एआईको दुरुपयोग भीआईपीतर्फ लक्षित
‘काभा वुमन्स नेसन्स लिग २०२४’ को उपाधिका लागि गत साउन २३ गते नेपाल र भारतका टिम आमनेसामने भए । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बेलुकी सवा ५ बजेदेखि खेल शुरु भयो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलसहित उच्च पदस्थ व्यक्तित्वहरु पनि खेल हेर्न पुगे । कभर्डहलमा दर्शक खचाखच थिए । सोही क्रममा मेयर बालेन र उपमेयर डंगोल सँगै देखिए ।
उक्त खेलमा आयोजक नेपाल भारतसँग पराजित हुँदै उपविजेता बन्यो । तर, खेल सकिएको केही समयमै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । जसमा मेयर बालेनले उपमेयर डंगोललाई चुम्बन गरेको देखिन्छ । सो दृश्यपछि धेरैले चर्को टिकाटिप्पणी गरे ।
जिम्मेवार पदमा बसेर मेयर र उपमेयरले यस्तो हर्कत गरेको भन्दै कतिपयले चर्को विरोध गरे । कतिपयले भिडियो फेक रहेकाले त्यस्तो कार्य गर्नेलाई कारबाहीको माग गरे । मेयर बालेन र उपमेयर डंगोलले चुम्बन गरेको देखाइएको उक्त भिडियो झट्ट हेर्दाे वास्तविक देखिएपनि वास्तवमा फेक नै थियो ।
उक्त भिडियो ‘डिपफेक’ वा ‘एआई’ प्रविधिबाट बनाएको अनुमान गरिएको छ । भिडियो भाइरल भएपछि उपमेयर सुनिता डंगोलले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेखिन् । एआई प्रविधिको दुरुपयोग गरी आफ्नो चरित्रहत्या गरेको भन्दै उनले प्रयोगकर्तालाई हदैसम्मको कारबाही माग गरेकी हुन् ।
‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेसन गरी सामाजिक सञ्जालमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मको कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी प्रयोगकर्तालाई कानूनबमोजिम कारबाही गरियोस्,’ उपमेयर डंगोलको सचिवालयले पठाएको पत्रमा उल्ले
साउन ३२ गते एआईको दुरुपयोग गरी विशिष्ट व्यक्ति (भीआईपी) हरुको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परे । बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, स्थायी घर भएका रमेशबहादुर रावतलाई सिन्धुपाल्चोकबाट प्रहरीले नियन्त्रणमा लिएको बताइन्छ ।
उनले विशिष्ट व्यक्तिलक्षित एआई प्रविधिको दुरुपयोगमा उनीहरुको सामाजिक, पारिवारिक तथा राजनैतिक चरित्रहत्या गरेको प्रहरीको आरोप छ । यता, रावतले भने यस्तो कार्य कानूनी रुपमा अपराध रहेको नै थाहा नपाएको बयान दिएका छन् ।
आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् ‘एआई’ कम्प्युटर तथा मेशिनलाई ‘मानव’ रुपमा सोच्न वा कार्य गर्न सक्षम बनाउने एक प्रविधि हो । एआई प्रविधिको क्षेत्रमा यस्तो चमत्कार हो, जसले मानव जीवनको हरेक पक्षमा आश्चर्यजनक प्रभाव पारिरहेको छ ।
मानिसको निर्देशन बुझ्ने र सोअनुरुप काम गर्ने, मानिसलाई चिन्ने, गाडी आफैं हाँक्ने, सोचविचार गरेर काम गर्न सक्ने मानव निर्मित कम्प्युटर प्रोग्राम तथा मेशिन नै एआई हो । पछिल्लो समय विश्वभर एआईले चर्चा बटुलेको छ । नेपालमा समेत यसको प्रयोग दिनानु दिन बढ्दै गएको छ ।
तर, हाम्रोमा एआईको सदुरुपयोगभन्दा पनि दुरुपयोग बढिरहेको छ । पछिल्लो समय यो प्रविधिको दुरुपयोग गरी अरुको फेक फोटो तथा भिडियो बनाउने क्रम बढ्दो छ । अहिले विशेष गरी राजनीतिक दलका नेता तथा सार्वजनिक व्यक्तित्वहरुको एआईमार्फत अश्लिल सामग्री बनाई पोष्ट गर्ने गरिएको पाइन्छ ।
राष्ट्रपतिदेखि, प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर, उपमेयरसमेत यसबाट हैरान छन् । सामाजिक सञ्जालहरुमा राजनीतिक दलका नेता तथा राजनीतिज्ञहरुले कहिले गीत गाएको भिडियो देखिन्छ, कहिले नाचिरहेको भिडियो पनि चर्चामा आउँछ ।
जबकी, उनीहरुले यस्तो कुनै कार्य नै गरेका हुँदैनन् । बरु कसैले गीतको सिर्जना गर्छन् । तर, उनीहरु आफैँले भने गीत गाएको पाइँदैन । करिब एक वर्षअघि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले ‘सालको पात टपरी’ बोलको गीत गएको अडियो सामाजिक सञ्जालमा भाइरल भयो ।
