्नु, बस्तुभाउको गोठ सफा गर्नु, घाँस दाउरा गर्न जंगल जानु उनको दैनिकी हो । यहाँसम्म कि, छोरीले पढेर के नै हुने हो र ? भन्दै बाबुले स्कुल जानै प्रतिबन्ध लगाएका छन् ।
नेपाली समाजको प्रतिनिधि पात्र हुन् सतिदेवीका बाबु । श्रीमतीले छोरी मात्रै जन्माइरहनु, त्यसकै निहुँमा समाजले तथानाम सुनाइरहनु, जुवा खेलेर सर्वस्व स्वाह पार्नु, रक्सी खानु, श्रीमती कुट्नु र छोरीहरुलाई हप्कीदप्की गर्नु उनको चरित्र हो ।
त्यस्तै, सतिदेवीकी आमाको बाध्यता र भोगेको यातना पनि कम पीडादायी छैन । सानैमा बिहे गर्नु, शिशु बित्नु, छोरी जन्माएकै कारण श्रीमानको हिंसा सहनु, समाजको तथानाम सुन्नु उनको जीवनका भोगाइहरु हुन् ।
कथा यसरी बुनिएको छ कि, चलचित्र हेर्ने जो कोहीले पनि कुनै न कुनै रुपमा सामाजिक कुरीतिको यस्तो भयावह अवस्था स्मरण गर्न बाध्य हुन्छ । आफ्नो बा–आमा, दिदी–बहिनीलाई सम्झनैपर्ने परिबन्ध आउँछ । मस्तिष्कलाई ग्रामिण जीवनशैली, गोठालो संस्मरण, जिस्कने र रहर पैदा गरिदिने साथी–संगीको सम्झनाले नोस्टाल्जिक बनाउँछ ।
चलचित्रमा केही दृश्य निकै हृदयविदारक छन् । मध्यभागतिर एउटा सिन छ, सतिदेवीले बाबुलाई खुशी पार्न अर्काको सन्तान (छोरो) चोर्छिन् ।
हुन्छ के भने, सतिदेवीकी आमा पाँचौ पटक सुत्केरी हुने समय हुन्छ । र, यसपटक पनि मध्यरातमा छोरीलाई नै जन्म दिन्छिन् । श्रीमानले पहिल्यै चेतावनी र यातना दिइसकेका थिए, ‘फेरि पनि छोरी पाइस् भने मार्छु !’
सम्भावित घटनाको अनुमान गर्दै सतिदेवीले सोही रात भर्खर जन्मिएकी बहिनीलाई बोकेर अर्काको सन्तान (छोरा) सँग साट्न निस्किन्छन् । त्यस क्रममा जंगलमा शिशु रोएपछि उनी निरीहताका साथ आफ्नै स्तन चुसाउन बाध्य हुन्छिन् । जब कि, उनी अविवाहित र भर्खरकी युवती हुन् । उनी जसोतसो आफ्नी बहिनीलाई अर्काको सन्तानसँग साट्न सफल हुन्छिन् । यी सबै कुराबाट अनभिज्ञ बाबु भने साटिएको छोरोलाई आफ्नै छोरो ठान्दै पुलकित हुन्छ । केही दिन परिवारमा हिंसा रोकिन्छ । सबै शान्तिले बाँच्छन् ।
तर, यो लामो समय जाँदैन । केही दिनमै सन्तान साटिएका (छोरोका वास्तविक बाबुआमा)ले सतिवेदीलाई पहिचान गरेर घरमै पुग्छन् । त्यसपछि शुरु हुन्छ, अर्को खैलाबैला ।
गाउँमा कचहरी बस्छ । बच्चा चोर (सतिवेदी)लाई कालो मोसो दलेर, जुत्ताको माला लगाइदिएर गाउँ कटाउने सवाल गाउँलेले उठाउछन् । त्यतिबेला गाउँका मुखियाले केही न्याय गर्न खोज्दै भन्छन्, ‘छोरी मान्छेलाई यस्तो सजाय गर्दा हामीलाई नै पाप हुन्छ ।’ तर गाउलेलाई मुखियाको फैसला मन्जुर हुँदैन । र, सतिदेवीलाई कालो मोसोसहित जुत्ताको माला लगाएर गाउँबाट लखेटिन्छ ।
सतिदेवी लखेटिएपछि राजधानी पुग्छिन् । जहाँ उनले जीवन जिउन होटलमा भाडा माझ्छिन् । होटलमा उनको यौनपिपासुसँग भेट हुन्छ । उनीसँग खुलेआम यौनको बार्गेनिंग हुन्छ । होटल साहुले पैसा नदिने र यौन शोषण गर्न खोज्छ ।
यी सबै दृश्यले दर्शकको भावनालाई विथोल्छ । एकपटक नेपाली समाजको चेतनास्तर सोच्न बाध्य बनाउँछ ।
त्यसो त, चलचित्रमा दर्शकलाई जवानीका स्मृति पुर्याउने केही सहायक कथाहरु पनि छन् । जो, प्रत्येक मानिस तन्नेरी हुँदै जाँदा अर्को व्यक्ति (विपरित लिंगी)को लागि हुने आकर्षण र प्रेमको वरिपरि छ ।
