विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त वडाध्यक्षको चौतर्फी विरोध

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त वडाध्यक्षको चौतर्फी विरोध

म्याग्दीको बेनी नगरपालिका–४, सिंगास्थित धौलागिरी माध्यमिक विद्यालयको नवगठित विद्यालय व्यवस्थापन समितिको विरोध शुरु भएको छ । वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेपछि स्थानीयले असन्तुष्टि जनाएका हुन् । 

वडामा दुईटा माध्यमिक विद्यालय छन् । एउटा सरस्वती, अर्को धौलागिरी । गत मंगलबार धौलागिरीको विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिइएको छ । जसमा वडाध्यक्ष अणबहादुर खड्का समिति अध्यक्षमा नियुक्त भएका हुन् । 

सदस्यमा बबी शाही, टिकाकुमारी गुरुङ्ग, सुनिता कार्की, मनबहादुर किसान, चन्द्रकुमारी भट्टचन, भीमबहादुर गुरुङ्ग, सुनिता आचार्य, राजाराम पौडेल छन् । विद्यालय प्रधानाध्यापक भुवनप्रसाद रेग्मीलाई सदस्य सचिव तोकिएको छ । 

समिति अध्यक्षमा खड्काको यो तेस्रो कार्यकाल हो । छ वर्ष समिति अध्यक्ष भइसकेका उनी वडाध्यक्षको जिम्मेवारीपछि पनि अध्यक्ष बनेकोमा चौतर्फी आलोचना भएको छ । वडाध्यक्षका रुपमा भने उनको यो पहिलो कार्यकाल हो ।  

नगरपालिकाको शिक्षा ऐन–२०७४ को दफा १२ को उपदफा (४) मा समितिका सदस्यहरुले उपदफा (१) को खण्ड (क), (ख) र (ग) बमोजिमका सदस्यहरु मध्येबाट छानेको सदस्य समितिको अध्यक्ष हुने उल्लेख छ । 

उपदफा १ को (क) ले अभिभावकहरुले आफूहरु मध्येबाट छानी पठाएका दुई जना महिलासहित चार जना सदस्य, (ख) ले विद्यालय रहेको सम्बन्धित वडाको वडाध्यक्ष वा वडासमितिले मनोनित गरेको वडा समितिको सदस्य विद्यालय व्यवस्थापन समितिको सदस्य, (ग) ले विद्यालय संस्थापक, स्थानीय वृद्धिजीवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर १० वर्षदेखि वा १०  लाखभन्दा बढी नगद वा जिन्सी सहयोग गर्ने व्यक्तिबाट दुई जना सदस्य तोक्ने व्यवस्था गरेको छ । 

ती सदस्यले चयन गरेको व्यक्ति अध्यक्ष नियुक्त हुनेछन् । विद्यालयको सुधार र गुणस्तरीय शिक्षाका लागि गठन गरिने समितिको अध्यक्षमा अभिभावकलाई नियुक्त गर्नुपर्छ । यसअघि काठमाडौं महानगरपालिकाले पनि समितिको अध्यक्षमा वडाध्यक्ष राख्ने गरी शिक्षा ऐन संशोधन गरेको थियो । 

उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा वडाध्यक्ष राख्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिइएको छ । यता, शिक्षाविद्सँगै विभिन्न शिक्षकसम्बद्ध संघसंगठनले महानगरको उक्त कदमको विरोध गरेका थिए । वडाध्यक्ष कुनैपनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्दा विद्यालयमा राजनीतिक हस्तक्षेप बढ्ने शिक्षाविद्हरु बताउँछन् । राजनीतिक दलका उम्मेदवारलाई विद्यालयमा प्रवेश दिँदा सोझै राजनीति घुस्ने उनीहरुको भनाइ छ । अभिभावकको भेलाबाट अध्यक्ष चुनिनुपर्नेमा उनीहरुको जोड छ । 

यता, वडाध्यक्ष एउटा विद्यालयको समितिमा बसिदिँदा अन्य विद्यालयमा प्रभाव पर्नेलगायतका विषय पनि उठेको छ । वडाध्यक्ष आफ्नो क्षेत्रभित्रका विद्यालयको संयोजक बन्न सक्छन् । ‘वडाध्यक्ष कुनै एउटा विद्यालयको अध्यक्ष बन्नु ठीक होइन् । वडाध्यक्ष आफ्नो वडाभित्रको सबै विद्यालयको अभिभावक बन्नुपर्छ । वडाध्यक्ष एउटा विद्यालयको अध्यक्ष बनेपछि अन्य विद्यालयमाथि विभेद हुन सक्ने सम्भावना धेरै हुन्छ’, एक स्थानीयले भने । 

त्यस्तै अर्कोले भने, ‘वडाध्यक्ष आफ्नो क्षेत्रभित्रको सबै विद्यालयको संयोजक हुन्छन् । सबै विद्यालय वडाध्यक्षको नजरमा समान हुनुपर्छ । वडाध्यक्ष एउटा विद्यालयको अध्यक्ष बन्दा अन्य विद्यालयको सुधार कसले ध्यान दिन्छ ? त्यसमा पनि उहाँ दुई कार्यकाल अध्यक्ष बनिसक्नुभएको छ । अर्को कार्यकाल पनि उहाँ नै बन्नुभएको छ ।’

सामाजिक सञ्जालमा विरोध 

वडाध्यक्ष खड्का समितिको अध्यक्ष बनेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । कतिपयले उनको खोइरो खनेका छन् । एक जनाले लेखेका छन्,‘वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष । क्या बेईज्जत ।’ त्यस्तै, अर्कोले भनेका छन्,‘वडाध्यक्षको यो कदमले अन्य विद्यालयमा कस्तो प्रभाव पर्ला ?’ अन्यले पनि वडाध्यक्षमाथि प्रश्न उठाइरहेका छन् । 
अध्यक्ष बन्न मिल्छः प्रधानाध्यापक 

प्रधानाध्यापक रेग्मीले वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नु नौंलो कुरा नभएको बताए । अध्यक्ष बन्दैमा आलोचना गर्नुपर्ने कुनै कारण नभएको उनको भनाइ छ । वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न मिल्ने उनको तर्क छ । त्यसले अन्य विद्यालयलाई कुनै प्रभाव नपर्ने रेग्मीको भनाइ छ । ‘वडाध्यक्ष भएपनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न मिल्छ । त्यसले अरु विद्यालयलाई केही फरक पर्दैन’,उनले भने । 

विद्यार्थी झिकेर लैजान्छु भनेपछि अध्यक्ष बने

वडाध्यक्ष खड्काले अभिभावककै पहलमा आफू समितिको अध्यक्ष बनेको बताए । खड्काका अनुसार उनलाई सर्वसम्मत समितिको अध्यक्ष बनाइएको हो । आफू अध्यक्ष नबसेमा अभिभावकले आफ्ना सन्तान निकालेर निजी विद्यालयमा लैजानेसम्म भनेको उनको दाबी छ । 

‘म दुई कार्यकाल बसिसकें । अब बस्दिनँ भनेको थिए । तर, अभिभावक मान्नुभएन् । तपाईं बस्नुभएन् भने हामी आफ्नो बच्चा निकाल्छौंसम्म भन्नुभयो । त्यसैले म बस्न बाध्य भएको हुँ’, उनले भने । आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बसेपनि अन्य विद्यालयमा कुनै असर नपर्ने खड्का बताउँछन् ।

टिप्पणीहरू