विराटनगरमा भगवान पनि दुई खेमामा विभक्त

विराटनगरमा भगवान पनि दुई खेमामा विभक्त

समाज वर्गीय हुन्छ त्यसैले त्यहाँ रहेका हरेक प्राणीमा द्वन्द्वात्मक भौतिक नियम लागु हुन्छ । चाहे त्यो भगवानकै नाममा स्थापित धार्मिक संघसंस्थामा नै किन नहोस् । कोशी प्रदेशको राजधानी विराटनगरमा भगवान् श्रीकृष्णलाई पनि दुई खेमामा विभाजित गराइएको छ ।

सबैका प्रिय भनिएका भगवान श्रीकृष्णलाई उनको जन्मोत्सवअघि दुई भागमा बाँडिएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (ईस्कन) का पदाधिकारीले भोलिको श्रीकृष्ण जन्माष्टमीको छुट्टाछुट्टै कार्यक्रम गर्ने भएका छन् । ईस्कन नेपालको केन्द्रीय कार्यालय, काठमाडौंले विराटनगर शाखामा हस्तक्षेप गरेको जनाउँदै एउटा खेमा रुष्ट भएर अलग्गिएपछि अलग–अलग कार्यक्रम गर्न लागिएको छ ।

ईस्कन विराटनगरको एक समूहले अन्तर्राष्ट्रिय गुरुलाई प्रमुख अतिथि बनाउँदै जैन भवनमा कार्यक्रम गर्दैछ । अर्को समूहले सिटी प्यालेस होटल एण्ड रिसोर्टमा कार्यक्रमको आयोजना गरेको छ । संस्थापन पक्षबाट रुष्ट विद्रोही समूहले ईस्कन प्रभुपाद विराटनगर नामको अलग्गै खेमा बनाएको छ । 

उनीहरुले जलजला चोकमा शाखा कार्यालय नै सञ्चालनमा ल्याइसकेका छन् । यता, ईस्कन संस्थापन पक्षको विराटनगरस्थित ट्राफिक चोकमा शाखा कार्यालय छ । अलग भएको ईस्कन समूहले संस्थापन पक्षमाथि अनियमितताको आरोप लगाउँदै आएको छ । आचरणविपरीत कार्य गरेकाले उनीहरुलाई बर्खास्त गरिएको विद्रोही समूहको दाबी छ ।

टिप्पणीहरू