उक्त गीत सुन्दा उहाँले गाएको होइन भन्न निकै कठिन हुन्छ । यता, गीत आफ्नै आवाजमा सुनेपछि ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो, ‘मलाई अचम्म लाग्यो ! टिकटक हेर्दै जाँदा आफ्नै आवाजको जस्तो गीत सुनियो । एआईको प्रयोग गरी यसरी आफ्नो स्वरमा गीत बनाउने प्रविधि पनि आइसक्यो ।’
प्रविधिको विकास हुनु राम्रो भएपनि आफूले बोल्दै नबोलेका कुरा बाहिर आउँदा दुरुपयोगको चूनौति थपिने पनि उहाँको भनाइ थियो । ‘प्रविधिको विकास हुनु राम्रो हो । तर, आफुले बोल्दै नबोलेका कुराहरु पनि यसरी आइरहेका छन् कि जस्तो पो लाग्दैछ । प्रविधिले सजिलो मात्र होइन, दुरुपयोगले चूनौति पनि थप्छ,’ ओलीले लेख्नुभएको थियो ।
केही समयअघिसम्म एआई प्रविधिको दुरुपयोग गरी कलाकारहरुको पनि फेक फोटो र भिडियो बनाएको पाइन्थ्यो । अहिले त्यस्ता कार्य रोकिएका छन् । प्रहरी अधिकृतहरुका अनुसार पछिल्लो समय राजनीतिक दलका नेतालाई टार्गेट गरी एआईमार्फत चरित्रहत्या गर्ने गरिएको छ ।
यस्ता कार्यमा युवापुस्ता बढी संलग्न हुने गरेका छन् । धेरैले प्रविधिको दुरुपयोग कानूनी रुपमा अपराध रहेको भनेर थाहा नपाउँदा यस्तो कार्य गर्ने गरेको बताइन्छ । योसँगै अहिले ‘डिपफेक’ भिडियोमार्फत् लाखौंको ठगी भएको घटना पनि बाहिरिएका छन् ।
खासगरी अपहरण, लुटपाट, ठगीलगायत उद्देश्यका लागि डिपफेक भिडियो बन्ने गरेको छ । मनोरञ्जनका लागि बनाइएका यस्ता प्रविधिले भविष्यमा दुरुपयोग भएर जोखिम निम्त्याउने जानकारहरु बताउँछन् । यो प्रविधिले न धनी न गरिब, न नेता न कलाकार कसैलाई पनि बाँकी राखेको छैन ।
प्रविधिको दुरुपयोग बढ्यो : प्रहरी
नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थी एआईमा आधारित ‘टुल्स’ को प्रयोग गरेर भ्रामक जानकारी फैलाउने र अरुको चरित्रहत्या गर्ने क्रम बढ्दो क्रममा रहेको जनाए ।
उनका अनुसार विगतमा महिला तथा युवतीलाई टार्गेट गरी यस्तो फेक फोटो र भिडियो बनाउने गरिएकोमा पछिल्लो समय भने राजनीतिक दलका नेता तथा सार्वजनिक व्यक्तित्वलाई लक्षित गर्ने गरिएको छ ।
‘केही वर्षअघिसम्म विशेष गरी महिलाहरु डिपफेक फोटो र भिडियोबाट पीडित भएको पाइन्थ्यो । तर, अहिले राजनीतिक दलका नेता र सार्वजनिक व्यक्तित्वलाई टार्गेट गरेर यस्तो कार्य गर्ने गरेको पाइएको छ,’ प्रवक्ता अवस्थीले भने ।
प्रविधिको दुरुपयोग गरी यस्ता कार्य गर्नेमाथि ब्युरोले विशेष निगरानी राखिरहेको भन्दै उनले एआई प्रविधिको विकासले झन् चूनौति थपेको बताए । एआई जोडिएको अपराधमा अभियुक्तसम्म पुग्न निकै चूनौतिपूर्ण हुने उनको ठहर छ ।
‘प्रविधिको दुरुपयोग दिनानु दिन बढिरहेको छ । तर, हामीसँग दक्ष जनशक्तिको अभाव छ,’ उनले भने, ‘अर्कोतिर, यो प्राविधिक पक्ष भएकाले पनि यस्तो प्रायोगकर्तासम्म पुग्न निकै कठिन हुने गर्छ ।’ एआईको बढ्दो दुरुपयोगमा युवाहरुको संलग्नता पाइएको भन्दै प्रवक्ता अवस्थीले थपे, ‘धेरैले यस्तो कार्य गर्नु कानूनी रुपमा अपराध हो भनेर थाहा नभएको बयान दिन्छन् ।’
उनका अनुसार एआईमार्फत चरित्रहत्या गर्ने क्रम बढेपनि उजुरी भने कमै मात्र आउने गरेको छ । ब्युरो आफैंले यस्ता कार्य गर्नेमाथि निगरानी राखेर कारबाही गर्ने गरेको उनी बताउँछन् । ‘यस्तो कसुरमा कमै उजुरी आउँछ । यसैले, ब्युरो आफैंले निगरानी गरेर संलग्नलाई कारबाही गर्ने गरेको छ,’ एसपी अवस्थीले भने ।
यस्तोमा के हुन्छ कानूनी कारबाही ?
अहिले प्रविधिको दुरुपयोग गरी अरुको चरित्रहत्या गर्नेमाथि प्रहरीले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा चलाउने गरेको छ । तर, कानूनमा एआईको दुरुपयोग भन्ने व्यवस्था छैन । उक्त ऐनको दफा ४७ मा ‘विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्न नहुने’ प्रावधान छ ।
भनिएको छ, ‘कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको समधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’
सोही दफाको उपदफा (२) मा कुनै व्यक्तिले यस्तो कसुर पटकपटक गरेमा त्यस्तो कसुरबापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुने व्यवस्था छ ।
टिप्पणीहरू