बादशाहलाई हटाउन माइतीघरमा निरन्तर धर्ना

बादशाहलाई हटाउन माइतीघरमा निरन्तर धर्ना

बाँकेकी निर्मला कुर्मीको हत्यामा संलग्नताको आरोप लागेका बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा अधिकारकर्मीहरुले आन्दोलन जारी राखेका छन् । पाँचौ चरणको आन्दोलनअन्तर्गत १७ औं दिन आज पनि उनीहरुले धर्नालाई निरन्तरता दिएका हुन् । 

कलंकीबाट पैदलयात्रा गरेका उनीहरुले माइतीघरमा धर्ना दिएका छन् । निर्मलाको मुद्दा अदालत पठाउन पटक-पटक सरकारले सहमति गरेपनि सत्ताधारी पार्टीले मुख्य अभिव्यक्तिलाई नै प्रदेशमन्त्री बनाई संरक्षण गरेको उनीहरुको आरोप छ । 

लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत गरिएको उक्त कदम र महिलाका मुद्दामा सरकारको चरम असंवेदनशीलताको विरोध गर्दै उनीहरुले ‘निर्मला कुर्मीको हत्या मुद्दा तत्काल अदालत पुर्याउनुपर्ने’, ‘बादशाह कुर्मीलाई मन्त्री पदबाट हटाउनुपर्ने’, ‘आन्दोनकारीको सुरक्षाको ग्यारेन्टी गनुपर्ने’, लगायतका माग राखेका छन् । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत साउन ९ गते कांग्रेस नेतासमेत रहेका कुर्मीलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए । जबकि २०७८ मै सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा निर्मला अपहरण तथा बेपत्ता प्रकरणमा उनको भूमिका शंकास्पद देखिएको उल्लेख छ ।

टिप्पणीहरू