खारेजीबाट जोगाइएका म्यानपावर कम्पनीको नवीकरण शुरु

खारेजीबाट जोगाइएका म्यानपावर कम्पनीको नवीकरण शुरु

लगातार दुई वर्षसम्म वैदेशिक रोजगारीमा सय जना श्रमिक समेत पठाउन नसकेका तीन सयबढी म्यानपावर कम्पनीलाई नवीकरणका लागि बोलाइएको छ । वैदेशिक रोजगार विभागले एक सयभन्दा कम कामदार पठाएका म्यानपावर कम्पनीलाई नवीकरणका लागि बोलाएको छ । 

निरन्तर दुई वर्षसम्म सय जना कामदार पठाउन नसकेका म्यानपावर कम्पनी खारेज हुने कानूनी व्यवस्था छ । यो वर्ष तीन सय १७ वटा म्यानपावर कम्पनी खारेजी सूचीमा परेका छन् । 

तर, साउन ३१ गतेको क्याबिनेट बैठकले ती कम्पनीको नवीकरण गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयपछि विभागले खारेजीमा परिसकेका म्यानपावरलाई आर्थिक वर्ष २०८१÷०८२ को लागि नवीकरणका लािग बोलाएको छ । 

‘वैदेशिक रोजगार ऐन, २०६४ को दफा १३ को उपदफा (२) को खण्ड (२) अनुसार न्यूनतम एक सय जना नेपालीलाई वैदशिक रोजगारमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र आर्थिक वर्ष २०८१÷०८२ को लागि नवीकरण गर्न आएमा नवीकरण गरिदिने गरी नेपाल सरकारले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी बाधा अड्काउ फुकाउने आदेश, नेपाल राजपत्र खण्ड ७४, काठमाडौं, साउन ३१ गते २०८१ साल (अतिरिक्ताङ्क २३) मा प्रकाशित गरेकोले नवीकरण गर्न इच्छुक इजाजतपत्र प्राप्त संस्थाहरुले नियमानुसारको नवीकरण दस्तुर तथा विलम्ब दस्तुर समेत तिरी रितपूर्वकको आवेदन पेश गर्नुहुन सूचित गरिन्छ,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ । 

यसअघि नै आवेदन गरिसकेकाको हकमा पुनः आवेदन पेश गर्न नपर्ने भनिएको छ । विभागले पेश हुन आएका आवेदनउपर सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाको अनुगमनपश्चात् मात्र नवीकरण प्रक्रिया अघि बढाउने छ ।
 

टिप्पणीहरू