पारिवारिक जिम्मेवारीले थिचिएकी सतिदेवीलाई पनि साथीहरुको संगतले मोबाइल किन्न मन लाग्छ । फेसबुक चलाउन मन लाग्छ । प्रेमी बनाउन मन लाग्छ । तर, कमजोर आर्थिक स्थिति र पारिवारिक अवस्थाले उनलाई यी रहरसँग सात कोष टाढै रहनुपर्ने बाध्यता छ ।
सधैँ बाबुको हिंस्रक रुप देखेर पुरुषसँगै वाक्क दिक्क भएकी सतिदेवीलाई पहिलोपल्ट एउटा पुरुष मनपर्छ, भुवन केसी । छिमेकी गाउँकै युवा जो, ८ कक्षामा फेल भएर पैसा कमाउन भारततिर हानिएका थिए । र, पुनः गाउँ फर्किएका छन् ।
सतिदेवी र भुवनको प्रेम सम्बन्धले पूर्णता पाउला कि पूर्णविराम ? त्यसलाई सस्पेन्स नै राखौँ ।
निर्देशक लक्ष्मण सुवेदीले चलचित्रमा कथाअनुसार उपयुक्त पात्र उभ्याएका छन् । उनको कथा र निर्देशकीय खुबीलाई मान्नैपर्छ । त्यस्तै, चलचित्रमा प्राण भरेकी मलिका महतको अभिनयमा खोट लगाउने ठाउँ छैन । उनले यसअघिका चलचित्र ‘यात्रा’, ‘पानीफोटो’ र ‘अगस्ट्य’मा भन्दा राम्रो काम गरेको स्वीकार्न हिचकिचाइरहनु पर्दैन ।
चलचित्रलाई श्वास दिएका अर्का आकर्षण हुन्, बालकलाकार हर्षिका वली र मन्जिला बानियाँ । सानै उमेरमा उनीहरुको अभिनय तारिफयोग्य छ । अभिनयलाई निरन्तरता दिए यी दुईको भविष्य उज्वल देखिन्छ ।
त्यस्तै, डेब्यु अभिनेता सन्दिप बाबु लोहनीले पनि आफ्नो भूमिकालाई न्याय गरेका छन् । यद्यपि, चलचित्रको कथाअनुसार सहायक भूमिकामा भएर होला, उनी अझै अभिव्यक्त हुन नसकेका हुन् कि भन्ने लाग्छ । जे होस् लोहनीले पनि नेपाली चलचित्रमा जादु गर्न सक्ने बलियो सम्भावना छ ।
यसका अलवामा जीवन्त भूमिका निभाएका रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, सिर्जना अधिकारी, भोला सापकोटा, सुजिता सापकोटा, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्ती रेग्मीलगायतको अभिनय लोभलोग्दो छ ।
चलचित्रमा स–साना त्रुटीहरु पनि छन् । खासगरी प्राविधिक पक्षमा केही प्रश्न गर्ने ठाउँ छ । जस्तो, कतिपय दृश्यमा आवश्यकभन्दा बढी संवादले खल्लो लाग्छ । बिम्बात्मक रुपमा खिचिएका दृश्यले दर्शकलाई यत्तिकै जोडेको हुन्छ । त्यस्तोमा बढी संवाद राखिँदा दर्शकलाई त्यो दृश्य अनावश्यक भैदिन्छ । त्यस्तै, चलचत्रिको कतिपय दृश्यमा फुटेज क्लिपहरुको क्रमवद्धता पनि नमिलेको हो कि जस्तो लाग्छ । यद्यपि, प्राविधिक सम्पादकले नयाँ क्राफ्ट बनाउन खोजेको पनि हुनसक्छ ।
निर्देशक सुवेदीले बडो गम्भीर यथास्थिति देखाएर चलचित्रको समापन गरेका छन् । सतिदेवी (जो बाबुकै कारण गाउँबाट लखेटिइन्) र बाबु (जसलाई आफ्नो हर्कतहरुमाथि ढिलो पश्चातप भयो) अन्तिममा एकै भूगोलको माटोमा आएर भेट भएका छन् । बाबु–छोरी जिवित भेट्छन् वा मृत ? त्यसको पूरक प्रसंग र विस्तृत कथा थाहा पाउन भने चलचित्र हेर्नैपर्ने हुन्छ ।
अन्त्यमा, सतिदेवी नेपाली समाजको एउटा प्रतिनिधि कथा हो । केही दशकअघिको नेपाली समाजको अवस्था झल्काउने कथा युवा पुस्ताले सिधै रिलेट नगर्न सक्छ । जे होस् कथावस्तु र प्राविधिक दुवै पक्ष बलियो रहेको यो हेर्नलायक चलचित्र हो भन्नेमा दुइमत छैन । अन्तिममा एउटा सुझाव, फिल्म हेर्न एक्लै जाँदै हुनुहुन्छ भने मुटु बलियो बनाएर जानुहोला, परिवारसहित हो भने गोजीमा रुमाल नछुटाउनु होला ।
टिप्पणीहरू